Tuesday, December 03, 2024

-->

सहकारी प्रकरणः धनराज गुरुङका बैंक खाता खोतल्दै सीआईबी

प्रहरीले सहकारी प्रकरणमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई अनुसन्धानको दायरामा तान्न उनका बैंक खाताको विवरण खोतल्न शुरू गरेको छ।

सहकारी प्रकरणः धनराज गुरुङका बैंक खाता खोतल्दै सीआईबी

काठमाडौँ– प्रहरीले सहकारीका बचतकर्ताको रकम अनियमितता प्रकरणमा नाम मुछिएका सत्तारुढ नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङलाई अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया अघि बढाएको छ। त्यसका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङका बैंक खाताहरूको अध्ययन गरिरहेको छ।

सहकारी प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि कांग्रेस उपसभापति गुरुङमाथि भने अनुसन्धान नभएको भन्दै विपक्षी दलहरूले विरोध गरिरहेका छन्। लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन्। गुरुङको नाम ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अनियमितता प्रकरणमा मुछिएको छ। सीआईबीले गुरुङका २०७५ देखिकै बैंकिङ विवरण माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।

“गुरुङलगायत अन्य सबैको बैंक, वित्तीय संस्थामा भएको कारोबार लगायतको सबै विवरण मागेका छौँ। बलजफ्ती कसैलाई अनुसन्धानको दायरामा ल्याउने कुरा भएन। अनुसन्धानको दायरामा ल्याउन तथ्यगत प्रमाण चाहिन्छ,” सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले उकालोसँग भने, “कुनै पनि मुद्दाको अनुसन्धानका क्रममा तथ्य र प्रमाण भेटिए जो कोही पनि अनुसन्धानको दायरामा आइहाल्छ। कसैले भनेकै भरमा कोही अनुसन्धानको दायरामा आउँदैन।”

सीआईबीका अर्का एक अधिकृतले सहकारीको रकम अपचलन गरेको विषय बैंकिङ स्टेटमेन्ट वा अन्य कुनै कागजबाट देखिएमा गुरुङ स्वतः अनुसन्धानको दायरामा आउने बताए। “श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नुभन्दा अगाडि श्रीमतीले गरेको अनियमितताको जवाफदेही हुने वा नहुने विषयमा पनि केही न केही प्रमाण चाहिन्छ। श्रीमतीले अपचलन गरेको रकम लिएर श्रीमान‍्ले पनि कुनै कारोबार गरेको, सम्पत्ति जोडेको वा अन्यत्र कतै लगानी गरेको पुष्टि भए उहाँ (धनराज गुरुङ) पनि जवाफदेही हुनुपर्छ नै,” ती अधिकृतले भने, “तथ्य र प्रमाणले पुष्टि नगरेसम्म अहिले यही नै हो भन्न सकिन्न।”

गुरुङमाथि अनुसन्धान नभएको भन्दै विपक्षी दलहरू, खासगरी नेकपा माओवादी केन्द्र र रास्वपाका नेताहरूले विरोध गरिरहेका बेला गृहमन्त्री रमेश लेखकले पनि गुरुङका विषयमा गहन अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका छन्। मंगलबार मात्रै सीआईबीले गुरुङ मुछिएको सहकारीका विषयमा अहिलेसम्म भएको अनुसन्धानबारे गृहमन्त्रीलाई बिफ्रिङ गरेको गृहमन्त्रीनिकट स्रोतले बतायो।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा गुरुङलाई अनुसन्धानको दायरामा नल्याइएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए। जवाफमा बैठकमा उपस्थित गृहमन्त्री लेखकले कसैको मुख हेरेर नभई तथ्य र प्रमाण हेरेर अनुसन्धान हुने बताएका थिए। पोखरामा बुधबार पत्रकारहरूसँग गृहमन्त्रीले भने, “धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ। यदि तथ्य र प्रमाणले उहाँले गैरकानूनी काम गरेको देखिएमा उहाँमाथि कारबाही हुन्छ।”

