काठमाडौँ– पनो दासले जनकपुरधाममा रहेको नारी विकास केन्द्र (नाविके)का लागि मिथिला चित्रकला तयार पार्न थालेको तीन दशक बित्यो। बितेका तीन दशकमा उनी अहिले जति निराश पहिले कहिल्यै भएकी थिइनन्। यो निराशाको कारण अरू केही नभई नारी विकास केन्द्रसितै जोडिन्छ। कुनै बेला मिथिला क्षेत्रका महिलामा आशाको सञ्चार गरेको केन्द्र अहिले आर्थिक समस्याले जर्जर अवस्थामा छ। अझ भनौँ, बन्द हुन ठिक्क अवस्थामा पुगेको छ।
पनोजस्तै महिलाले तयार पारेका मिथिला चित्रकलाका सामग्रीले पछिल्लो समय बजार पाउन छाडेका छन्। ती सामग्री गोदाममै थन्किएका छन्। यसले पनोजस्ता अरू धेरै जनाको चिन्ता बढाएको छ।
“यहाँ मलगायत अरू धेरै जना महिला मिहिनेत गरेर चित्र कोर्छौं। हामीले आफ्नो सारा ऊर्जा लगाएर कोरेको चित्र कसैगरी बिकीजाओस् भन्ने हुन्छ,” पनो भन्छिन्, “तर यहाँको खरिदबिक्री अहिले ह्वात्तै घटेको छ। यसले सिधै हाम्रो ज्यालामाथि हानेको छ।”
पनो अहिले नाविकेको अध्यक्ष छिन्। प्रत्येक दुई वर्षमा फेरिने नाविकेको अध्यक्षमा अहिले उनी नै चुनिएकी हुन्। अध्यक्षको जिम्मेवारी अलिक ज्यादा हुने भएर पनि उनी अरूभन्दा धेरै निराश छिन्।
निराश नहोऊन् पनि किन, उनले यहीँबाट गरेको आम्दानीबाट दुई छोरी पढाएर शिक्षक बनाएकी थिइन्।
मिथिला चित्रकलालाई स्वदेशमा मात्रै नभई विदेशमा समेत पुर्याइरहेको नाविकेको जनकपुरधामस्थित भवन नै अहिले सुनसान देखिन्छ। कुनै बेला निकै चहलपहल र व्यस्त देखिने यो थलो अहिले जसरी सुनसान छ, त्यसले नै नाविकेको पछिल्लो अवस्था पनि दर्साउँछ।
मिथिलाका गाउँको चित्रकला चेतलाई बजारसँग जोड्न खुलेको केन्द्र
मिथिला क्षेत्रमा राजा जनकले छोरी सीतासँग विवाह गर्न आएका अयोध्याका रामलाई स्वागत गर्न जनकपुरका भित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्ती व्याप्त छ। त्यही मिथिला लोकचित्रबाट मिथिला सभ्यताको मौलिकतालाई जीवित राख्न ग्रामीण भेगका महिलाले घर, पर्खाल, भुईं र आँगनमा माटो, पिठो, गोबरले चित्र बनाउने गर्थे।
मुख्यतः चित्र चाडपर्व, विवाह, पूजाका लागि कोरिन्थ्यो। महिलाले आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगहरूलाई पनि ती चित्रमार्फत व्यक्त गर्थे।
यस्तै चित्रकलालाई व्यावसायिक प्रयोजनसित जोडेर बिक्री गर्न यहाँ २०५१ सालमा नारी विकास केन्द्र स्थापना भएको हो। नाविके स्थापनाकालदेखि नै मिथिला चित्रकलाका सामग्री बिक्री वितरणमा आश्रित संस्था हो।
यो संस्थाले कुनै समय मासिक ४० लाखसम्मको व्यापार गर्थ्यो। अमेरिकी नागरिक क्लेयर वर्करले मिथिला क्षेत्रमा पर्ने ग्रामीण भेगका महिलालाई एकत्रित गरी मिथिला चित्रकला बनाउन व्यावसायिक तालीम दिएर यो संस्थालाई संस्थागत अभ्यासतर्फ डोर्याएकी थिइन्।
