काठमाडौँ– टुकुचाखोलाको ढलमा गत असारमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ।
थाइल्यान्डमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो संक्रामक नभएको पाइएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन्।
“टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्यो वा सरेन भन्ने यकिन गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना संकलन गरेर पटक–पटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौँ,” उनले भनिन्, “यदि उक्त भाइरस संक्रामक भएको भए खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो। पोलियो भाइरस नदेखिएपछि हामीले संक्रमित होइन भनेर पुष्टि गर्यौँ।”
गत असारमा काठमाडौँ महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला संगमबाट नमूना संकलनपछि परीक्षण गर्दा पोलियो फेला परेको थियो।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना संकलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताए।
सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना संकलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ। काठमाडौँका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना संकलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा. गौतमले बताए। काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुने गरेको छ ।
सन् २०१० यता मुलुकमा पोलियो संक्रमण भेटिएको छैन। पोलियो जीवाणुबाट फैलिने पोलियो संक्रामक रोग हो । पोलियो संक्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन्।