Thursday, January 23, 2025

-->

काठमाडौँ महानगरको ‘फेस्टिभ क्याम्प’: विद्यार्थीलाई प्रयोगात्मक अभ्यास मेला

अधिकांश सामुदायिक विद्यालय दशैँ र तिहारबीच बिदा हुने भएपछि त्यो समयलाई सदुपयोग गर्न काठमाडौँ महानगरपालिकाले कक्षा १० का विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास ‘क्याम्प’ चलाएको छ।

काठमाडौँ महानगरको ‘फेस्टिभ क्याम्प’ विद्यार्थीलाई प्रयोगात्मक अभ्यास मेला

काठमाडौँ– मध्यबानेश्वरस्थित रत्नराज्य माविमा कक्षा १० मा अध्ययनरत गणेशबहादुर बस्नेतले कागजबाट तीन आयाम भएको घन बनाउन व्यस्त थिए। औपचारिक कक्षाभन्दा बाहिर गरिएको यस्तो अभ्यास उनका लागि नौलो थियो।

अर्को दिन शिक्षकले उनीसहित साथीहरूलाई सिरिन्जको सहयोगमा ‘हाइड्रोलिक प्रेसर’को ज्ञान दिए। उनीहरूलाई त्यस्तो उपकरण बनाउन पनि सिकाए। पाठ्यक्रममा पढिएका कुरा व्यावहारिक रूपमा सिक्दा परीक्षामा लेख्न सहज हुने गणेश बताउँछन्।

यस्तो अभ्यास रत्नराज्य माविका विद्यार्थीले मात्र गर्न पाएका छैनन्। गुह्येश्वरी माविमा कक्षा १० की छात्रा वन्दना रजक संलग्न समूहले गरेको अभ्यास अझ पृथक थियो। उनी भन्छिन्, “हामीलाई गुलेली, कागज र रूलर दिएर गुलेलीको तान्ने दूरी र कागजको उड्ने दूरी बीचको सम्बन्ध पत्ता लगाउन भनियो। यसबाट डिपेन्डेन्ट र इन्डिपेन्डेन्ट भेरिएबलबारे व्यवहारिक ज्ञान भयो। यो निकै राम्रो अनुभव रह्यो!”

त्यही विद्यालयका केही विद्यार्थी भने माटो प्रयोग गरेर चार्ट पेपरमा कोष विभाजनको प्रक्रिया बनाइरहेका थिए। उक्त कक्षामा निर्देशिकाका रूपमा संलग्न  शिक्षक स्वस्तिका सापकोटा भन्छिन्, “विद्यार्थीहरूमा व्यवहारिक ज्ञान थिएन र अस्पष्ट थिए। यस्तो अभ्यासबाट उनीहरूलाई विषयप्रति स्पष्टता प्राप्त भएको छ।”

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका १६ वटा सामुदायिक विद्यालयलाई केन्द्र तोकेर कक्षा १० का विद्यार्थीका लागि ‘फेस्टिभ क्याम्प’ सञ्चालन गरिरहेको छ। कात्तिक ४ देखि शुरू भएको १० दिने क्याम्प १३ गतेसम्म सञ्चालन हुनेछ। विद्यार्थीहरूको नतिजा सुधारका लागि यो कार्यक्रम गरिएको महानगरको शहरी योजना आयोगका सदस्य ईन्जिनियर शैलेन्द्र झाले जानकारी दिए।

यो कार्यक्रमका लागि काठमाडौँ महानगरका स्रोत समन्वयकर्ता प्रत्येक केन्द्रमा खटिएका छन्। फेस्टिभ क्याम्प बिहान ९ः३० देखि साँझ ४ बजेसम्म हुन्छ। यसमा विद्यार्थीहरू खेलकुद, परियोजनामा आधारित अध्ययन (सामाजिक, गणित, विज्ञान), रचनात्मक विज्ञान परियोजना, कला, मानसिक स्वास्थ्य सत्र, कथा सुनाउने सत्र लगायत गतिविधिमा सहभागी भइरहेका छन्। 

