गण्डकी– देशका अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ। उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो।
बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पालाई समेटेर नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा २०७२ सालमा पदमार्ग घोषणा गरिएको थियो। २०७३ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए।
ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन विकासको प्रचुर सम्भावना बोकेको भए पनि प्रचार–प्रसार र प्रवर्द्धन नहुँदा उक्त पदमार्ग ओझेलमा परेको बताए। “पुराना र चल्तीका पदमार्ग नासिँदै गएको स्थितिमा गुरिल्ला ट्रेक वैकल्पिक पदमार्गका रूपमा विकास गर्नु जरुरी छ,” उनले भने, “यो ट्रेक गण्डकी र लुम्बिनी प्रदेशको पर्यटन विकासमा कोशेढुंगा बन्न सक्छ।”
देशको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रलाई जोडेर यस क्षेत्रको प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा चिनाउनुपर्नेमा अध्यक्ष आचार्यले जोड दिए। टानसहित पर्यटन सम्बद्ध संघसंस्थाले शुरूमा केही प्रवर्द्धनात्मक काम गरे पनि अहिले पर्यटकीय गतिविधि यस क्षेत्रमा हुन सकेका छैनन्। “लामो दूरी भएकाले यो ट्रेक खर्चिलो पनि छ, व्यवस्थित पूर्वाधारलगायत पर्यटकलाई चाहिने सेवासुविधा नहुँदा हामीले पर्यटक पठाउन सक्ने अवस्था छैन,” उनले भने।
पर्यटक पथप्रदर्शक दिवस गुरुङले प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथितिलगायत पदमार्गका विशेषता रहेका बताए। “गुरिल्ला ट्रेकको ‘ब्रान्डिङ’ गरी पूर्वाधार निर्माणमा जोड दिनुपर्छ,” उनले भने, “नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला यो पदमार्गबाट नेपालको पर्यटन क्षेत्रमा लाभ लिन सक्छ।”
पथप्रदर्शक गुरुङले गत वर्ष ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गरेको बताए। “अरूमा भन्दा बेग्लै अनुभव यस पदमार्गमा गरेको थिएँ। पूर्वाधार विकास गरी सुविधासम्पन्न बनाउन सके उक्त पदमार्ग पर्यटन विकासमा सहयोगी हुने विश्वास लिएको छु,” उनले भने। उनका अनुसार छोटो, मध्यम र लामो दूरीबाट गुरिल्ला ट्रेकमा यात्रा गर्न सकिन्छ।
सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुंगिन्छ। करिब १९ दिनमा गर्न सकिने मध्यम दूरीको पदयात्रा बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ। मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिन्छ। सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमसमेत समेट्छ।
पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको थियो। बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो पदमार्गको प्रमुख आकर्षण हो। “अरू पदमार्गको भन्दा बेग्लै अनुभवका लागि पर्यटकले गुरिल्ला ट्रेक रोज्न सक्छन्, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो,” गुरुङले भने।
अग्ला पहाड, भीरपाखा, खोला र खोँच हुँदै हिँड्नुपर्ने भएकाले गुरिल्ला पदयात्रामा निस्किदा सोही किसिमको बन्दोबस्त मिलाउनुपर्छ। विगतमा युद्धबाट गुज्रेका ग्रामीण बस्ती, त्यहाँको जनजीवन र संस्कृतिको अनुभव दिलाउन आन्तरिक तथा बाह्य पर्यटकलाई ‘गुरिल्ला ट्रेक’मा आकर्षित गर्न सकिने उनको भनाइ छ। मगर जातिको सघन बसोबास रहेकाले तिनको भाषा, संस्कृतिको खोज तथा अनुसन्धान गर्ने थलोका रूपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिन्छ।