काठमाडौँ– वातावरणविद्हरूले उज्यालोको पर्वका रूपमा रहेको तिहार (दीपावली)मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन्।
उनीहरूले पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थजस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनो अक्साइड तथा धुलोका कण वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन्।
वातावरणविद् भूषण तुलाधरले पटका जस्ता विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताए। “दीपावलीमा धेरैजसो बालबालिका पटका पट्काउन संलग्न हुने गर्छन्, पटकाका नजिक उनीहरू बस्छन्। यसले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ”, उनले भने, “पटका पट्काउँदा आउने ठूलो आवाजले जनावरमा तनाव पैदा गर्नाका साथै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि असर पुर्याउन सक्छ।”
जलवायु परिवर्तनविद् मञ्जित ढकालले पटका पट्काउँदा निस्कने आवाजले ध्वनि र धुवाँले वायु प्रदूषण बढ्ने भएकाले बढी सतर्कता अपनाउनाका साथै सरोकार भएका निकायले पटका पट्काउन नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
“पछिल्लो समय नेपालमा पटका पट्काउने दर केही कम भएको छ। दीपावलीमा भारतमा बढी पटका पट्काउँदा वायु प्रदूषण हुने भन्दै भारत सरकारले नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै आएको छ”, उनले भने, “प्रदूषण रोक्नका लागि पटका पट्काउन पनि नियन्त्रण गर्न आवश्यक छ।”
जलवायु परिवर्तनविद् ढकालले पटकामा हानिकारक रसायनहरू हुने भएकाले माटो र पानी प्रदूषित बनाउने, वातावरणको सन्तुलन बिगार्ने भन्दै पर्यावरणमैत्री दियो बालेर शान्त रूपमा पर्व मनाउन सकिने बताए।
पटकाबाट निस्कने विषाक्त धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, कलेजो, फोक्सो, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या हुनसक्ने भन्दै सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरूले आग्रह गरेका छन्।
पट्का पट्काउँदा निस्कने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने, उच्च रक्तचापको जोखिम बढाउने, कानमा स्थायी क्षति पुर्याउन सक्ने भएका सावधानी अपनाउन जनस्वास्थ्यविद्हरूले आग्रह गरेका हुन्।
‘एयर क्वालिटी इन्डेक्स’ले भारतको दिल्लीमा दीपावलीको कारण प्रदूषण बढेको जनाएको छ। बिहीबार दिउँसोसम्मको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १८४ रहेको छ। अहिले दिल्ली विश्वको तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत छ।
भन्सार विभागका प्रवक्ता मुक्तिप्रसाद श्रेष्ठले नेपाल–भारत खुला सिमाना रहेकाले भन्सार छलेर गैरकानूनी रूपमा पटका नेपालमा ल्याउने गरिएको बताए। चाडपर्वमा भारततर्फबाट सामान किनमेल गर्ने बढी हुने भएकाले पनि सिमाना गैरकानूनी रूपमा पटका नेपालमा भित्रिने गरेको उनको भनाइ छ।
मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विस्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था गरेको छ। उक्त व्यवस्थामा भनिएको छ, “कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमका विस्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।”
विस्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ को उपदफा २ को (क) मा कडा विस्फोटक पदार्थ भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरिएको छ। सोही उपदफाको (ख) मा नरम विस्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म र (ग) मा सामान्य विस्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था गरिएको छ।