बरहथवा– सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ।
बयलबास बजारबाट महोत्तरी जाँदै गरेको लु२च ६७५८ नम्बरको कार मंगलबार बिहान दुर्घटना हुँदा चालकसहित दुई जना ईश्वरपुर–२ मियाँखोरस्थित पोखरीमा डुबेर बेपत्ता भएका थिए।
चालक महोत्तरीको गौशाला–१० का ३८ वर्षीय सुरेश महतो र सवार महोत्तरीकै सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव गोताखोर टोलीले निकालेको डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
कारमा सवार महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किन सफल भएका थिए।
शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा गलिएको श्रेष्ठले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।