काठमाडौँ– विश्वको चासो जोडिएको अमेरिकी राष्ट्रपति निर्वाचन मंगलबार सम्पन्न हुँदैछ। मंगलबार अर्थात् नोभेम्बर ५ राष्ट्रपतीय निर्वाचनको मतदान गर्ने अन्तिम दिन हो। र अमेरिकी राष्ट्रपति बन्ने यो दौडमा डेमोक्रेटबाट (वर्तमान उपराष्ट्रपति) कमला ह्यारिस र रिपब्लिकनबाट (पूर्वराष्ट्रपति) डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन्।
अमेरिकी निर्वाचनमा अहिले आप्रवासीहरूको मत निर्णायक बनिसकेको छ। विगतका कैयौँ निर्वाचनझैँ यसपालि पनि आप्रवासीहरू निर्णायक हुनेछन्। त्यसमा नेपाली आप्रवासी पनि छन् जसको संख्या करिब एक लाख हाराहारी छ। मुख्यतः टेक्सस, न्यूयोर्क, क्यालिफोर्निया लगायतका क्षेत्रमा नेपाली आप्रवासीहरूको बसोबास छ।
अमेरिकाभर नै छरिएर बसेका नेपाली आप्रवासीहरूको मतले निर्वाचनमा ठूलो बदलाव ल्याइहाल्ने सम्भावना त छैन, तर पेन्सिलभेनिया, मिशिगन, एरिजोना, जर्जिया, नेभाडा, विस्कन्सिन लगायतका ‘स्विङ स्टेट’मा भने उनीहरूको मतलाई नजरअन्दाज गर्न मिल्ने देखिँदैन। किनभने, ती ठाउँमा विगतमा विजय हुनेहरू थोरै मतले मात्र अगाडि थिए।
यसपालिको राष्ट्रपति नेपाली आप्रवासीको समर्थन विभाजित छ। कोही रिपब्लिकनको पक्षमा छन्, कोही भने डेमोक्रेटका। अमेरिकाका नेपाली आप्रवासीहरू विभिन्न दलमै लागेर प्रत्यक्ष राजनीति समेत गरिरहेका छन्। उनीहरू विभिन्न पदमा समेत पुगेका छन्। जस्तो, डेमोक्रेटबाट सह्राना श्रेष्ठ न्यूयोर्क ‘स्टेट एसेम्बली’मा छिन्। कतिपय नेपालीले दलका ‘क्लब’ खोलेका छन्। विभिन्न राज्यमा रिपब्लिकन र डेमोक्रेट नेपाली आप्रवासीका आ–आफ्ना क्लब छन्। यस्ता समूहले विगतदेखि नै काम गरिरहेका थिए, अहिले उनीहरूको सक्रियता झन् बढेको छ।
राष्ट्रपति निर्वाचन सम्मुख आइपुग्दा नेपाली आप्रवासीले सामाजिक सञ्जालमा ‘नेप्लिज–अमेरिकन फर कमला ह्यारिस’, ‘नेप्लिज–अमेरिकन फर डोनाल्ड ट्रम्प’ लगायतका समूह बनाएरसमेत लबिइङ गरिरहेका छन्। यस्ता समूहमा सयौँ नेपाली जोडिएका छन्।
अमेरिकाको मेरिल्यान्ड बस्ने अर्जुन बञ्जाडे गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष हुन्। उनी आफू बस्ने राज्यका नेपाली आप्रवासीले अनौपचारिक गफगाफमा डेमोक्रेटप्रति लगाव देखाएको बताउँछन्। भन्छन्, “डेमोक्रेटले सामाजिक विषयलाई केन्द्रमा राखेको हुनाले पनि नेपालीहरूले ह्यारिसलाई मत हाल्छन् जस्तो लाग्छ। आप्रवासीहरू डेमोक्रेटको पक्षमा लाग्नुपर्छ भन्ने माहोल बनेको छ। तर उनीहरूले ह्यारिस वा ट्रम्पको नीति गहिरो ढंगले पढेका छन् भन्नेमा मलाई शंका छ।”
