Tuesday, December 03, 2024

-->

नेपाललाई ओलम्पिकमा पहिलो पदक दिलाउने नेगी गुरु

यस वर्षको पेरिस पारलम्पिकमा पलेशा गोवर्द्धनले नेपाललाई पहिलो ओलम्पिक पदक दिलाइन्। त्यो सफलताका पछाडि कर्मयोगी नेगी गुरुको योगदान अतुलनीय छ।

नेपाललाई ओलम्पिकमा पहिलो पदक दिलाउने नेगी गुरु

काठमाडौँ– पारलम्पिक नै भए पनि हो त विश्व खेलकुदको कुम्भ। संसारभरका खेलाडी सहभागी त्यही प्रतियोगितामा नेपालका लागि स्वर्ण र रजत पदकको सम्भावना समाप्त भइसकेको थियो। तर पदककै सम्भावना सकिएको भने थिएन। कास्य पदक बाँकी नै थियो। ओलम्पिकमा नेपालको सम्भावना बाँकी नै रहेको त्यही दुर्लभ कास्य पदकका लागि फ्रान्सका खेलाडीलाई पाखा लगाउनैपर्ने चुनौतीमा थिए प्रतिस्पर्धी पलेशा गोवर्द्धन र उनका प्रशिक्षक गुरु नेगी अर्थात् कविराज नेगी लामा। 

अन्ततः त्यो चुनौतीमा उनीहरू दुवै जना खरो उत्रिए। पलेशाले फ्रान्सेली खेलाडीलाई उनकै भूमिमा पराजित गर्दै नेपाललाई ओलम्पिकमा पहिलो पदक दिलाउने सम्भावना जीवितै राखिन्। यसपछि नै हो, गुरु नेगीलाई अब ओलम्पिक पदक जितिन्छ भन्ने आस पलाएको पनि।

पदकका लागि अन्तिम खेल सर्बियासँग खेल्नुपर्ने थियो। सर्बियासँग खेल्नुअघि पलेशाको आत्मविश्वास उँचो थियो। किनभने टोक्यो ओलम्पिकमा उनले सर्बियन खेलाडीलाई हराइसकेकी थिइन्। अब पलेशा र गुरु नेगी दुवै पदक जितिनेमा झन् बढी आशावादी थिए। यतिसम्म कि पदक जित्नसाथ गुरु नेगीले झन्डाको एक छेउ र पलेशाले अर्को छेउ समाएर फहराउने योजना नै बनाइसकेका थिए। 

खेल्दै जाँदा अकस्मात् खेलको बीचमा ‘ड्र’ भयो। गुरु नेगीको तनाव पनि शुरू भयो।  त्यहीबीचमा उनले पलेशालाई फेरि ‘टेक्निक’ बुझाए। त्यसले काम गर्‍यो। पलेशाले १५–८ को सेटमा सर्बियन खेलाडीमाथि जित निकाल्दै ओलम्पिकमा नेपालको पदक निश्चित गरिन्। गुरु नेगीको खुशीको सीमा रहेन। उनी नेपालको झन्डा बोकेर दौडिँदै रिङमै पुगे। ओलम्पिकको रिङमा नेपालको झन्डा बोकेर गुरु नेगी र पलेशाले दुई राउन्ड लगाए। त्यसपछि उनले पलेशाको काँधमा नेपालको झन्डा बोकाइदिएर बधाई दिए। 

त्यो अविस्मरणीय क्षणलाई गुरु नेगीले सम्झिए, “खुशीको सीमा रहेन, आँखाबाट बर्र हर्षका आँसु झरे।” केही समयमै संसारभर छरिएका नेपालीको बधाई र शुभकामनाको ओइरो लाग्यो। यसरी बधाईको पात्र हुन पाउँदा उनलाई देशका लागि योगदान गरेछु भन्ने महसुस भयो। 