गुरुङले मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट आफूले लिएको ९१ लाख २५ हजार ६४४ रूपैयाँ तिरिसकेको देखिन्छ। त्यो रकम भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट लिएको उनी आफैले स्वीकार गरेका छन्। मिनबहादुरबाट रकम लिएर ऋण तिरेको सार्वजनिक भएपछि गुरुङले त्यो रकम ऋण सापटी लिएको बताएका थिए।

सहकारी ठगी प्रकरणमा गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ अहिले फरार छिन्। उनीविरूद्व ‘रेड कर्नर नोटिस’ जारी भएको छ। सीआईबीका अनुसन्धान अधिकृतका अनुसार अध्यागमन विभागबाट प्राप्त विवरण (ट्राभल हिस्ट्री)ले उनी अमेरिका गएको देखाएको छ। 

धनराज जोडिएको सहकारी प्रकरण
ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत रकम अनियमितताका विषयमा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा परेको उजुरीमा नाम उल्लेख भएपछि कांग्रेस उपसभापति गुरुङ सहकारी प्रकरणमा पहिलोपटक उजागर भएको थियो। संस्थाले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा संलग्न रहेको भन्दै ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापासँगै धनराजको नामसमेत उल्लेख गरेर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएको थियो।

यो पनि: स्वघोषित सच्चरित्रवान धनराज

त्यो सहकारीमा भएको अनियमितताको अनुसन्धानका लागि प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सीआईबीलाई पठाएको पत्रमा भने धनराजको नाम हटाइएको छ। पत्रमा धनराजकी पूर्वश्रीमती ज्योति संस्थाको महाप्रबन्धक हुँदा हालसम्मको ब्याजसमेत गणना गर्दा १४ करोड भन्दा बढी रकम हिनामिना भएको उल्लेख छ।

यही बीचमा देशभरका सहकारीमा भएको अनियमितता लगायतका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले पनि सहकारी प्रकरण छानबिन गरिरहेको थियो। मितेरी सहकारीका विषयमा पनि समितिमा उजुरी परेपछि गत भदौ ६ गते समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई बोलाएर सोधपुछ गरेको थियो। त्यसपछि धनराज गुरुङको नाम सहकारी प्रकरणमा चर्चामा छ।

सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले पनि मितेरी सहकारीमा भएको रकम हिनामिनाबारे अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ। “सहकारी संस्थाका तर्फबाट ज्योति गुरुङ र धनराज गुरुङसमेतको नाममा प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौँडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानूनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ,” समितिको प्रतिवेदनमा उल्लेख छ।

बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरूले खोलेको उक्त सहकारीमा स्थापनाकालदेखि नै लेखापाल भएर काम शुरू गरेकी ज्योतिले २०७५ सालदेखि रकम अपचलन गर्न थालेको संस्थाका अध्यक्ष कुम्भराज गुरुङले यसअघि नै उकालोलाई बताएका थिए। २०७० सालमा सहकारीको कोषाध्यक्ष बनेकी उनी २०७५ सालमा महाप्रबन्धक थिइन्। सोही पदमा रहँदा नै उनले रकम हिनामिना गरेको अध्यक्ष गुरुङको दाबी छ।

रकम हिनामिना भएपछि संस्थाले सञ्चालक समितिका सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर डेढ वर्षअघि नै आन्तरिक छानबिन गरेको थियो। समितिले २०७९ फागुनमा सञ्चालक समितिलाई बुझाएको प्रतिवेदनमा १३८ बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ हिनामिना गरिएको उल्लेख छ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार संस्थाको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा १२ करोड ४४ लाख रुपैयाँ बचत अपचलन भएको देखिएको छ। यो रकमको ब्याजसमेत जोड्दा हुन आउने १४ करोड ८१ लाख बराबरको रकम सम्बन्धमा आवश्यक छानबिन गरी प्रचलित कानूनबमोजिम कारबाही अगाडि बढाउन समितिले निर्देशन दिएको प्रतिवेदनमा उल्लेख छ। 
 


सम्बन्धित सामग्री