जाजरकोट– “उमेर १५/१६ वर्षको, हाइटमा पनि अग्लो थिइनँ। म १/२ वर्षले मात्र जेठो थिएँ। लालिगुराँसको पातमा प्रेम प्रस्ताव आयो,” गनेश चदाराले आफ्नो प्रेमकथा शुरू गरे।
२०६५ सालको कुरा। जुनीचाँदे गाउँपालिका–५, गर्खाकोटका गनेश त्रिभुवन माध्यमिक विद्यालय खलंगामा कक्षा १२ मा पढ्थे। सूक्ष्म शिक्षण (शिक्षा संकाय कक्षा १२ का विद्यार्थीले गर्ने अभ्यास शिक्षण)का लागि विद्यालयले गनेशसहित नौ जनालाई शिवपुरी मावि, गर्खाकोट पठायो। विद्यार्थीको त्यस समूहको नेतृत्व गनेशले नै गरेका थिए।
हरेक दिन आफ्नो कक्षा सकेर गनेश घर फर्किहाल्थे। फागुन ३ गते प्रणय दिवस थियो। उनले अकस्मात एउटा लालीगुराँसको फूल पाए। त्यो फूल ज्योति शाहले पठाएकी थिइन्। त्यसकै पातमा चाहिँ आफूले ‘असाध्यै माया गर्ने’ लेखेकी थिइन्।
ज्योति शिवपुरी माविको कक्षा ८ की विद्यार्थी थिइन्। आफूले पढाइरहेकी विद्यार्थीबाटै प्रेम प्रस्ताव आउँदा गनेश केही बेर अकमक्क भए। “उनीसँग खास बोलचाल हुँदैन थियो। मायाले न जात हेर्दो रहेछ, न उमेर। मैले पनि चिठी लेखेर ‘माया गर्छु’ भनेँ,” उनी भन्छन्।
समय बित्दै गयो। यो प्रेम सम्बन्धबारे ज्योतिको परिवारले थाहा पायो। बुवाआमाले उनलाई सिस्नोपानी नै लगाए। “तत्कालै बिहे गर्छु भन्ने सोच थिएन। बुवाममीले नराम्रो गर्नुभयो, गाउँलेहरूले पनि थाहा पाए। अब मर्छु भनेर खोलातिर झरेँ,” ज्योति भन्छिन्, “त्यहाँ नजिकै चौरमा बसेको थिएँ। घोडा, बाख्रा चराउन बाबुहरू (गनेशका भाइहरू) आउनुभएको रहेछ। उहाँहरूलाई बाख्रा लिएर आएको भनेर ढाटेँ।”
दिनभरि उनी गनेशका भाइहरूसँग त्यही चौरमा बसिन्। सूर्य डाँडामा छेकिँदै गएपछि घर फर्किने बेला भयो। अनि मात्र घरमा झगडा परेर हिँडेको बताइन्।
गनेशका भाइ शंकरले ‘हाम्रो हातको खानु हुँदैन होला, घरबाट चामल ल्याएर आउँछु’ भने। उनी बोलिनन्। उनले चामल लगिदिए। यता दाइलाई ज्योति घर छाडेर हिँडेको बताए। रात परेपछि गनेश चौरतिर गए र ज्योतिलाई आफूसँगै हिँड्न भने।
गनेशले ज्योतिलाई लेकको घरमा लगे। केही दिन त्यहीँ बसे। २०६७ असार २८ गते गाउँ घुम्दा ज्योतिको परिवारले गनेशलाई भेटाए। त्यही दिन ज्योतिका परिवारका मानिस नाम्लो लिएर गनेशको घर पुगे। उनीहरूले ज्योतिलाई नबुझाए बाँधेर पिट्ने धम्की दिए।
गनेशले ज्योतिलाई टाढै राखेको र गाउँ ल्याउन एक दिनभन्दा बढी समय लाग्ने बताए। उनलाई लिएर आउन भनियो। तर उनले ज्योतिलाई रातभरिमा सदरमुकाम खलंगा पुर्याए।
“गर्खाकोटमा हाम्रो परिवारलाई उनीहरू आएर यातनाको धम्की दिन थालिसके। छोरीलाई नल्याए घर आगो लगाउँछु, तिमीहरूलाई जिउँदै जलाउँछु भन्न थालेछन्,” उनी भन्छन्।
गनेश र ज्योतिले अब खलंगा नै छाड्ने निधो गरे र बर्दिया जान हिँडे। तर रुकुमको चौरजहारीमा पर्ने सानीपिप्लेबाट फर्किन बाध्य भए। गाउँमा गनेशको परिवारले पाएको धम्की र ‘फर्कनू’ भन्ने प्रहरीको सूचना कारण बन्यो।