ती कविराज, यी तेक्वान्दो प्रशिक्षक नेगी गुरु
मकवानपुरको डाँडाखर्क गाउँमा जन्मेका कविराज नेगी लामा ४ वर्षको छँदा उनकी बहिनी जन्मेकी थिइन्। तर बहिनी जन्मिएको केही दिनमै आमाको मृत्यु भयो। गाउँमा मेलापात र घरधन्दा गर्न उनले फुपूहरूलाई सघाउनुपर्थ्यो। हजुरबा तिलकबहादुर नेगी राजनीतिमा थिए। श्रम तथा सामाजिक कल्याण सहायकमन्त्रीसम्म भएपछि राजनीतिबाट ‘संन्यास’ लिएका उनी नातिलाई ब्रिटिस लाहुरे बनाउन चाहन्थे। 

हजुरबाको त्यही सपना पछ्याउँदै कविराज ५ वर्षको उमेरमा फुपूहरूसँगै काठमाडौँ आए। काठमाडौँको बसाइँ सहज थिएन। गाउँको हुर्काइभन्दा धेरै फरक। भाषा, रहनसहन, चालचलन र परम्परा पनि अर्कै। तामाङ भाषा मात्र बोल्न जानेका कविराजलाई शुरूमा निकै कठिन भयो। नेपाली भाषासमेत बोल्न नजान्दा कैयौँ उल्झनमा परे। जे जस्तो भए पनि शारदा विद्यालयमा ४ कक्षासम्म पढेपछि उनले सिफलको बाल व्यावसायिक माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। लुम्बिनी क्याम्पसबाट प्लस टु उत्तीर्ण गरेपछि न्युटन क्याम्पसमा बीबीएस अध्ययन गरे।

कक्षा १ मा पढ्दा शारदा स्कुलमा तेक्वान्दो र कराँते सिकाइन्थ्यो। उनले त्यहीँ कराँते सिके। पढाइसँगै अतिरिक्त क्रियाकलापमा औधी रुचि भएका उनलाई सानोमा फुटबल खेल पनि खुबै मन पर्थ्यो। “जसले पनि सजिलै बुझ्ने र खेल्न रमाइलो हुने भएकाले फुटबल साह्रै मन पर्थ्यो,” उनले भने।

साथीहरूसँग कराँते सिक्न लगातार ‘गेम क्लास’ गइरहेका कविराजले केही दिनपछि त्यो कराँते नभएर तेक्वान्दो रहेछ भन्ने बुझेका थिए। “खेल हेर्दा उस्तै लाग्ने कराँते त होला भनेर लागेको म त तेक्वान्दो पो सिकिरहेको रहेछु,” उनले सुनाए। 

दिनहरू बित्दै गए, उनको तेक्वान्दो सिकाइले पनि गति लिँदै थियो। करिब ६ वर्षसम्म लगातार तेक्वान्दो सिकिरहेका कविराजको यो यात्रामा अचानक बिराम लाग्यो। मन मिल्ने साथीहरूसँग गुच्चा र लुकामारी खेल्न रमाउन थालेका उनले त्यही क्रममा तेक्वान्दो छाडिदिए। “त्यतिबेला मलाई सम्झाएर सही बाटो देखाउने अभिभावक भएनन्, म जता रमाइलो लाग्यो त्यतै हिँड्थेँ,” उनले भने। 

तेक्वान्दो यात्रामा बिराम लागेको तीन महिना बितिसकेको थियो। जिल्लास्तरीय खेल शुरू हुनै लागेको थियो। तेक्वान्दो कक्षामा कविराजको खेल राम्रो भएकाले गुरु अनुयास गौतमले उनीबाट राम्रो खेल प्रदर्शनको आशा गरेका थिए। कविराजले ६ वर्ष गरेको मिहिनेतको नतिजा देखाउने समय आएको थियो। तर कविराज तेक्वान्दो कक्षामा थिएनन्। गुरु उनलाई खोज्दै घरसम्म पुगे। शुरूमा तेक्वान्दो खेलमा फर्कन नमानेका कविराजलाई गुरुले सम्झाईबुझाइ उनी पुनः खेलमा जोडिए। 

