इनरुवा– सुनसरीको हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ लिएर घरबाट निस्किन्छन्। बाँसलाई आवश्यकताअनुसार काट्छन्, अनि काम शुरू गर्छन्।
स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान हुन्छ र काम गरौँला भन्ने छटपटी हुन्छ। यहाँका मरिक समुदायका व्यक्तिको दिनचर्या यसैगरी बित्ने गरेको छ।
आस्था र लोकपर्वका रूपमा रहेको छठ आउन पाँचदिन बाँकी नै छ। त्यसैले छठमा चाहिने सामग्री बनाउन मरिकहरूलाई धेरै दिन पहिलेदेखि चटारो छ। इनरुवासहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोसी, बराह क्षेत्रलगायत क्षेत्रमा बसोबास गर्ने मरिक समुदायलाई छठ नजिकिँदै जाँदा सामान बनाउन थप चटारो छ।
छठमा प्रयोग हुने कोनियाँ, ढकी, नांलोलगायत बाँसका सामग्री बनाउनका लागि व्यस्त हुनुपरेको हरिनगर– २ का वीरेन्द्र मरिकले बताए। छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले आफूहरूले यस्ता सामान बनाएर बिक्री वितरणबाट आएको केही रकमले चाडपर्वको गर्जो टार्ने गरेको उनले सुनाए।
स्थानीय अनिता मरिकले यहाँ हरेक वर्ष छठ आउनुभन्दा एक महिना अगाडिदेखि नै बाँसको सामग्री बनाउने गरिएको बताइन्। “यही बेला त हो आम्दानी गर्ने। अरु बेला यस्तो अवसर आउँदैन। थोरै भए पनि रकम जम्मा गर्ने र आफ्ना र परिवारका आवश्यकता पूर्ति गर्ने गरेका छौँ,” उनले भनिन्।
भट्टाई मरिकले पनि गाउँबाट बाँस किनेर ल्याएर छठमा प्रयोग हुने सामग्री बनाउन लागेको र यसबाट थोरै भए पनि आम्दानी हुने गरेको बताए।
छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका व्यक्तिले पनि यस बेला आम्दानी गर्ने अवसर पाउँछन्। “अरु बेला कमाइ हुँदैन। त्यसैले हामीहरू आम्दानीका लागि एक महिना अघिदेखि जुटिरहेका छौँ। पर्व अवसरका रूपमा पनि आउने गर्छ हाम्रा लागि,” स्थानीय विन्देश्वर मरिकले भने।
स्थानीय चन्दन मरिकले पनि आफूहरूको आम्दानीको अन्य स्रोत नभएकाले छठ पर्खेर बस्नुपर्ने अवस्था रहेको सुनाए। यसरी बाँसको सामग्री बिक्री गरेर वर्षभरिका लागि आर्थिक जोहो गर्नु आफूहरूको बाध्यता रहको र यसैबाट खाने कुराका साथै छोराछोरीको शिक्षादिक्षाको खर्च धान्ने गरेको उनको भनाइ छ।
दुई जनाको सहारामा एउटा बाँसको ढकी बनाउनका लागि २ दिनसम्म लाग्ने गरेको मरिक समुदायका अगुवाले बताएका छन्। श्रीमान् र छोराछोरीसँगै छठसम्ममा २०० कुनियाँ र ढकी बनाउने गीता मरिकको योजना छ। तर पछिल्लो समय आधुनिकतासँगै भित्रिएका प्लास्टिकलगायत सामग्रीले घरमा बनाएका सामानको माग घट्दै गएकामा उनी चिन्तित छिन्।
यसैले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसका सामग्रीको व्यवसायीकरण वा वैकल्पिक सामान बनाउनका लागि आवश्यक तालिम र प्रविधि सहयोग गर्नुपर्ने उनले बताइन्।