Friday, January 24, 2025

-->

भान्सामा बाढीको असर, यसकारण आकासियो गोलभेडाको भाउ

गत महिनाको बाढी र डुबानले बालीमा क्षति पुर्‍याउनु, यो वर्ष टनेल उत्पादन कम हुनु र भारतमै गोलभेडा उत्पादन घटेपछि आयात घट्दा बजारमा गोलभेडाको मूल्य आकासिएको छ।

भान्सामा बाढीको असर यसकारण आकासियो गोलभेडाको भाउ

काठमाडाैँ– बजारमा गोलभेडाको भाउ अचाक्ली बढेको विषय अहिले घर–घरमा मात्र होइन, सामाजिक सञ्जालमा समेत चर्चामा छ। हुन पनि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिबाट प्राप्त आँकडाअनुसार पछिल्लो एक महिनायता मात्र गोलभेडाको मूल्य थोकमै साढे दुई सय प्रतिशतले बढेको छ। नेपाली बजारमा बिक्री हुने ठूलो गोलभेडा (भारतीय), सानो (लोकल) र टनेलमा फलाइने गरी सबै किसीमको गोलभेडाको मूल्य आकासिएको छ।

मागअनुसार आपूर्ति हुन नसक्दा एक महिनायता गोलभेडाको मूल्य बढेको व्यवसायी बताउँछन्। मुलुककै ठूलो कालिमाटी फलफूल तथा तरकारी बजारले संघीय राजधानीकै ७० प्रतिशत माग धान्छ। उक्त माग धान्न कालिमाटी बजारमा दैनिक ६० टनसम्म गोलभेडा भित्रिनुपर्ने थियो। हाल दैनिक २० देखि २२ टनसम्म मात्र गोलभेडा आइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

यो सिजनमा काठमाडौँ उपत्यकाभित्र र आसपासका जिल्लाबाट बढी गोलभेडा आउनुपर्ने भए पनि उत्पादन नभएको किसानहरूले बताउनेगरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।

“बारीमा सीमित उत्पादन छ, अघिल्लो महिनाको वर्षाले गर्दा प्रभावित पनि भयो, अर्कोतर्फ यो भनेको उत्पादन सकिने बेला भएको हुँदा तराईको गोलभेडा आएको छैन जसले गर्दा गोलभेडाको अभाव भयो र मूल्य बढ्यो,” श्रेष्ठले भने।

असोज दोस्रो साताको बाढी र डुबानले गोलभेडा खेतीमा पनि असर पुर्‍याउँदा यसको मूल्यमा प्रत्यक्ष असर पारेको छ।  कालिमाटीको मूल्यसूचिअनुसार असोज ७ गते थोकमा सानो लोकल गोलभेडाको मूल्य प्रतिकेजी ३५ रुपैयाँ रहेकोमा कात्तिक ९ गते शुक्रबार १२० रुपैयाँ पुगेको छ। यस्तै, सोही समयमा ८५ रुपैयाँ रहेको भारतीय गोलभेडा अहिले थोकमै १२५ रुपैयाँ छ। टनेलमा लगाइएको सानो गोलभेडाको मूल्य पनि त्यतिबेला किलोमा ४७ रुपैयाँ रहेकोमा अहिले १३० रुपैयाँ पुगेको कालिमाटीको दैनिक मूल्यसूचिमा उल्लेख छ। थोकमा यो भए पनि खुद्रा पसलबाट उपभोक्ताले २०० रुपैयाँभन्दा बढी तिर्नुपरेको छ।

सामान्य अवस्थामा भन्दा अहिले आपूर्ति ७० प्रतिशतसम्म कम भएको आफूहरूको अनुमान रहेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका पूर्वअध्यक्ष खुमप्रसाद घिमिरे बताउँछन्। घिमिरेका अनुसार, गत महिना आएको बाढीले किसानको उत्पादनमा असर पुर्‍याउँदा पनि आपूर्ति घटेको छ। बाढीले सडक संरचना नै क्षतविक्षत बनाउँदा ढुवानीमा आएको समस्या यसमा थपिएको छ।

अर्कोतर्फ टनेल गोलभेडाको सिजन भए पनि गत वर्षहरूमा भन्दा यो वर्ष उत्पादन नै कम छ। उत्पादन किन कम भयो भन्ने चाहिँ प्रष्ट छैन। ‘अफ सिजन’ भएको हुँदा तराईंका जिल्लाहरूबाट पनि निकै कम मात्रामा आएको छ।

“भारतबाट धेरै आउने ठूलो साइजको गोलभेडा यहाँ सलादको रूपमा बढी प्रयोग हुन्छ। अचार, तरकारीको लागि लोकल गोलभेडाकै माग हुन्छ। उता (भारतमा) पनि उत्पादन कम भएको हुँदा ठूलो परिमाणमा आएको छैन। यी सबै कारणले गर्दा माग अनुसारको आपूर्ति भएन जसले भाउ अस्वाभाविक बढेको छ,” घिमिरेले भने। अहिले माग बढी हुँदा किसानले नै बारीमै केजीको १३० रुपैयाँसम्म पाएको घिमिरे बताउँछन्।

भारतमा पनि पछिल्लो समय बेमौसमी वर्षा र विभिन्न भाइरसले बालीमा क्षति पुर्‍याउँदा गोलभेडाको आप‍ूर्ति कम भएको र मूल्य उल्लेखनीय बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चाडबाडको समयमा गोलभेडाको खपत झन् बढ्ने तर आपूर्ति खुम्चिएकाले मूल्य अझै बढ्नसक्ने देखिन्छ।


सम्बन्धित सामग्री