स्थापना हुँदा नाविकेलाई अस्ट्रेलिया, जापान, जर्मनी र डेनमार्कसहित चार वटा मुलुकबाट दानदातव्य आएका थिए। त्यो रकम मुख्यतः महिलाको सीप बढाउने तालिममै खर्च भएको थियो। पछि भने संस्था मिथिला चित्रकला बनाइएका सामग्री बेचेरै काम गर्ने कर्मचारीलाई ज्याला उपलब्ध गराउन सक्षम बन्यो।
सनेचरी मण्डल तिनै उत्साहित महिलामध्ये थिइन् जसलाई आफ्नो कलाले चित्तबुझ्दो ज्याला दिइरहेको थियो। अहिले उनी विगत सम्झेर भावुक भइरहन्छिन्।
उनले नाविकेमा काम थालेकै ३० वर्ष बित्यो। विशेषगरी कपडामा मिथिला चित्रकला कोर्ने उनी शुरूमा तालिम लिन आएकी थिइन्। आफ्नै कडा परिश्रमले उनी नाविकेको स्थायी सदस्य तथा कामदार बनिन्।
“म यहाँबाट तालिम लिएर स्थायी कामदार भएपछि मेरो तलब जम्मा ५०० रुपैयाँ थियो। पछि तलब बढ्दै जाँदा मलाई पनि आफ्नो परिश्रमको फल पाएजस्तो लाग्यो,” सनेचरी भन्छिन्, “यो संस्थाले मजस्ता काम नभएका महिलालाई सीप सिकाएको हो। त्यही सीपले हामीलाई आत्मनिर्भर बनायो। तर आज यही संस्थाको दुरवस्था देख्दा हामी साह्रै चिन्तामा परेका छौँ।”
पनो र सनेचरीजस्तै यहाँ अहिले ३० जना महिला कार्यरत छन्। उनीहरू सबै आ–आफ्नो कलाले मिथिला झल्काउने चित्रहरू कोरेर रोजीरोटी चलाउने गर्छन्। तर त्यसरी बनाइएका चित्रकलाका सामग्री बिक्री हुन छाडेपछि उनीहरूले पाउने ज्यालासमेत अनियमित बनिरहेको छ।
नाविकेका महाप्रबन्धक अभिनव अंशुका अनुसार अहिले यहाँका चित्रकला बिक्री वितरणमा ह्रास आउनुको कारणमध्ये एक प्रमुख कारण मिथिला चित्रकलाका अरू बिक्रेताहरू बढ्नु पनि हो। अहिले अन्यत्र पनि बग्रेल्ती मिथिला चित्रकला कोरिएका सामग्री पाउन थालेपछि यहाँको बिक्री घटेको हुनसक्ने उनको अनुमान छ।
“यहाँका सामग्री मिहिनेत धेरै पर्ने भएकाले अलिक महँगा पनि छन्। स्थानीय मानिसले यहाँबाट किन्दैनन्, यहाँबाट लैजाने प्रायः विदेशीहरू हुन्थे या कुनै संघसंस्था हुन्थे,” उनले भने, “अहिले विदेशीहरू आउने क्रम पनि कम भएको छ। संघसंस्था पनि खासै आउँदैनन्। ग्राहक नै नआएका दिनहरू बढ्न थालेका छन्।”
यहाँ काम गर्ने महिला कामदारका अनुसार नाविकेको यो दुरवस्था कोभिड महामारीपछि शुरू भएको हो। त्यसअघि नाविकेको आर्थिक गतिविधि राम्रै थियो। दैनिक भारी कारोबार नभए पनि त्यसबेला कुनै–कुनै दिन लाखौँको कारोबार पनि हुने गरेको अध्यक्ष दास बताउँछिन्। उनका अनुसार त्यतिबेला नाविकेमा ८० जना कामदार कार्यरत थिए।
तर कोभिड महामारीपछि कामदारको संख्या ह्वातै घट्यो। कारोबार नहुँदा एक महिना अघिसम्म पनि नाविकेमा कार्यरत ३० महिला कामदारलाई १५–१५ दिनको ‘सिफ्ट’ राखिएको थियो।
