बाँके– नेपालगन्ज उपमहानगरपालिका–२० निवासी विन्दु चर्तिमगरले व्यावसायिक फूलखेती थालेको ६ वर्ष भयो। अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ।
जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको संख्या ६ जनाभन्दा बढी भएका छन्। उनीहरू व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बनेका छन्। मौसमीबाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठी लगायतमा फूलको प्रयोग बढेपछि माग बढेको चर्तिमगर बताउँछन्।
“फूलसँग खेल्ने मेरो सानैदेखिको सोख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो,” उनले भने, “यो व्यवसाय थाल्दा गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले शुरू गरेँ, आम्दानी सन्तोषजनक छ।”
चर्तिमगरले पाँच वर्षअघि १० कट्ठाबाट शुरू गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ। सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको उनी बताउँछन्।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उनको भनाइ छ। ल्याउँदा पनि फूल तथा मालामा अनिवार्य क्वारेन्टिन गरिनुपर्ने उनको माग छ।
खजुरा गाउँपालिका–३ निवासी अरुणा गुरुङले वार्षिक १० देखि १२ क्विन्टलसम्म सयपत्री फूल उत्पादन गर्दै आएकी छन्। सयपत्री फूलखेतीबाट वार्षिक पाँच लाख रुपैयाँ बढी मुनाफा लिने गरेको उनले बताइन्।
कोहलपुर नगरपालिका–३ निवासी विष्णु चौधरी र वडा नं १३ निवासी कर्णबहादुर थापाले पनि व्यावसायिक फूलखेती गरेका छन्। विष्णुले फूल खेतीबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी लिने गरेको बताए। शुरूका वर्षमा रहरले फूलखेती गरे पनि हाल आम्दानीको मुख्य स्रोत बनेको उनको भनाइ छ।
सात कट्ठा जमिनमा गरेको फूलखेतीले चौधरीको आर्थिकस्तर उकासेको छ। उनले प्रतिकिलो पाँच सय रुपैयाँका दरले फूल र माला प्रतिगोटा १२० रुपैयाँ मूल्य निर्धारण गरेका छन्।
जानकी गाउँपालिका–३ इन्द्रपुरको कर्मोनाह निवासी हसिम बागवानले पनि विगत तीन वर्षदेखि एक कट्ठामा फूलखेती गरेर एक क्विन्टल फूल उत्पादन गर्दै आएका छन्।
अधिकांश फूलबारीबाटै बिक्री हुने गरेको उनको भनाइ छ। फूल व्यवसायमा लागेका किसानलाई कोहलपुर नगरपालिकाले सिँचाइ र बीउविजनमा सहयोग गरे पनि अन्य स्थानीय तहले फूल व्यवसाय प्रवर्द्धनका लागि सहयोग नगरेको व्यवसायीको गुनासो छ।