Tuesday, December 03, 2024

-->

गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान

नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलो पटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो।

गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
फाइल तस्वीर

काठमाडौँ– मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ। सोही क्रममा शनिबार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दै छन्। निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल एयरलाइन्स, जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन्।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलो पटक अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका हुन्। “गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलो पटक यती संख्यामा उडान हुन लागेको छ,” उनले भने, “यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडान बढ्नेछन् र यात्रुको आकर्षण पनि बढ्नेछ।”

नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलो पटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो। योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको संख्या चार पुगेको छ।

थाई एयर एशियाले शुक्रबार दोस्रो पटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ। थाई एयर एशियाले कात्तिक १८ गते व्यावसायिक उडान शुरू गरेको थियो। कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैंकक उडान गर्नेगरी अनुमति लिएको छ। छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ।

उडान तालिकाअनुसार शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदै छ। यो विमान साढे ८ बजे कुवेत फर्किनेछ। यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान शुरू गर्न लागेको हो। जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ।

 यस्तै फ्लाई दुबईको विमान पहिलो पटक भैरहवा विमानस्थलमा अवतरण हुँदै छ। दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिए। भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौँ भएर दुबई फर्किने तालिका छ। हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो।

नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान भर्दैछ। शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको विमानको उडानसमेत शनिबारलाई सारिएको महाप्रबन्धक तिवारीले बताए। नेपाल एयरलाइन्सले प्राविधिक कारण देखाउँदै शुक्रबारको उडान शनिबारलाई सारेको जनाएको छ। नेपाल एयरलाइन्सको विमान काठमाडौँबाट भैरहवा अवतरण गरी दुबई उड्ने विमानस्थलले उडान तालिका बनाएको छ।     

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा साताको मंगलबार एक उडान भर्नेछ। यो एयरलाइन्सको विमान बिहान ७ बजे भैरहवा अवतरण हुनेछ। यो गन्तव्यमा नेपाल एयरलाइन्सले अघिल्लो वर्ष उडान शुरू गरेको थियो।

२०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो। पछि प्राविधिक कारण देखाउँदै स्थगित गरेको थियो। फ्लाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ  हुँदै दुबई उडान भर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए। 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ।


सम्बन्धित सामग्री