तस्वीर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ— सिन्धुपाल्चोककी रमा न्यौपाने शुक्रबार मध्याह्न जमलबाट चाबहिल जाने सार्वजनिक सवारीसाधन कुरिरहेकी थिइन्। साथमा थिइन् २ वर्षीय छोरी अनि दुई वटा ठूला ब्याग। छोरी निद्राले झिजिएकी थिइन्। छोरीलाई काखमा बोकेर बिहान साढे ११ बजेदेखि कुरिरहेकी रमाले १ बजेसम्म पनि गाडी पाइनन्। लामो समयसम्म गाडी नपाएपछि उनले निद्राले आत्तिएकी छोरीलाई ब्यागमाथि नै सुताइन्।
शनिबार हुन लागेको आफ्नो भाइको विवाहको तयारीका लागि चाबहिल जान लागेको बताउने उनी अन्य दिनजस्तै ठानेर बस स्टपमा पुग्दा गाडी कुर्नेको भिडले जमलको एक छेउ ढाकेको देखिन्। तर आउजाउ गर्ने सवारीसाधनमा मोटरसाइकल र निजी गाडीको जाम लागेको थियो, सार्वजनिक सवारीसाधन फाटफुट मात्र चलेका थिए। उनले त्यहीँ सोधिखोजी गरेपछि थाहा पाइन दरबारमार्गमा सत्तारूढ दल नेकपा एमालेको जागरणसभा हो भनेर।
कार्यक्रम किन र कसका लागि आयोजना भएको भन्ने केही थाहा नपाएकी उनले यही कार्यक्रमका कारण उत्पन्न काठमाडौँको सवारीसाधनको अस्तव्यस्त अवस्थाले आफूले सास्ती खेप्नुपरेको दुखेसो गरिन्। “आफू एक्लै भए त जसरी नि जान्थेँ, सानो बच्चासँग गाह्रो हुन्छ। यस्तो कुरा बुझेर कार्यक्रम गरे हुने हो,” उनले थपिन्, “आफ्नै भाइको विवाहमा जानुपर्ने अहिलेसम्म यहीँ छु। कार्यक्रम कतिबेला सकिन्छ भनेर पर्खेर बस्नुको विकल्प छैन।”

सार्वजनिक यातायातको तुलनामा केही सहज मानिन्छन् पठाओ, इनड्राइभजस्ता राइड शेयरिङ सेवा। पठाओ बुक गर्न नजान्ने उनले अफलाइन राइडरसँग कुरा गरिन्। तर अफलाइन राइडरले दरबारमार्गदेखि चाबहिल पुगेको ४०० देखि ५०० रुपैयाँसम्म प्रस्ताव गरेर। दरबारमार्गको जाम छिचोल्न देखिएको सकस र पठाओ चालकहरूले पनि सामान्य दिनमा भन्दा दोब्बर पैसा मागेपछि उनले उनीहरूलाई पनि सोध्न छोडिन्। त्यसपछि उनले गाडी पाए गन्तव्यमा जाने नत्र फर्किने योजना सुनाइन्।
बागबजारस्थित एक कलेजमा पढ्ने सुलोचना खतिवडा त्यहीँ छेउमा भेटिइन्। पढाइ सकिएपछि रातोपुलस्थित कोठा पुग्न हतारहतार जमल आएकी उनलाई पनि चाबहिल जाने बस पाउनै मुस्किल भयो। बिहानीसत्रको पढाइ सकेर कोठा पुग्न हतारिएकी उनले एमालेको जागरणसभाका कारण सार्वजनिक यातायात पाउन नसकेर आक्रोशित हुँदै भनिन्, “नेताहरू सधैँ भाषणमा मात्रै जनतालाई सुख दिने कुरा गर्छन् तर यसरी नै दुःख दिइरहेका हुन्छन्। विकासका नाममा ठूला पूर्वाधार होइन जनतालाई दुःख दिने व्यवहार फेर्नुपर्छ।” लामो समयसम्म प्रतीक्षा गर्दा पनि गाडी नपाएपछि उनी पैदलै कोठातर्फ लागिन्।
जमलनजिकै रहेको शान्ति वाटिकामा पाटन अस्पताल जानलाई गाडी कुर्दै थिइन्, कल्पना पौडेल। उनलाई अस्पतालमा उपचाररत गम्भीर अवस्थामा रहेका बुबालाई भेट्न जानु थियो। हामीसँग दिउँसो २ बजेतिर भेट हुँदा उनले आफूले डेढ घण्टादेखि लगनखेल जाने माइक्रो पर्खिरहेकी थिइन्। आज अन्य समयभन्दा सवारीसाधनको संख्या कम, यात्रुको संख्या उच्च थियो। यसअघि तीन वटा गाडी छुटे पनि उनी भिडका कारण गाडीभित्र पस्न सकिन्न। उनले राजनीतिक दलले सडकमै भेला–कार्यक्रम गरेर जनतालाई सास्ती दिएको गुनासो गरिन्।

