Tuesday, December 03, 2024

-->

जटिल अपराध अनुसन्धानलाई सहज बनाइरहेका प्रहरी कुकुर

नेपाल प्रहरीले अपराध अनुसन्धानका क्रममा ‘क्लु’ नभेटेर हैरानी खेपिरहेका बेला प्रहरीकै कुकुरले दिने संकेत अनुसन्धानमा कोशेढुंगा बनिरहेका छन्, कसरी?

जटिल अपराध अनुसन्धानलाई सहज बनाइरहेका प्रहरी कुकुर

काठमाडौँ– गएको भदौ २ गते सुनसरीको गढी गाउँपालिका–६ का ५० वर्षीय ज्ञानचन ऋषिदेव थलाहा पुल नजिकैको एक घरको आगनमा टाउको र शरीर अलग पारिएको अवस्थामा मृत भेटिए। प्रहरीका लागि चुनौतीपूर्ण यो घटना अनुसन्धानका क्रममा कुनै ‘क्लु’ फेला पर्न नसकिरहँदा कोशी प्रदेश प्रहरी कार्यालयको धरानस्थित केनाइन शाखा धरानबाट केनाइन टोली पनि खटियो। टोलीले अनुसन्धानका लागि बेल्जियन शेफर्ड जातको कुकुर ‘ड्युक’लाई घटनास्थलमा पुर्‍याएको थियो। 

ज्ञानचनको शवसँगै घटनास्थलमा एउटा कोदालो फेला परेको थियो। त्यही कोदालो ड्युकलाई सुँघाइयो र छाडियो। त्यो कुकुर करिब तीन सय मिटर पर पुग्यो र रोकियो। अनि त्यही ठाउँमा फेला परेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्‍यो। अन्ततः तिनै व्यक्तिले आफूले नै कोदालोले हानेर ज्ञानचनको हत्या गरेको स्वीकार गरे। 

त्यसअघि, साउन ३० गते लमजुङको बेँसीशहर नगरपालिका–११ की ५६ वर्षीया महिलाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो। घरभित्रै भएको त्यो घटना अनुसन्धानका लागि पोखरास्थित गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाईन शाखाबाट समेत टोली खटाइयो। टोलीमा अनुसन्धान कार्यमा सहयोगीका लागि जर्मन शेफर्ड जातको कुकुर ‘टाइसन’लाई पनि लगिएको थियो। 

घटनास्थलमा मृतकको शव छोप्न प्रयोग गरिएको प्लास्टिक मात्र फेला परेको थियो। टाइसनलाई त्यही प्लास्टिक सुँघाएर ‘ट्रयाक’ गर्न छाडियो। घटनास्थलबाट करिब ४ किलोमिटर परसम्म पुगेको टाइसन त्यहाँ पुगेर एउटा घरमा अडियो। त्यहाँ जो व्यक्ति थिए, उनलाई देख्नेवित्तिकै टाइसनले खुट्टामा समात्यो। प्रहरीको अनुसन्धान टोलीले ती व्यक्तिलाई नियन्त्रणमा लियो। र पछि उनले नै हत्या आफूले गरेको भनेर स्वीकार गरे। 

सुनसरी र लमजुङ जस्तै गत वर्ष सिरहाको गोलबजारमा एक महिलाको हत्या भयो। ३० वर्षीया महिलाको शव एक होटलमा हत्या गरिएको अवस्थामा फेला परेको थियो। हत्यामा संलग्न व्यक्तिबारे प्रहरीले सुईंको पाउन सकेको थिएन। अनुसन्धानमा खटिएको प्रहरीलाई अभियुक्त पत्ता लगाउन चुनौती थियो। अनुसन्धानमा सहयोगका लागि केनाईन शाखाको कुकुर ‘जंगे’लाई लिइयो। घटनास्थलमा हत्यामा संलग्न हुनसक्ने व्यक्तिको चप्पल र हत्या गर्न प्रयोग भएको सिलौटो मात्र सबुतका रूपमा फेलापरेको थियो। तिनै सबुतलाई सुँघाएर प्रहरीले जंगेलाई सर्च गर्न छाडिदियो। अन्ततः जंगेले हत्या गरिएकी महिलाका श्रीमानलाई नै संकेत गर्‍यो। प्रहरी अनुसन्धानले पनि उनैलाई अभियुक्तका रूपमा भेट्टायो। 