काठमाडौँको दशरथ रंगशालामा पहिलो पटक खेलिएको जिल्लास्तरीय प्रतियोगितामा कविराज प्रथम भए अर्थात् गोल्ड मेडल जिते। त्यसपछि भएका विभिन्न खेलमा पनि आफूले गोल्ड मेडल जितेको कविराज बताउँछन्।

तेक्वान्दो यात्रा चलिरहेको थियो। २०६५ चैतमा भएको पाँचौँ राष्ट्रिय खेलकुदमा सिनियर टोलीबाट प्रतिस्पर्धा गरेका उनी उचाइ र तौलका कारण पदकविहीन बने। २०६८ फागुनमा सुदूरपश्चिममा छैटौँ राष्ट्रिय खेलकुद आयोजना भएको थियो। तर त्यसमा सहभागी हुने उनको प्रयास नै सफल भएन। राष्ट्रिय खेलकुदअघि उनी जुन प्रतियोगिता खेल्दै थिए, उनी खेलिरहँदा पहिले सँगै खेलेका साथी रेफ्रीको भूमिकामा थिए। “सँगै खेलेको साथी रेफ्री, आफूलाई चाहिँ फाइटका लागि रिङमा आफैलाई देख्दा अनौठो लाग्थ्यो। तर म आफ्नो क्षमता जाँच्न लागिपरेको थिएँ,” कविराजले भने। 

राष्ट्रिय प्रतियोगितामा जसरी पनि मेडल जित्ने हुटहुटी थियो। तर त्यो सम्भव भएन। होचो कद र तौलका कारण हजुरबाले देखेको ब्रिटिस लाहुरे बन्ने सपना भंग भइसकेको थियो। 

छैटौँ राष्ट्रिय खेलकुदपछिको समय थियो। उमेरको हदबन्दी नभएकाले उनका लागि अझै मेडल जित्न सक्ने अवसर छँदै थियो। तर त्यसपछि उनले बाटो मोडे। प्रशिक्षणमार्फत शिष्यहरूबाट त्यो सपना पूरा गर्ने अठोट गरे।

विद्यालयस्तरमा उनले त्यसअघि नै तेक्वान्दो सिकाउन थालिसकेका थिए। सम्भवी स्कुल गौशाला, पिङ्गला स्कुल लगायतमा उनले केही समय तेक्वान्दो प्रशिक्षण गराएका थिए। 

यादव कुँवर नेपालको पहिलो पारा तेक्वान्दो खेलाडी हुन्। नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दोको सम्भावना देखेपछि नेगी गुरुलाई प्रशिक्षकका लागि प्रस्ताव गर्‍यो। उनी सन् २०१५ मा नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय  पारा तेक्वान्दो टिममा स्वयंसेवकको रूपमा जोडिए।

कर्मछिरिङ शेर्पा निर्वाचित हुनुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) मा निर्वाचन हुन सकेको थिएन। त्यसबेला ‘चेन्ज एन्फा’को नारा लागिरहेको थियो। त्यसकै लागि एउटा समिति पनि बनेको थियो। उनले त्यही समितिमा स्वयंसेवकका रूपमा ६ महिना काम गरे। निर्वाचनबाट एन्फामा कर्मछिरिङ नै अध्यक्ष निर्वाचित भए। सन् २०१८ देखि उनी एन्फामा प्रशासनिक काम गर्न थाले। 

कविराजले प्रशिक्षण दिएका पिङ्गला स्कुलका विवेक श्रेष्ठ सातौँ राष्ट्रिय खेलकुदमा फाइनलसम्म पुगेका थिए। पछि उनी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न राष्ट्रिय टिममै परे। कविराजले नै प्रशिक्षण दिएका दिवस घिसिङ वर्ल्ड जुनियर च्याम्पियनसिप यु१६ मा सहभागी भए। 

