Tuesday, January 21, 2025

-->

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

काँकडभिट्टा नाकामा परिचालन गरिएको तालिम प्राप्त कुकुरको सहायताले लागुऔषध ओसारपसारसहित अन्य तस्करी रोक्न सहज भएको छ।

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

झापा– सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ। सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो।

मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगन्जसम्म भारतसँग जोडिएको १४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका चारवटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट (बीओपी) तैनाथ रहेका सशस्त्र प्रहरी बल २ नं गण चन्द्रगढीका सूचना अधिकारी मदन रसाइलीले जानकारी दिए। 

उनका अनुसार सीमा क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै अपराध नियन्त्रणलाई थप सहज तुल्याउन सशस्त्र प्रहरी बलले झापाको सीमावर्ती २१ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन गरेको छ।

चालु आर्थिक वर्षको चार महिनामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्टहरूले चार करोड ७८ लाख ४३ हजार रुपैयाँ मूल्य बराबरको कर बीजक नभएको अवैध सामान बरामद गरेर भन्सारमा दाखिला गरेको छ। बरामद भएका मालसामानमा लागुऔषध, मदिरा, लत्ताकपडा, सवारीसाधन, चौपाया, मोटर पार्टस्, सुर्तीजन्य पदार्थ, हार्डवेयर, मासुजन्य, किराना सामानलगायत छन्। 

गत आवमा भन्सार छलेर भित्र्याइएको ११ करोड १० लाख ८४ हजार रुपैयाँ बराबरको मालसामान बरामद गरेको थियो। उक्त अवधिमा लागुऔषधका १०४ जना कारोबारी, ८१ वटा चौपाया, १२ सवारी साधन, ७८९ गोलिया काठ र २४ बोरा पटाका समातिएको थियो।

शुक्रबार कचनकबल गाउँपालिका–५ निवासी ४० वर्षीय नजाम खातुनको घरमा भारतबाट भन्सार छलेर ल्याइएको सामान लुकाएर राखिएको सूचना पाएपछि घेराबारी गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले १२ लाख २० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ। 

काँकडभिट्टास्थित सीमा सुरक्षा गुल्मले मेचीनगर–६ मा शुक्रबार १ लाख ८० हजार मूल्य बराबरको सुपारी बेवारिसे अवस्थामा फेला पारेको छ। सुपारी नेपालबाट भारत लैजान प्रतिबन्ध भए पनि तस्करले सीमा सुरक्षाकर्मीको आँखा छलेर भारत लैजाने गरेका छन्।

सुपारीसँगै ५७ हजार मूल्य बराबरको पाँच हजार ८६ वटा विभिन्न फूलका बिरुवा सीमा क्षेत्रबाट बेवारिसे अवस्थामा फेला पारेको थियो। केही दिनअघि भन्सार छलेर भित्र्याइएको ठूलो मात्राको मदिरासमेत सशस्त्र प्रहरी बलले बरामद गरेको थियो। पछिल्लो समय लागुऔषधको ओसारपसार बढेसँगै सशस्त्रले निगरानी पनि बढाएको छ। सशस्त्र प्रहरी बलको काँकडभिट्टा गुल्मले यस्ता गतिविधि नियन्त्रणका लागि पूर्वीनाकामा चेकजाँचका लागि तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको सूचना अधिकारी रसाइलीले जानकारी दिए। काँकडभिट्टा नाकामा परिचालन गरिएको तालिम प्राप्त कुकुरको सहायताले लागुऔषधको ओसारपसार रोक्न सहज भएको उनको भनाइ छ। 

चार महिनाको अवधिमा जिल्लामा सशस्त्र प्रहरी बलले लागुपदार्थ ओसारपसारमा संलग्न ५४ जना र त्यस कार्यमा प्रयोग भएका आठवटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ। 

“सिटी सफारी, स्कुटर र मोटरसाइकलमार्फत मेची पुल पार गर्ने शंकास्पद व्यक्तिको शारीरिक तलासी र निगरानी गर्न मानवीय जनशक्तिलाई नै सहज हुन्छ,” सूचना अधिकारी रसाइलीले भने, “तर कतिपय व्यक्तिले मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने गरेका छन्। त्यस्तो अवस्थामा तालिमप्राप्त कुकुरको सहयोग प्रभावकारी हुन्छ।”

कात्तिक २९ गते काँकडभिट्टाको मेची पुलमा तालिम प्राप्त कुकुरको सहायताले भारतबाट सिटी सफारी चढेर नेपाल आउँदै गरेका तीनजनाको मलद्वारबाट ब्राउन सुगर बरामद गरिएको थियो। झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगन्ज सीमा क्षेत्रबाट तस्करहरूले भन्सार छलेर लागुऔषध, लत्ताकपडा, मदिरा, मलखादलगायत सामान नेपाल भित्र्याउने क्रम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल आपसी सहकार्यका साथ नियन्त्रणमा खटिएका हुन्। 

तेस्रो मुलुकका नागरिकबाट हुनसक्ने घूसपैठसमेत सशस्त्र प्रहरी बलले नियन्त्रण गर्दै आएको छ। कात्तिक २८ गते भारतको पानीट्यांकीबाट नेपालतर्फ बिना प्रवेशाज्ञा आएका दुईजना बांग्लादेशी नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमन कार्यालयमा बुझाएको थियो।


सम्बन्धित सामग्री