काठमाडौँ महानगर शहरी योजना आयोग सदस्य झा विद्यार्थीले राम्रो नतिजा न्याउनुको पछाडि आधारभूत ज्ञानको कमी वा विषयप्रतिको मेहनत गर्ने प्रेरणाको अभाव हुनसक्ने बताउँछन्। उनी भन्छन्, “यदि, विद्यार्थीको राम्रो शैक्षिक प्रदर्शन नभए उसलाई पढ्न दबाब दिनुभन्दा सिकाइका लागि उचित वातावरण सिर्जना गर्नुपर्ने हुन्छ। महानगरले त्यही वातावरण सिर्जना गरेको हो।”

यो कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको उनले जानकारी दिए। चाडपर्वमा हुने लामो छुट्टीको उपयोग गरेर कक्षाकोठाभन्दा बाहिरका सीपहरू सिक्न कार्यक्रम गरिएको पनि उनले बताए। 

यस क्याम्पमा केही विद्यार्थीहरूले सिकाइका विषयलाई लिएर केही गुनासो पनि गरेका छन्। दरबार हाइस्कुलका विद्यार्थी गणेशले मेरुदण्ड भएका र नभएका जनावरको वर्गीकरण आफूहरूले पहिला नै गरे पनि फेरि सिकाइएको बताए। बरु आफूहरूलाई रोबोटिक्ससँग सम्बन्धित विषय सिक्न मन लागेको उनको भनाइ छ। 

काठमाडौँ महानगर शहरी योजना आयोग सदस्य झा भने विद्यार्थीहरूको रचनात्मकता र आलोचनात्मक सोचका साथै सञ्चार र सहकार्यजस्ता क्षमता विकास गर्न एकीकृत कार्यक्रम गरिएको बताउँछन्। “पहिलो पटक आयोजना भएकाले कार्यक्रममा सबै कुरा राम्रो नहुन सक्छ, केही त्रुटिहरू हुन सक्छन्। अर्को पटक कमीकमजोरी सुधारिँदै जानेछ,” उनी भन्छन्, “कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्न महानगरपालिकाले काठमाडौँ विश्वविद्यालयका शिक्षकहरूको नेतृत्वमा अनुगमन तथा मूल्यांकन टोली बनाएको छ।”

फेस्टिभ क्याम्पमा विभिन्न खेलका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बोलाएर प्रशिक्षण पनि दिइएको छ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल ‘ए’ टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल बाफलमा रहेको ज्ञानोदय मावि केन्द्र र डल्लुस्थित गीतामाता विद्यालय केन्द्र गएर विद्यार्थीलाई क्रिकेटबारे जानकारी दिएका थिए। गीतामातामा उनीसँगै राष्ट्रिय क्रिकेट टिमकी कप्तान इन्दु वर्मा पनि गएकी थिइन्। 
क्याम्पमा क्रिकेटबाहेक भलिबल, कराँते, फुटबल, टेबुल टेनिस, बास्केटबललगायत खेल खेलाइएको छ। यी खेलका पनि राष्ट्रिय खेलाडी र प्रशिक्षकले प्रशिक्षण दिएका थिए।

त्यस्तै, चर्चित कलाकार पनि क्याम्पमा सहभागी भएका छन्। पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा चलचित्र निर्माता तथा अभिनेता दिपकराज गिरीले कोटेश्वरस्थित सरस्वती माविमा र गायक वाङ्देन शेर्पाले बाफलस्थित ज्ञानोदय माविको क्याम्पमा सहभागिता जनाएका थिए। उनीहरूले विद्यार्थीलाई आफ्नो सफलताको कथा सुनाएका थिए। 

शिक्षाविद् विद्यानाथ कोइराला काठमाडौँ महानगरले गरेको फेस्टिभल क्याम्प प्रशंसनीय भएको बताउँछन्। “यो निकै राम्रो पहल हो। आजको संसारले परम्परागत किताबी शिक्षण पद्धतिभन्दा खुला–शिक्षण वातावरण र प्रविधिलाई प्राथमिकता दिन्छ। यस्तो परियोजना विद्यार्थीहरूका लागि निकै लाभदायक हुन्छ,” उनी भन्छन्।

कक्षाकोठामा मात्रै सीमित नभएर स्वतन्त्र वातावरणमा विविध क्रियाकलाप गराउँदा विद्यार्थीको ज्ञानको दायरा फराकिलो हुने कोइरालाको भनाइ छ। महानगरले यस्तो कार्यक्रमलाई हिउँदे बिदामा पनि निरन्तरता दिन सकिने जनाएको छ।


सम्बन्धित सामग्री