धुलिखेल– अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका–१२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आएकी छन्। भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आसमा बस्दै दिन गन्ती गरेको एक महिना बढी भयो।
राज्यले वासस्थान बनाइदिने भन्ने कुराले मनमा आस पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यतिकै बितेको छ। तर अहिलेसम्म सरकारले उचित व्यवस्थापनसमेत नगरेको उनको गुनासो छ। पाँच रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुने गरी नजिकै रहेको घरबारसँगै बाढीले बगाएपछि अहिले उनीहरू छिमेकीको घरमा रात बिताउँदै आएका छन्।
“खोलाको बाढीले ल्याएर थुपारेको ढुंगा, दाउरा र काठ पन्छाएर भए पनि अन्न फलाउने खेत त बनाउनै पर्यो,” यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै गरेकी उनले भनिन्, “आफ्नो भएको जग्गा नै यही हो, अरू विकल्प केही छैन।”
खाद्यान्नचाहिँ अलिअलि पाइरहेको र केही दिनअगाडि जस्तापाता बाँडेकोले लिएर राखेको उनले सुनाइन्। सरकारले छिट्टै बास बस्ने ठाउँको उचित व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासँगै धमिलिएको मन केही भए पनि सफा हुने उनी बताउँछिन् ।
बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गर्दै रहेकी माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आसमा दिन बितिरहेको बताइन्। पनौतीमा कोठा लिएर बस्दै आएकी उनी बस्ने घर नै नभएपछि त्यहीको नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा छन्।
“सधैँ त कोठा लिएर बस्न सकिँदैन,” उनले भनिन्, “अब कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ।” खेती किसानी गरेर जीविका चलाउँदै आएका परिवारको आम्दानीका रूपमा रहेको फर्निचरसमेत घरसँगै बाढीले बगाएपछि एक महिनादेखि घर न कामको जीवन बिताइरहेको उनले सुनाइन्।
अर्का स्थानीय बासिन्दा मैना तामाङले घर ढलेको पिरसँगै खल्लो गरी बिताएको दशैँ पर्व सकिएलगतै तिहारनजिक आए पनि घरबार र खाने कमाउने कुनै टुंगो नभएको सुनाउनुभयो ।
सोही ठाउँका नवराज गुरुङ गाउँका युवालाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्र्यान पन्छाउन थालेको बताउन्। यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकोमा बिस्तारै पुरिएको वासस्थान व्यवस्थित गर्न थालेको उनले बताए। “बल्ल मान्छेहरूलाई केही फुर्सद हुन थालेपछि पुरेको ठाउँलाई सफा गरेर भल कटाउने ठाउँ बनाउन थालेको हुँ,” उनले भने।
दुईतले घर बगाएपछि बिचल्लीमा रहेको शंकर तामाङ छिमेकीको घरमा बस्दै आएका छन्। बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात संघ/संस्थाले वितरण गरेकोबाट चलाइरहेका उनी राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आसमा रहेको बताउँछन्।
सोही गाउँका अर्का रवीन्द्र नगरकोटीले बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीय सरकार एक पटक पनि सोध्न नआएको गुनासो गरे। सबै चिज बगाएकाले बालबालिकाको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चितता नभएर समस्यामा परेको उनको भनाइ छ।
स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि बिचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताए। “विपद्पछि उद्धार र राहतसँगै बाटोघाटो त बन्यो, तर उहाँहरूलाई त्यसले खासै छोएको छैन,” उनले भने, “सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाई खाने ठाउँ छैन। राज्यले यहीको भूगोललाई छनौट गरेर एकीकृत रूपमा बस्ने आवासको बस्ती व्यवस्थापन गर्न आवश्यक छ।”
बस्ने घर नै नहुँदा बालेको बिजुली, पुर्याएको मोटरबाटो र खानेपानी कसरी उपभोग गर्ने? ती सबैले नछोएको मनलाई सुरक्षित आवासले मात्रै छुन सक्ने भएकाले राज्यले अब त्यसमा ध्यान केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए।
पनौती नगरपालिका–१२ का वडा अध्यक्ष जयराम केसीले यहाँका नागरिकका लागि बगरमा बाढीको र डाँडापाखामा पहिरोको डर भएकाले व्यवस्थित एवं एकीकृत बस्ती विकासतर्फ नै सोच्दा उचित हुने देखिएको कारण संघीय सरकारको सहयोगको अपेक्षामा रहेकोले नागरिकको आवास व्यवस्थापनमा ढिलाइ भइरहेको बताए। अब वडाले वासस्थानको लागि उचित ठाउँको अभाव भएको कारण तिहारपछि जनप्रतिनिधिको बैठक बसेर आवास व्यवस्थापनको लागि आवश्यक कदम चाल्ने उनले बताए।
वडाभित्रमा पाँच जनाको मृत्यु भएको र ३०० भन्दा बढी घर पूर्ण क्षति भएका छन्। जसमा ७० भन्दा बढी गाईभैँसी, पाँच हजारभन्दा बढी कुखुरा र २०० भन्दा बढी खसीबोका पुरिए। अझै विवरण संकलन भइरहेको र सडक, विद्युत्, खानेपानी लगायतका कामलाई व्यवस्थित गर्दै अगाडी बढिरहेको वडा कार्यालयले जनाएको छ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पहिलो आवश्यकता आवास भएकाले बस्ने ठाउँको व्यवस्थापन गर्न सकेको अवस्थामा बस्तुभाउ पालेर पुनः जीवनयापनलाई बिस्तारै पुरानै लयमा फर्काउन सकिने भएको त्यसको आवश्यक व्यवस्थापन गर्ने तयारीमा जुटिरहेको बताए। अहिलेको पीडितले विपत्ति सहेको र अर्को पीडितले विपत्ति सहन नपरोस् भन्नका लागि पनि राज्यले सुरक्षित रूपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसमा संघीय सरकारबाट नै सहयोग गर्न आवश्यक रहेकोमा उनले जोड दिए।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले तत्कालका लागि खाद्यान्न लगायतका आवश्यक व्यवस्थापनका लागि विभिन्न संघ/संस्थाले वितरण गर्ने नगद सहयोगमा वितरणमा पाँच जनासम्मको परिवार भएकोलाई १५ हजार र त्यसभन्दा बढी भएको परिवारलाई २० हजारका दरले एकरूपता हुने गरेर वितरण गर्ने निर्णय भएको जनाएको छ।
वासस्थान निर्माण गर्ने विषयमा जोखिमयुक्त बस्तीको भौगोलिक अवस्था अध्ययनका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण शहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ।
विपद्पछिको एक महिनामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड), गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतले बाढीपहिरो प्रभावित क्षेत्र पनौती १२ रोशी बजार क्षेत्र कलाँती भूमिडाँडाको स्थलगत निरीक्षण गरिसेका छन्।