उत्कृष्ट ‘टाइगर’
उमेरले साढे दुई वर्षको मात्र भयो जर्मन शेफर्ड जातको कुकुर ‘टाइगर’। २०७९ जेठमा काठमाडौँमा जन्मिएको टाइगरलाई नेपाल प्रहरीको केनाइन कार्यालयले आफ्नो कार्यालयको सदस्यका रूपमा भित्र्याएको थियो।

अपराधीको खोजी एवं पहिचानमा उत्कृष्ट भूमिका खेलेको ‘टाइगर’ यस वर्ष उत्कृष्ट प्रहरी कुकुरका रूपमा पुरस्कृत भएको छ। कुकुर तिहारकै अवसर पारेर टाइगरलाई पुरस्कृत गरिएको हो। टाइगरले डेढ वर्षदेखि अपराधीको खोजी तथा पहिचानको काम गर्दै आइरहेको प्रहरीको केनाइन कार्यालय प्रमुख डा. देउती गुरुङ बताउँछिन्।

टाइगरले गत साउन १८ गते सिन्धुपाल्चोकमा र २०८० पुस १७ गते नुवाकोटमा भएका दुईवटा हत्याको घटनाको अनुसन्धान गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। सिन्धुपाल्चोकको बाह्रबिसेका तेजबिक्रम थापाकी ७२ वर्षीया श्रीमती रत्नकुमारी थापा घरमै मृत अवस्थामा फेला परेकी थिइन्। हत्या गर्ने व्यक्तिको पहिचान हुनसकेको थिए। 

प्रहरी टोलीले अनुसन्धानका लागि टाइगरलाई पनि साथमा लिएर गयो। उसलाई घटनास्थल नजिक कोदोबारीमा भेटिएको पदचिह्नको छाप सुँघाएर परिचालन गरिएको थियो। टाइगर घटनास्थलबाट साढे ३ किलोमिटर अगाडि खेतसम्म पुगेर रोकियो। उसले गरेको संकेतका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले काठमाडौँको गोगंबुबाट शंकास्पद अभियुक्तलाई पक्रन सफल भयो। ती अभियुक्तले आफूले घटना गराइसकेपछि टाइगरले पछ्याएको बाटो प्रयोग गरेर भागेको बयान दिएका थिए। 

गत वर्ष नुवाकोटमा ७५ वर्षीया नेत्रकुमारी क्षेत्री बाख्रा खोरभित्र मृत भेटिइन्। उनलाई धारिलो हतियार, खुर्पाको बिँड प्रयोग गरेर हत्या गरिएको थियो। घटना अनुसन्धानका लागि टाइगरलाई नै नुवाकोट लगियो। प्रहरी कुकुर टाइगरलाई खुर्पाको बिँड सुँघाएर छाडियो। अर्को प्रहरी कुकुर रोजलाई पनि त्यहाँ लगेर परिचालन गरिएको थियो। यी दुवैको सहयोगमा हत्यामा संलग्न व्यक्ति पक्राउ गर्न प्रहरी सफल भयो। 

कुकुरको प्रयोगले सबल बनेको अपराध अनुसन्धान
आज कुकुर तिहार, हिन्दू धर्मावलम्बीहरूले कुकुरको पूजा गर्ने दिन। कुकुरलाई घरको सुरक्षा गर्ने रक्षकसँगै मानिसको असाध्यै सहयोगी साथीका रूपमा समेत लिने गरिन्छ। शहरमा कतिपयले त यसलाई परिवारकै अभिन्न सदस्यका रूपमा लिन थालेका छन्। 

१२ हजार वर्ष अघिबाट कुकुरलाई घरपालुवा जनावरको रूपमा पाल्न थालिएको भेटिन्छ। यसरी घरको रक्षक र मानिसको निकट साथीका लिइने कुकुर पछिल्लो समय अपराध अनुसन्धान गर्ने प्रहरीका लागि असाध्यै नजिकको सहयोगी बनेको छ। नेपाल प्रहरीले अपराध अनुसन्धान, हातहतियार तथा विस्फोटक पदार्थ खोजी एवं पहिचान, लागू औषध खोजी एवं पहिचान र प्राकृतिक विपद्को समयमा गरिने खोजी तथा उद्धारको काममा कुकुरको प्रयोग गर्दै आइरहेको छ।

२०८० मंसिर २७ गते कतार एयरवेजको विमानमा कार्गोका रूपमा आएको सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदाममा राखिएको थियो। त्यो सामान साउन्ड बक्सको रूपमा भित्रिएको थियो। त्यो सामानबारे शंका लागेपछि लागू औषधबारे अनुसन्धान गर्दै आएका नेपाल प्रहरीका दुई कुकुर, गोल्डेन रिट्रिभर जातको एनी र जर्मन शेफर्ड जातको डेनीलाई सर्च गराउन लगाइयो। नभन्दै सर्च गर्दा ती कुकुरले त्यहाँ लागू औषध भएको संकेत गरे। त्यसपछि बक्स खोलेर हेर्दा त्यहाँबाट प्रहरीले ५५ किलोग्राम गाँजा बरामद गरेको थियो। 