केही दिनमा गनेशका बुवा कमारा खलंगा पुगे। प्रहरीले उनलाई केटाकेटी दुवैलाई लिएर आउन भन्यो। प्रहरी कार्यालय पुगेपछि दुवै जना २० वर्ष पूरा नभएको कारण बिहे नगर्न प्रहरीले अनुरोध गरे। तर गाउँमा असुरक्षा हुने बुझेर सदरमुकाम आसपास बस्न सुझाव दिए।
खलंगामा बसिरहेका बेला साउन १६ गते ज्योतिका परिवार आएर उनलाई जबरजस्ती गाउँ लिएर गए। लिन आएका मामा, ममी र गाउँका दिदीबहिनीले उनको बिहे अन्यत्रै गरिदिने कुरा गर्न थाले। “तल्लो जातको मान्छेसँग बिहे गर्नु हुँदैन, आफ्नै जातको मान्छेसँग गर, हामी केटा हेर्दिन्छौँ भन्न थाल्नुभयो। मैले गर्दिनँ भनिरहेँ,” उनी भन्छिन्।
ज्योतिलाई दुई दिन गर्खाकोट राखियो। त्यसपछि सुर्खेतको छिञ्चुस्थित ठूलोबुवा रामबहादुरको घर पुर्याइयो। गनेश पनि पढाइको सिलसिलामा काठमाडौँ गए। केही महिना सम्पर्क हुन सकेन।
सम्पर्क टुटेको थियो, प्रेम टुटेको थिएन। छिञ्चुबाट ज्योतिले गनेशका कान्छाबुवा हिम्मतलाई फोन गरिन्। “मैले बुवालाई सबै कुरा सुनाएको थिएँ। बुवाले गनेशसँग सम्पर्क गराइदिनुभयो,” ज्योति भन्छिन्।
ज्योतिले दिएको ‘प्रकाश’
लुकिछिपी गनेश र ज्योतिको फोन सम्पर्क हुन थाल्यो। त्यही सम्पर्कले उनीहरूको पुनर्मिलन गरायो।
एक वर्षपछि ज्योति छिञ्चुबाट गर्खाकोट फर्किइन्। उनीहरूको सल्लाह बमोजिम गनेशलाई बिर्सिएझैँ गरिन्। गनेश सामाजिक परिचालकका रूपमा बझाङमा जागिर गर्न थालेका थिए। दशैँमा घर पुग्दा सामान्यझैँ देखिए। दुवैको परिवारलाई एकअर्कालाई बिर्सिए भन्ने भान भयो।
यसरी समय बिताउन थालेको पाँच वर्ष बितिसकेको थियो। उमेर २० वर्ष पार भइसकेको थियो। ग्रामीण जलस्रोत परियोजनामा काम गर्ने गनेश दशैँको अवसर पारेर बझाङबाट घर आए। त्यही बेला उनीहरूले बिहे गर्ने सल्लाह गरे।
जुनीचाँदेको मजकोटमा पराले मेला लागेको थियो। मेलाको निहुँमा गाउँ छाड्ने सल्लाह भयो। २०७२ कात्तिक ९ गते साँझ ८ बजेर २० मिनेट गएको थियो। ज्योति मेला जाने भनेर घरबाट निस्किइन्। गनेश सिन्धुपाल्चोकमा जागिर मिलेको बहानामा घरबाट बिहानै निस्किइसकेका थिए।
जाजरकोटको दुर्गम जुनीचाँदेबाट शिवालयको बालुवा बजार पुग्न एक दिनभन्दा बढी लाग्छ। उनीहरू रातभर हिँडेर बिहान बालुवा बजार पुगे। उनीहरूको योजना भारत हानिने थियो। तर गनेशको परिवारले उनले ज्योतिलाई भगाएको थाहा पायो।
उनका माइला दाइले फोन गरेर कतै नजान आग्रह गरे। “हामी दुवैसँग कि–प्याड मोबाइल थियो। शिवालय पुगेपछि माइलो दाइले फोन गरेर ‘तैँले के काम बिगारेर गइसकिस् रे? जे हुनु भइहाल्यो, भारत नजानू’ भन्नुभयो,” गनेश भन्छन्।
