म्याग्दी– तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्यांग्रा बिक्री भएको छ। कात्तिकयता म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा चार हजार ४० भेडा/च्यांग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालिको दशैँ पर्वका लागि आठ हजार भेडाच्यांग्रा बिक्री भएको थियो। पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ भेडाच्यांग्रा मात्र बजार पठाउने गरिएको छ।
दशैँ र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेकासहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्यांग्रा बजारमा बिक्री भएको हो। “उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालि भेडाच्यांग्राको ब्यापार बढी भएको छ,” केन्द्र प्रमुख अर्यालले भने, “कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका रुपैयाँमा च्यांग्रा बिक्री गरेका छन्।”
जडिबुटीयुक्त बुकीमा चरेका च्यांग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ। तीन वर्ष पुरा भएका च्यांग्रा मासुका लागि बिक्री हुने गर्छ। गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्यांग्रा खरिद गरेका व्यापारीले यसपालि प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा खरिद गरेका छन्।
गत वर्ष काठमाडौँ–पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्यांग्रा यसपालि ४५ हजार रुपैयाँभन्दा कम मूल्यमा बिक्री भएको छ। गत वर्ष बजारमा ल्याएको च्यांग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान बेहोरेको गुनासो गरेका थिए।