त्यहीबीच पारा तेक्वान्दोमा खेलाडीहरू थपिन थालेपछि तेक्वान्दो एसोसिएसनले उनलाई स्वयंसेवक प्रशिक्षकको जिम्मेवारी दियो। यसपछि नै उनले पलेशालाई भेटेका हुन्। 

पलेशा डीएभी स्कुलमा पढ्दादेखि नै तेक्वान्दो सिकिरहेकी थिइन्। सने २०१६ मा उनी तेक्वान्दो एसोसिएसनमा जोडिइन्। डीएबी स्कुलमा तेक्वान्दो सिकाइरहेका उनका गुरु किशोरले नै उनलाई पारा तेक्वान्दोमा जोडिदिएका थिए। १२ वर्षको उमेरमा पारा तेक्वान्दोको यात्रा शुर गरेकी तिनै पलेशा अन्ततः गुरु नेगीको तेक्वान्दो जीवनमा अविश्वसनीय सफलता दिलाउने माध्यम बनिन्। 

सिर्जना घिसिङसँग गुरु नेगी।

चुनौती सँगसँगै पछ्याइरहेका सम्भावना
तेक्वान्दो एसोसिएसनले दिएको जिम्मेवारी सम्हालिरहेका गुरु नेगी बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म तेक्वान्दो प्रशिक्षण दिन्छन्। त्यसपछि ९ बजे एन्फामा काम शुरू गरेर साँझ ६ बजे घर फर्कन्छन्। देशभित्र र बाहिर खेलका लागि उनलाई तेक्वान्दो संघले नै पठाउँछ। एन्फाबाट भने बिदा स्वीकृत गरेर मात्र जान्छन्।

तेक्वान्दोसँग जोडिएका कैयौँ तीतामीठा सम्झना छन्। एउटा यस्तै सम्झना उनले सुनाए, “टोक्यो पारलम्पिक २०२० मा पलेशाले सर्बिया र अमेरिकाकी खेलाडीलाई जितिन्, तर अन्तिममा चीनका खेलाडीसँग थोरैले हार्दा उनी बेस्सरी रोइन्, म पनि रोएँ। ठूलो सपना बोकेर, संकल्प गरेर देशका लागि गर्न जित निकाल्न खोजेका थियौँ, तर सम्भव भएन। पलेशाले मात्र होइन, देशले हार्‍यो भनेर म असाध्यै दुःखी भएँ।”

टोक्यो ओलम्पिकको हारपछि उनीमाथि पनि विभिन्न आरोप लगाइए। आरोप खेप्न नसकेपछि उनी प्रशिक्षण छाड्ने निचोडमा पुगिसकेका थिए। “परिवारलाई समय नदिएरै यत्रो दुःख गर्दा पनि जस नपाएपछि छोड्छु भन्ने लागेको थियो,” उनले भने, “सबै खेलाडीले निवेदन दिएरै नछोड्न आग्रह गरेपछि मैले निर्णय गर्न सकिनँ।” 

उनले खेलाडीले दिएको हौसला र संघले दिएको जिम्मेवारी स्वीकारे। बहराइनमा भएको युथ एशियन गेममा विशाल गर्बुर्जाले कास्य, सिर्जना घिसिङले रजत र पलेशाले स्वर्ण पदक नै ल्याएपछि उनको उत्साह फेरि जुरमुरायो। “सानैमा आमा बित्नुभयो, आमाका लागि केही गर्न नसके पनि नेपाल आमाको लागि केही गर्छु भनेर लागिरहेको छु,” गुरु नेगीले सुनाए। 