२०८० चैत ४ गते विमानस्थलस्थित कार्गो कम्प्लेक्सको आयाततर्फको गोदाममा एउटा वासिङ मेसिन राखिएको थियो। त्यो मेसिन जाँच गर्दा फल्स बटन बनाएर तयार पारिएको भेटियो। त्यसभित्र लागू औषध हुन सक्ने शंका लागेर एनी र डेनीलाई सर्च गर्न लगाइयो। उनीहरूले लागू औषध रहेको संकेत गरेपछि प्रहरीले खोलेर हेर्‍यो। त्यसमा २० किलोग्राम गाँजा रहेछ। 

नेपाल प्रहरीको केनाइन कार्यालय प्रमुख, डीआईजी डा. देउती गुरुङ देशका विभिन्न ठाउँमा हुने गम्भीर अपराध र लागू औषध ओसारपसार लगायतका घटना अनुसन्धानका लागि केन्द्रदेखि प्रदेश कार्यालय र विभिन्न शाखामा रहेका कुकुर परिचालन भइरहेको बताउँछिन्। “कुकुरको मद्दतबाट कतिपय सुल्झिन नसकेका घटनामा पनि अनुसन्धान सफल भएका छन्। उद्धार तथा खोज लगायतका अन्य काममा पनि कुकुर सहयोगी बन्दै गएको छ,” उनले भनिन्, “त्यसैअनुसार केनाइन कार्यालयले आवश्यकताअनुसार कुकुरलाई तालिम दिने लगायतका काम गर्दै आएको छ।”

प्रहरीमा २०२६ सालदेखि अपराध अनुसन्धानमा सहयोगीका रूपमा कुकुरको प्रयोग हुँदै आएको छ। ५५ वर्षअघि मलेसियामा तालिम गर्न गएका पाँच जना प्रहरीले मलेसियन सरकारको सहयोगमा दुईवटा तालिमप्राप्त कुकुर ल्याएका थिए। नेपालमै थप दुई कुकुर किनेर चारवटा कुकुरबाट सेवा शुरूआत भएको गुरुङ बताउँछिन्।

केनाइन कार्यालयले कुकुरलाई नियमित तालिम दिने, बिरामी परेमा औषधोपचार गर्ने, उनीहरूको खानपान र अन्य कुरा हेर्ने काम गर्छ। तालिम दिने र अपराध अनुसन्धानका खटाउने क्रममा  ह्यान्डरसमेत साथमा हुन्छन्। “ह्यान्डरलाई पनि तालिम दिइएको हुन्छ, उनीहरूले नै कुकुरलाई तालिमप्राप्त बनाएर अनुसन्धानमा खटाउने गर्छन्,” गुरुङले भनिन्, “ह्यान्डरकै निर्देशनमा कुकुरले काम गर्छ।”

२०७८ सालमा प्रहरीले केनाइन कार्यालय नै स्थापना गरेर यो सेवा दिइरहेको छ। त्यहाँ दरबन्दी तथा काजसहित १६३ प्रहरी कार्यरत छन्। यो कार्यालयमार्फत् विभिन्न चार विषयका करिब १०० प्रहरी कुकुरले १२ स्थानबाट सेवा दिइरहेका छन्। कार्यालयले दुई महिनादेखि ६ महिनाभित्रको कुकुरलाई ल्याएर तालिम दिने गर्छ। 

नेपाल प्रहरीमा लागू औषध खोजी तथा अनुसन्धानका लागि ३१, उद्धारमा १३, ट्रयाकरमा १७, विस्फोटक पदार्थमा ३९ गरेर १०० कुकुर छन्। विभिन्न ६ प्रजातिका यी कुकुरमा ल्याब्राडोर १८, जर्मन शेफर्ड ३६, बेल्जियन शेफर्ड २६, गोल्डेन रिट्रिभर १६, कोकर स्पानियल १ र बिगल ३ वटा छन्।

नेपाल प्रहरी केनाइन कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमान सुरक्षा कार्यालय, क्षेत्रीय विमानस्थल विराटनगर, क्षेत्रीय विमानस्थल जनकपुर, मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा प्रहरी कुकुरले सेवा दिइरहेका छन्।


सम्बन्धित सामग्री