कतिपय नेपाली आप्रवासीले डेमोक्रेटलाई सहयोग गर्नुको कारण ‘ओबामा केयर’ पनि हो। तत्कालीन राष्ट्रपति बराक ओबामाको पालामा ल्याइएको यो खासमा ‘एफोर्डेबेल केयर एक्ट’ हो। स्वास्थ्य बीमासँग सम्बन्धित यो कानून ओबामा राष्ट्रपति हुँदा संसद्बाट पारित भएको थियो। यो कानून आउनुभन्दा अगाडि चार करोड मानिस स्वास्थ्य बीमाको पहुँचबाहिर थिए। हुन त अहिले पनि लाखौँ नागरिक यो कार्यक्रमको पहुँचमा छैनन्। तर यही कानूनका कारण धेरैले स्वास्थ्य सेवामा ठूलो राहत महसुस गरेका छन्।
यसबाट साना कम्पनीमा कार्यरत कामदारहरूलाई समेत ठूलो राहत भएको छ। यदि यो कानून बनेको नहुँदो हो त स्वास्थ्य सेवा सामान्य मान्छेको पहुँच बाहिर हुन्थ्यो। नेपालबाट गएर अमेरिकामा सानोतिनो आर्थिक हैसियत बनाएका नेपालीले पनि यसबाट सेवा पाएका छन्।
यसपालि डेमोक्रेटले जितेमा अमेरिकामा नयाँ घर किन्न चाहेकालाई विभिन्न सुविधा उपलब्ध गराउने प्रतिबद्धता ह्यारिसले व्यक्त गरेकी छन्। यसले पनि नेपाली आप्रवासीहरूलाई आकर्षित गरेको छ।
राजनीतिक दलप्रतिको झुकाव नयाँ पुस्ता र पुरानो पुस्तामा समेत फरक छ। पुरानो पुस्ताले ट्रम्पलाई रुचाएका छन् भने भर्खर बालिग भएको पुस्ताले ह्यारिसलाई रुचाएका छन्। लामो समयदेखि अमेरिका बसेकाहरू ट्रम्प समर्थक रहेको त्यहाँका नेपाली आप्रवासी बताउँछन्।
ट्रम्पको मुद्दा र उनले बेलाबेला प्रकट गर्ने वक्तव्यले नयाँ पुस्तालाई भने चिढ्याएको बताउँछन्, न्युह्यामसायर बस्ने प्रोफेसर रुद्र अर्याल। आप्रवासीप्रति नरम भएको हुनाले पनि ह्यारिसलाई नयाँ पुस्ताले मन पराएको उनको भनाइ छ।
ट्रम्पलाई मन पराउनुको कारणचाहिँ उनको आर्थिक नीतिले पनि हो। अर्याल भन्छन्, “ट्रम्पले आर्थिक मुद्दालाई प्राथमिकतामा राखेका कारण उनलाई धेरै नेपालीले समर्थन गरेको देखिन्छ। नेपाली समुदाय बिजनेसमा अहिले राम्रो प्रगति गरिरहेको छ। उनीहरूलाई करका कुरामा डेमोक्रेटभन्दा रिपब्लिकन आउँदा फाइदा हुन्छ। त्यसकारण, ट्रम्प रोज्ने नेपाली धेरै छन्।”
कोभिड महामारीको समयमा ट्रम्प नभएको भए अमेरिकाको आर्थिक अवस्था नाजुक हुन्थ्यो भन्ने समूह पनि ठूलो छ। अमेरिका बस्ने गैरआवासीय नेपालीका एक अगुवाको भनाइमा कतिपय नेपाली आप्रवासी ‘ट्रम्पको अनुहार राम्रो छ, मिठोसँग बोल्छ’ भनेर समेत उनलाई भोट हाल्न तम्सिएका छन्।
टेनिसीका बासिन्दा प्राध्यापक यादव पण्डित पनि बिजनेस गर्ने धेरै नेपाली आप्रवासीको रोजाइमा ट्रम्प रहेको बताउँछन्। “व्यापार व्यवसायमा राम्रो सफलता हासिल गरेका १० जना नेपाली लिनुभयो भने ८ जनाले ट्रम्पलाई साथ दिन्छन्, बाँकी दुई जना मात्र कमला ह्यारिसको पक्षमा रहन्छन्,” उनी अनुमान लगाउँछन्।