उनीहरू त्यहाँबाट बाँकेको बैजनाथ पुगे। त्यहाँ केही दिन बिताएर धनगढी गए। तीन दिनपछि ज्योतिको मोबाइलमा घण्टी बज्यो। “ठूलो भाइ विकासले फोन गरेको रहेछ। ‘दिदी कहाँ छेस्’ भन्यो। मैले बिहे गरिसकेको बताएँ। उसले छिटो घर आउन भन्यो। मैले आउदिनँ भनेर फोन काटिदिएँ,” ज्योति भन्छिन्।
यता गाउँमा गनेशको परिवारलाई यातना दिन शुरू भयो। इलाका प्रहरी कार्यालय गर्खाकोटमा चोरी र मानव बेचबिखनको निवेदन दिइयो। २०७२ कात्तिक १४ गते गनेश र उनका बुवा कमाराविरुद्ध ‘८ लाख चोरी गरेको र छोरीलाई बेचबिखन गर्न लगेको’ आरोपसहित निवेदन दिइएको थियो। त्यति मात्र नभई गनेशको घरमा आएर जातीय गालीगलौज र ढुंगामुढा गरियो।
गर्खाकोट प्रहरीले ज्योतिको परिवारलाई शान्त बनाउन ‘दुवैलाई ल्याउन सहमति’ गर्न कमारासँग आग्रह गर्यो। कमाराले ‘२२ गतेसम्म दुवैलाई ल्याउने’ वचन दिएर खलंगा हिँडे। उनले जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदविरूद्धको जाहेरी दिए। जाजरकोट प्रहरीले त्यसलाई दर्ता गर्न मानेन।
गनेश र ज्योतिलाई झिकाउन लगाइयो। उनीहरू धनगढीबाट जाजरकोट आए। प्रहरीले सोधपुछ गर्यो। दुवै जनालाई छुट्टाछुट्टै रूपमा सोधपुछ गरिएको ज्योति सुनाउँछिन्।
त्यसपछि प्रहरीले ज्योति र गनेशलाई बिहेको शुभकामना दिए। प्रहरी कार्यालय नजिकै बस्न आग्रह गरे। उनीहरू जिल्ला प्रहरी कार्यालय नजिकै डेरा गरेर बस्न थाले।
उता गर्खाकोटमा गनेशको परिवारको उठिबास हुने स्थिति आयो। “ठकुरी गाउँका सारा गाउँले उठेर घरमा ढुंगामुढा गर्न थाले। हामीलाई मार्नुपर्छ भन्न थाले,” बुवा कमाराले सुनाए, “१–१ हजार (रुपैयाँ) उठाएर मुद्दा जितिहाल्छौँ, मार्नुपर्छ, गाउँ निकाला गर्नुपर्छ भन्थे।”
उनीहरूलाई यातना दिन बैठक बसिरहेको सूचना पाएपछि परिवारले गाउँ छाड्ने निधो गर्यो। बुवा कमारा, दाइ राजेश, भाउजु कल्पना र बहिनी यमुनाले गाउँ छाडे। तर घरमा ढुंगामुढा भइरह्यो। उनीहरूले यसबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएपछि प्रहरीले घरको सुरक्षा दिनु परेको थियो।
माओवादीका स्थानीय नेता दुर्गाबहादुर शाही ‘दामोदर’, वीरबहादुर रावत ‘सौगात’लगायतकै संलग्नतामा गनेशको घरमा आक्रमण भइरहेको थियो। गनेश जिल्ला प्रहरी कार्यालयमा फेरि उजुरी गर्न गए। तर उजुरी दर्ता नगरी प्रहरी ‘बस्तुस्थिति बुझ्न’ गर्खाकोट गयो।
प्रहरी गएपछि गाउँलेहरू झन् उत्तेजित भए। शाह परिवार प्रहरीमाथि जाइलाग्यो। इलाका प्रहरी कार्यालय गर्खाकोटका तत्कालीन सई महेशराज पन्त घाइते भएपछि प्रहरीले हवाइ फायर गर्यो। “प्रहरी नभए हामीलाई अहिलेसम्म राख्ने थिएनन्। गाउँमा जो बुद्धिजीवी कलाउँछन्, नेता कहलाउँछन्, उनीहरूको नेतृत्वमा यो भएको थियो,” गनेश भन्छन्।
गर्खाकोट प्रहरीसँग गाउँलेले ‘अब केही नगर्ने’ कागज गरे। गनेशको परिवार गाउँमै स्थापित हुने बाटो खुल्यो। बुवा, दाइ, भाउजु र बहिनी तीन महिनापछि घर फर्किए।