आफै सत्तामा भएकाले मैमत्त भएर जनतामाथि खेलबाड गरेको उनको उनको भनाइ थियो। “कतिको रोजीरोटी छुट्छ। महत्त्वपूर्ण काम छुट्छन् तर नेतालाई भने सत्ता आफ्नो हातमा छ जे गरे नि हुन्छ। जनतालाई सास्ती दिएर आफ्नो स्वार्थको भेला गर्नु लज्जाको विषय होइन र?” उनले भनिन्।
दरबारमार्गमा भेटिएका मोटरसाइकल चालक आशुतोष श्रेष्ठले पनि सभाका कारण आफ्नो काम पूरा नभएको सुनाए। काम विशेषले उनी बल्खुदेखि कालीमाटी हुँदै दरबारमार्ग आएका थिए। यसबीचमा उनले चार ठाउँ लामो ट्राफिक जाम खेप्नुपर्यो। एमालेको सभाबारे बेखबर उनलाई बल्खुदेखि दरबारमार्ग आउन करिब एक घण्टा लागेको उनले बताए। “भेलाबारे थाहा थिएन। यहाँ महत्त्वपूर्ण काम थियो। त्यसका लागि १ बजे आउनुपर्ने थियो। म घरबाट १२ नबज्दै हिँडेको जामले गर्दा ढिलो आएर मेरो काम नै बनेन,” उनले भने।

सभाले व्यापारमा असर
दरबारमार्ग व्यापारिक ठाउँका रूपमा परिचित छ तर विभिन्न समयमा हुने राजनीतिक भेलाले व्यापार व्यवसायमा असर परिरहेको व्यापारी बताउँछन्। राजनीतिक कार्यक्रमले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्तका साथै व्यापार व्यवसाय नै ठप्प हुने गरेको जमलस्थित एक कपडा पसलका सञ्चालक अमरराज ताम्राकार बताउँछन्। यस्ता भेला तथा कार्यक्रमले दैनिक कामकारबाहीमा असर पर्नुका साथै ध्वनि प्रदूषणको समेत समस्या हुने उनले सुनाए। “यसै पनि व्यापार कम छ। त्यसमाथि बेलाबेला हुने यस्ता भेला कार्यक्रमले झन् चौपट बनाइदिन्छन्,” उनले भने।
यस्तै, दरबारमार्गको बालबालिकाका सामग्री बेच्ने एक स्टोरका कर्मचारी केशव भट्ट बलामीले भिडका कारण असुरक्षाका साथै व्यापारमा समेत असर परेको सुनाए। उनका अनुसार व्यापार व्यवसायमा असर परेपछि पसलै बन्द गर्नुपर्ने अवस्था आएको छ। दरबारमार्गमा केही पसल कार्यक्रमकै कारण बिहानदेखि नै बन्द रहे। कतिपयले दिउँसै पसल बन्द गरेको उनी सुनाउँछन्।
“खुलामञ्च, टुँडिखेल, प्रज्ञा भवन अनि राष्ट्रियसभा गृह पनि छ, त्यहाँ गर्नुपर्छ यस्ता कार्यक्रम। यसरी यातायात र मान्छेको आउजाउ गर्ने व्यापारिक केन्द्रमा नै कार्यक्रम गर्नु हामीलाई मात्र होइन सबै सर्वसाधारणका लागि पनि उचित होइन,” उनले भने।

काठमाडौँको मुख्य सडकमै भेला गर्नाले दिनभर जसो दरबारमार्ग वरपरका सडकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो। वैकल्पिक सडकमा समेत ट्राफिक प्रहरीलाई जाम व्यवस्था गर्न हम्मेहम्मे परेको थियो। ट्राफिक जामका कारण समयमै गन्तव्यमा पुग्न नपाएपछि सर्वसाधारण आक्रोशित बनेका थिए। सार्वजनिक यातायातका साधन कम चल्दा यात्रुहरूसमेत अलपत्र परेका थिए।
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले एमाले जो सरकारमा छ सडकमा किन, जागरणसभाका गरेको शक्तिप्रदर्शन किन र केका लागि लगायतका प्रश्न गरेका छन्। राजनीतिक विश्लेषक पनि शुक्रबारको एमालेको जागरणसभालाई उचित ठम्याउँदैनन्। सत्तारूढ दलले नै व्यस्त सडकमा भेला आयोजना गर्नु उचित नभएको प्राडा राजेन्द्र चापागाईंले बताए। “जनतालाई भ्रम र अफवाहबारे जानकारी दिनु राम्रो कुरा हो। तर सत्ता चलाइरहेको पार्टी यसरी सडक नै अस्तव्यस्त हुने गरी भेला गर्नुचाहिँ उचित भएन। सत्तारूढ दलले मात्र होइन सत्ताबाहिर भएका दलले पनि नागरिकलाई सास्ती मिल्ने गरी कुनै खाले सभा सम्मेलन गर्नुहुँदैन,” उनले भने।