“तलब खुवाउनै मुस्किल भएपछि यस्तो गर्नुपरेको थियो,” महाप्रबन्धक अंशु भन्छन्, “अहिले फेरि सबैलाई नियमित गरेका छौँ।”
नाविकेका कर्मचारीहरू पूर्वमहाप्रबन्धक सतिश साहको बदमासीका कारण नाविकेको यस्तो हविगत भएको दाबी गर्छन्। साहले नाविकेको ग्राहकबाट भारी मात्रामा कमिसन खाएको सूचना बाहिरिएपछि उनी निष्कासित हुने अवस्था आएको थियो। त्यसपछि सारा ग्राहकलाई अन्यत्रबाटै सामान खरिद गर्न लगाइरहेको कर्मचारीहरूको दाबी छ।
“उहाँले गर्दा नै यहाँको अवस्था खराब हुन थाल्यो। हामी सोझासाझा महिलालाई त ठीकसँग नेपाली बोल्न पनि आउँदैन। ग्राहकसँग डिल गर्नु त परको कुरा भयो। उहाँ नै हो सबै हरहिसाब राख्ने र रकम बुझ्ने,” उनी भन्छिन्, “आर्थिक हिनामिना गरेको आरोप लागेपछि उहाँलाई यहाँबाट बिदा गरिएको हो।”
नाविकेमा करिब पाँच वर्ष काम गरेपछि डेढ वर्षअघि साह अमेरिकी दूतावासमा काम गर्न गएका थिए।
साह भने आफूले नाविकेको कुनै कारोबारबाट एक पैसा नखाएको दाबी गर्छन्। उनले आफूमाथि लागेको सबै आरोप झूटो भएको दाबी गरे। “मैले त्यहाँ केही गरेको छैन। सबै महिलाहरूले नै हेर्थे। म त केवल व्यवस्थापन गरिदिन्थेँ,” उनले भने, “मेरो आर्थिक कारोबारसँग कुनै संलग्नता छैन। म निकालिएको पनि होइन, आफैँ बाहिरिएको हुँ।”
उनले आफू अहिले दूतावासमा पनि नरहेको बताए।
स्थानीय सरकारको बेवास्ता
नाविकेको आर्थिक अवस्थालाई ध्यानमा राखेर सहयोग जुटाउन भन्दै गत फागुनमा महाप्रबन्धक अंशुसहितको टोली जनकपुरधाम उपमहानगरपालिकालाई गुहार्न पुग्यो। संस्था आर्थिक संकटमा परेकाले तालिमका लागि सहयोग गर्न भन्दै उपमहानगरपालिकासँग करिब १५ लाख रुपैयाँ माग गरेको, तर उपमहानगरले वास्ता नगरेको अंशु बताउँछन्।
“हामी जाँदा मेयरसाबले प्रपोजल लिएर आउनुस् भन्नुभयो। हामी प्रपोजल लिएर गयौँ। तर त्यो प्रपोजल दिएको पनि सातआठ महिना भइसक्यो,” उनी भन्छन्, “खासमा उपमहानगरले कुनै चासो नै देखाएन।”
उनले यसअघिका मेयरकहाँ पनि सहयोग मागेर प्रपोजल पठाइएको, तर त्यसबेला पनि कुनै पहल नभएको दुखेसो गरे।
स्थानीय सरकारदेखि सरकारका अरू निकाय र अन्य कतैबाट कुनै सहयोग नआए पनि मिथिला चित्रकलालाई मर्न नदिन आफूहरू लागिपरेको कोषाध्यक्ष सनेचरी देवी बताउँछिन्। उनी कसैको सहयोग नआए पनि आफूहरू निरन्तर यसको संरक्षणमा जुटिरहने दाबी गर्छिन्।
“यतिकै छोडेर त जाँदैनौँ। सिक्नेलाई सिकाउँछौँ। तर यहाँबाट जाँदैनौँ। सामान बिकोस् कि नबिकोस्,” उनी भन्छिन्, “यो हाम्रो सभ्यता हो। केवल पैसाकै लागि पनि हामी यहाँ काम गरेका हैनौँ। खटिरहन्छौँ, ग्राहक कुरिरहन्छौँ। कुनै दिन कसो सामान नबिक्ला।”