तर गनेश र ज्योति गएनन्। जिल्लामा जातीय विभेदको मुद्दा पनि दर्ता भएन। “गाउँ जान पाइएला भन्ने थियो, त्यो पनि भएन। गालीगलौज, अपमान हुन छाडेन। तीन/चार वर्षसम्म गाउँ जाने स्थिति रहेन,” गनेश भन्छन्।
जातीय रूपमा गालीगलौज गर्न शाह परिवारले अहिलेसम्म छाडेको छैन। “लुकेर घरमा एक दुईपटक गयौँ। कि मुद्दा दर्ता गर्नुपर्ने भयो, कि सहनुपर्ने। बाबुसाहेबहरूले दिएको पीडा सानो छैन,” उनी भन्छन्।
अखण्ड बलिरहने ‘ज्योति’
ज्योतिले आफ्नो पढाइलाई कक्षा ११ सम्म मात्र पुर्याएकी छन्। गनेशसँग आइसकेपछि उनी घर त जान सकिरहेकी छैनन्, स्कुल झन् टाढा भएको छ। “११ पढ्दापढ्दै बिहे भयो। स्कुल जान पाइएन। घर जाँदा पनि जिल्ला प्रहरी कार्यालयमा खबर गरेर लुकेर जानुपर्छ,” ज्योति भन्छिन्, “खलंगा बस्ने गाउँका दिदीबहिनीसँग बुझ्दा छोरी मरिसकी भन्छन् रे। किरियाकर्म गरिसके रे।”
ज्योति र गनेशले बिहे गरेको नौ वर्ष भयो। समाज र घरपरिवारले गरेको बहिष्कारलाई बिर्सिएर खुशी हुने प्रयत्न गरिरहेका छन्। दुई तीन वर्षमा एक पटक गाउँ जाँदा अझै लुकेरै जानुपर्छ। गाउँका अरू मानिस पनि देख्नेबित्तिकै अपमानित ढंगले बोल्न थाल्छन्।
उनीहरूका दुई छोरी छन्। जेठी छोरी प्राप्ति र कान्छी प्राण्ति। गनेश भन्छन्, “अनेक संघर्ष गरेर प्रेम सफल भएकाले जेठीको नाम प्राप्ति राखिएको हो। प्राण रहेसम्म एकअर्कालाई साथ दिन कान्छीको नाम प्राण्ति राखिएको हो।”
गनेश क्यान्सरपीडित हुन्। उपचारमा २३ लाखभन्दा धेरै खर्च भएको उनी बताउँछन्। “बिहे गरेर एउटा राम्रो कपडा दिन सकिरहेको छैन। मिठो मसिनो खुवाउन सकिरहेको छैन। उसले मेरा लागि सबथोक त्यागिसकेकी छ। यस्तो अवस्थामा मलाई क्यान्सरले केही पनि गर्न सक्दैन, आत्मविश्वास छ,” उनी भन्छन्।
बोली एकातिर, व्यवहार!
जुनीचाँदे गाउँपालिका नेकपा माओवादी केन्द्रको 'आधार क्षेत्र' मानिन्छ। २०६३ सालअघि जुनीचाँदेमा तत्कालीन नेकपा माओवादीले ‘कम्युन’ चलाएको थियो।
ज्योतिको परिवार पनि माओवादी केन्द्रको समर्थक हो। ज्योति ‘जातभात केही होइन’ भन्ने परिवार र स्कुलिङमा हुर्किइन्। तर त्यो अहिले एकादेशको कथा भएको उनी बताउँछिन्।
“हाम्रो घरपरिवार माओवादी नै हो। हाम्रो समस्या कतिपय यहाँका माओवादी नेताहरूलाई भनेका छौँ। उनीहरू भाषणमा भन्छन्, व्यवहारमा गर्दैनन्,” उनी भन्छिन्।
उनका बुवा उत्तमकुमार शाह वडाका माओवादी नेता नै हुन्। ज्योतिकी आमा नमस्तेदेवी शाह २०७९ सालको निर्वाचनमा माओवादीबाट जुनीचाँदे गाउँपालिका–५ को महिला सदस्य उम्मेदवार भएकी थिइन्।
जिल्लामा गनेश र ज्योतिको भन्दा उनका बुवाआमाका कुरा सुनिन्छ। माओवादी नेताहरूले उनीहरूमाथिको विभेद अन्त्य गर्न कुनै पहल गरेका छैनन्।
“माओवादी भनेर मात्र हुँदो रहेनछ, व्यवहारमा पनि माओवादी हुनुपर्यो। त्यस्तो भए त अहिले यसरी बस्नुपर्थ्यो र!” ज्योति भन्छिन्।