ट्रम्पको ध्यान ठूला व्यापारीतिर छ। ट्रम्पको जितले अर्बपतिहरुलाई फाइदा पुग्ने विश्लेषण पनि गरिन्छ। विश्वका धनाढ्य इलोन मस्क खुलेर ट्रम्पको समर्थन गरिरहेका छन्। उनले ट्रम्पको चुनावी अभियानमा लाखौँ डलरसमेत खर्च गरेका छन्।
सानातिना कतिपय व्यवसायी भने ट्रम्पप्रति बेखुस देखिए। टेक्सस बस्ने राजेन्द्र वाग्ले ६–७ वटा सानातिना व्यवसायमा संलग्न छन्। रिपब्लिकनले ठूला व्यापारीका पक्षमा लागेर साना व्यापारीलाई बेवास्ता गरेको उनको भनाइ छ। “साना व्यापार–व्यवसाय अमेरिकाको मेरुदण्ड हुन्, तर ट्रम्पलाई उनीहरूको वास्ता छैन। उनलाई अर्बपतिहरू भए पुग्ने रहेछ,” उनले थपे, “साना बिजनेस गर्ने अमेरिकनले ट्रम्पलाई साथ दिँदैनन् जस्तो लाग्छ।”
नेपालबाट गएर व्यापार व्यवसायमा जोडिएका वाग्लेजस्ता आप्रवासी धेरै छन्। त्यसमध्ये कतिपयले ट्रम्पलाई मन पराउँछन् भने कतिपय ह्यारिसका समर्थक हुन्। ट्रम्प आउँदा साना व्यापार व्यवसाय फस्टाउने उनीहरूको आशा छ। तर ट्रम्पले आर्थिक मुद्दालाई प्राथमिकतामा राखे पनि उनको नीतिसाना व्यापारीको हितमा नरहेको वाग्लेको तर्क छ।
ट्रम्प र ह्यारिसको मुख्य प्रतिस्पर्धा रहेको क्षेत्रमध्ये एक हो– पेन्सिलभेनिया। यो राज्यमा बस्ने चिकित्सक केशव भण्डारी ट्रम्पले अत्यधिक प्रचारप्रसार गरेको बताउँछन्। चोकचोकमा ‘साइनबोर्ड’ राखेर ट्रम्पले मत मागेका छन्। उनका अनुसार त्यहाँ ट्रम्पको तुलनामा ह्यारिसको प्रचारप्रसार कम छ।
त्यहाँका आप्रवासीमा चुनावी रौनक भने खासै छैन। कतिपय नेपाली आप्रवासी भोटसमेत नदिने मनस्थितिमा देखिन्छन्। उनीहरूको नाम मतादाता नामावलीमा त छ, तर भोट हाल्न जाँदैनन्। कतिपयको प्रतिक्रिया हुन्छ– ‘नेपालमा भोट हालिसकियो, अब यहाँ आएर पनि किन भोट हाल्ने!’
भण्डारी भन्छन्, “नबुझेर हो कि नचाहेर हो, भोट हाल्नै खोज्दैनन्। नेपालमै भोट हालेर आएको, यहाँ पनि कति भोट हाल्नु भन्छन्। कतिपय काममै व्यस्त छन्। कतिपयलाई डिपोर्ट गरिदिने हो कि भन्ने डर छ।”
कतिपय नेपाली आप्रवासीलाई भने अमेरिकाको राष्ट्रपति जो भए पनि खास फरक पर्दैन भन्ने लाग्छ।
यादव पण्डित अमेरिकामा नेपालीलाई ठ्याक्कै मिल्ने दल नभएको बताउँछन्। त्यहाँ र यहाँको समाज फरक भएकाले उनी अमेरिकामा नेपालीका मुद्दा बोक्ने दल देख्दैनन्। पण्डित थप्छन्, “अमेरिकामा गर्भपतनको मुद्दाले प्राथमिकता पाउँछ, नेपालीलाई यसले छुँदैन। यस्ता अनेक मुद्दा छन्।”