अहिलेसम्म प्रशिक्षकका रूपमा देशमा ११ वटा पदक भित्र्याइसकेका उनी अझ धेरै पदक भित्र्याउन चाहन्छन्। “तर खेलाडीलाई जुन स्तरको सपोर्ट आवश्यक हुन्छ, त्यो दिनचाहिँ सकिरहेका छैनौँ कि झैँ लाग्छ,” उनले भने। भुँइ तहबाटै जागरूक बनाएर खेलाडीलाई खेलप्रति आकर्षित गर्न सक्दा आउँदा दिनमा अझ ठूला उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै उनी भन्छन्, “अन्य देशले विश्व च्याम्पियनसिपको तयारी, ओलम्पिकको तयारी शुरू गरिसके। हाम्रोमा गेमको तयारी नै समयमा हुँदैन। राष्ट्रिय खेलकुद, साफ, एशियाडको तयारी पालैपालो गरिराखेका हुन्छौँ। यसरी खेलाडीलाई सक्षम बनाउन समय लाग्छ जसले गर्दा मेडल पाउन निकै गाह्रो हुन्छ।”

पेरिस पारलम्पिक जानुअघि उनले दुइटा पदक भित्र्याउने सपना बुनेका थिए। तर सिर्जना घिसिङ अस्ट्रेलिया पलायन भएपछि त्यसमा धक्का लाग्यो। “देशले उनीबाट धेरै आस गरेको थियो। उनमा क्षमता थियो, तर उनले लिएको निर्णयले म दुःखी छु,” गुरु नेगी भन्छन्, “विश्वको नम्बर एक खेलाडीलाई जितेर मेडल ल्याउने सिर्जनाले पेरिस ओलम्पिक एशियन गेम्स खेल्न नमान्दा तत्कालीन खेलकुदमन्त्री, खेल संघका पदाधिकारीसमेत दुःखी थिए।” 

पलेशा, नेगी गुरु र भरत।

खेलाडी र पदाधिकारीको नजरमा नेगी गुरु
२७ वर्षीय भरतसिंह महता कीर्तिपुरमा गाई फार्म चलाएर परिवार पालिरहेका थिए। मार्सल आर्ट खेल्न रुचि राख्ने उनी गाई फार्ममै रमाइरहेका थिए। गुरु नेगीसँगको भेटले उनलाई पारा तेक्वान्दोमा तान्यो। २०८० देखि पारा तेक्वान्दो शुरू गरेका उनी नेगीलाई खेलाडीका निम्ति लागि इमानदार र कर्तव्यनिष्ठ अभिभावक मान्छन्। “खेलाडीप्रति उहाँको जस्तो लगाव छ, त्यो अरूमा देख्दिनँ। खेलाडीलाई खेलका लागि कसरी तयार बनाउनुपर्छ भन्ने उहाँमा जुन आइडिया छ, यस्तो गुरु शायदै पाइएला,” महताले भने। 

हुन पनि पारा तेक्वान्दो खेल्न शुरू गरेको १५ महिनामै महताले पेरिस पारलम्पिकमा ‘वाइल्डकार्ड इन्ट्री’ पाएका थिए। “गुरुको सिकाउने शैली उत्कृष्ट थियो, त्यही भएर मैले यो इन्ट्री पाएँ,” दुई पटक एशियन छनोटमा समेत परिसकेका महताले भने। 

एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्र आफ्नो ३१ वर्षको खेल अनुभवमा कविराज नेगी लामाजस्तो प्रशिक्षक कहीँ पनि नदेखेको बताउँछन्। खेलाडीलाई आकर्षित गर्न सक्ने, निःस्वार्थी र कर्मयोगी मान्छेको रूपमा आफूले नेगी गुरुलाई लिएको उनले बताए। “उहाँको खेलप्रतिको लगाव र मिहिनेतको प्रतिफल नै पेरिस ओलम्पिकको राम्रो प्रदर्शन र मेडल हो,” उनी भन्छन्, “खेलाडीहरूले उहाँलाई प्रेरणा मानेर अघि बढ्नुपर्छ।”


सम्बन्धित सामग्री