काठमाडौँ– तिहारमा लुकिछिपी पड्काइएका पटकाका कारण काठमाडौँमा वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौँको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १६० रहेको जनाएको छ।
बिहीबार मात्रै काठमाडौँमा एक्यूआई १०० भन्दा कम देखिएको थियो। इन्डेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौँ विश्वको आठौँ प्रदूषित शहरको सूचिमा सूचिकृत छ। चीनको बेइजिङ पहिलो प्रदूषित शहरका रूपमा सूचिकृत भएको छ। विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार एक्यूआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन संकेतले चिनिन्छ। ५१ देखि १०० सम्मको एक्यूआइलाई पहेँलो संकेतले चिनिन्छ। यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसले श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ। १५१ देखि २०० सम्मको एक्यूआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० लाई धेरै अस्वथ्य मानिन्छ।
काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख गरेको छ।
पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थ जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कण वायुमण्डलमा फैलिने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्ले आग्रहसमेत गरेका छन्।
वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिएका छन्।
वातावरण अभियन्ता राजन थापाले दीपावलीसँगै एकमहिनाअघि गएको बाढी तथा पहिरोका कारण धुलो उठ्ने, गाडीले बाहिरका धुलो काठमाडौँ भित्र्याउने तथा तातो हावा र चिसो हावाको मिश्रणका कारण पनि प्रदूषण गराएको बताए। “दिपावालीको समयमा भारतमा बढी पटका पट्काउँदा प्रदूषण गराएपछि अहिले त भारत सरकारले नियन्त्रण पनि गर्न थालेको छ। पटका मात्रै नभएर अन्य कारण पनि प्रदूषण हुन थालेको छ,” उनले भने, “अब चिसोमा आगो बाल्ने क्रम बढ्छ। यसले अझै प्रदूषण बढ्दै जानेछ।”
पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र श्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्छ। विषाक्त ग्यासको कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्ले आग्रह गरेका छन्।
उनीहरूले पटकाका कारण हुने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने समस्या र उच्च रक्तचापको जोखिम बढाउने तथा यसले कानमा स्थायी क्षति पुर्याउन सक्ने जानकारी दिएका छन्।