काठमाडौँ– नेपालबाट भारततर्फ सिमेन्ट, गोल्डस्टार जुत्ता, जिंक अक्साइड, प्लाइउडलगायत वस्तु निर्यात हुने गरेको थियो। तर यी वस्तु निर्यातमा भारतले अनौपचारिक रूपमा अवरोध खडा गरिरहेको छ। कतिपय सामग्रीको निर्यात रोकिएको तीन महिनाभन्दा बढी भइसकेको छ। नेपालबाट हुने निर्यात अवरोध गर्नुको एउटै कारण हो, भारतबाट आउने दुग्ध पदार्थमा नेपालले लगाएको बन्देज।
नेपालले २०८० फागुन ३ गतेदेखि दुग्धपदार्थ आयातमा रोक लगाएको थियो। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र अन्य डेरी उद्योगहरूमा समेत ठूलो परिमाणमा धुलो दूध, दुग्धजन्य पदार्थ मौज्दात रहेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस्ता पदार्थ आयातमा पूर्ण बन्देज लगाउने निर्णय गरेको थियो। जस कारण चिल्लो हटाइएको दूध (स्किम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको दूध, हरेक प्रकारको धूलो दूध, नौनी (बटर), घ्यू, छुर्पी र सबै प्रकारका चिज आयात रोकिएको थियो।
नेपालतर्फ यी वस्तुको निर्यात खुलाउन दबाब दिनकै लागि भारतले घुमाउरो बाटोबाट नेपालका सामान आयातमा रोक लगाएको हो। भारतले ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बीआईएस) प्रमाणपत्रको नवीकरण नगरीदिँदा र नयाँलाई प्रमाणपत्र वितरणमा रोक लगाउँदा नेपालबाट निर्यात हुने सामान त्यता जान पाएका छैनन्।
भारतले दुग्धजन्य पदार्थको आयात खोल्न दबाब दिएपछि कोटा प्रणाली अथवा अन्य विकल्पमा जान छलफल भइरहेको उद्योग मन्त्रालय स्रोतले जनाएको छ। “आयातमा लगाइएको प्रतिबन्ध खुलाउन भारतीय दूतावासका अधिकारी कृषि मन्त्रालयसम्म पुगेका छन्। फ्रेन्चाइज होटल, रेस्टुरेन्टहरूमा चाहिने चिजलगायत बस्तु यहाँ उत्पादन नै हुँदैन भन्ने पनि कम्प्लेन आइरहेको छ,” मन्त्रालयका एक अधिकारी भन्छन्, “अर्कोतर्फ यी वस्तु अवैध रूपमा आइरहेको व्यवसायीको गुनासो छ।”
यो पनि: नेपालबाट भारत निर्यात हुने वस्तुमा अवरोध, गुणस्तर प्रमाणपत्र नवीकरण रोकेर ‘बार्गेनिङ’
नेपालमा उत्पादन नहुने र कम उपलब्ध हुने बस्तुको आयात खुलाउने विषयमा कृषि र उद्योग मन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको उनले बताए। “पाउडर दूध हामीसँग बढी भएर समस्या छ, नेपालका कृषकहरूलाई पनि संरक्षण गर्नुपर्यो। हामी विश्व व्यापार संगठनको सदस्य पनि हो, त्यसका केही सीमा छन्। हामीकहाँ उत्पादन नहुने र पहुँच नहुने चिजहरू आंशिक रूपमा खोल्ने विषयमा कुराकानी भइरहेको छ,” ती अधिकारीले भने।
भारतबाट सस्तोमा दूध र दुग्धजन्य पदार्थ आउँदा नेपालमा उत्पादन भएका त्यस्ता बस्तु ठूलो परिमाणमा मौज्दात रहेको भन्दै व्यवसायीले विरोध गरेपछि सरकारले आयातमा रोक लगाउने निर्णय गरेको थियो। यकिन तथ्यांक नभए पनि डीडीसी र निजी क्षेत्रका डेरी उद्योगहरूमा अझै पनि धुलो दूध र बटरको मौज्दात रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा. बालक चौधरी बताउँछन्। “यसअघि दशैँभर डेरी उद्योगहरूमा स्टकमा रहेको धुलो दूध अहिले पनि खपत भइरहेको जानकारी छ। मौज्दातमा रहेको बटर तिहारमा खपत हुने अपेक्षा छ,” चौधरी भन्छन्।
सरकारी निकायको डीडीसी र अन्य डेरी उद्योगहरूबाट ठूलो रकम भुक्तानी हुन बाँकी रहेको बताइए पनि राष्ट्रिय दुग्ध विकास बोर्डसँग भने यसको विवरण छैन। डीडीसीका महाप्रबन्धक सूर्यप्रसाद पौडेलका अनुसार डीडीसीसँग अझै ५०० मेट्रिकटन बटर, ४५० मेट्रिक टन धुलो दूध मौज्दात छ। यस्तै गत जेठसम्मको रकम १ अर्ब १३ करोड किसानलाई भुक्तानी भए पनि त्यसयताको बाँकी छ।
“हामीलाई किसानको मात्र १ वर्षको डेढ अर्ब जति दायित्व थियो। गएको वैशाखसम्मको भुक्तानी भइसकेको छ भने जेठको केही जिल्लामा बाँकी छ” पौडेल भन्छन्। गत असारयताको मात्र मासिक औसतमा कम्तीमा ६० करोड रुपैयाँ डीडीसीले किसानलाई भुक्तानी दिन बाँकी छ।
निजी क्षेत्रको चिन्ता
नेपाल डेरी एसोसिएसनका अनुसार दूधको आन्तरिक उत्पादन मागभन्दा बढी छ। देशभरका निजी डेरी उद्योगहरूमा दुई हजार मेट्रिक टन बटर र १५ सय मेट्रिक टन धुलो दूधको मौज्दात रहेको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल बताउँछन्। आन्तरिक बजारमा नै ठूलो मात्रामा दुग्धजन्य पदार्थको स्टक रहेको हुँदा कुनै पनि बहानामा आयात खुला गर्नु घातक हुने दाहालको भनाइ छ।
“पहिला धुलो दूध बनाउने पावर प्लान्ट दुई वटा थिए, अहिले सात वटा छन्। बदाम मिल्क बनाउने एउटा पनि उद्योग थिएनन्, अहिले १४ वटा पुगे। आफै सस्टेन हुँदाहुँदै बाहिरबाट ल्याउँदा यहाँका किसान र उद्योग नै पलायन हुने अवस्था आउँछ,” उनी भन्छन्।
डेरी एसोसिएसनका अनुसार सकारले आयात बन्दा गरेको जनाइरहे पनि औपचारिक च्यानलबाटै केही दुग्धजन्य पदार्थको आयात भइरहेको छ। मुलुकभित्र उत्पादन नहुने र पिज्जा हन्टलगायत फ्रेन्चाइज रेस्टुरेन्ट र ठूला होटलहरूको आग्रहमा सीमित दुग्धजन्य पदार्थको आयात खुला रहेको कृषि मन्त्रालयको दाबी छ।
भन्सार विभागको तथ्यांकअनुसार गत साउनयता तीन महिनामा मात्र ३२ करोड ३२ लाख मूल्य बराबरको दुग्धजन्य पदार्थ आयात भएको छ। यसमध्ये ठूलो हिस्सा बन्देज नलगाइएको बच्चाको दूध पाउडर आएको छ। बच्चाको दूधको पाउडर मात्र ३० करोड २३ लाख रुपैयाँ बराबरको आयात भएको छ। बाँकी चिज, बटर, पाउडर दूधलगायत आयात भएको भन्सार विभागको तथ्यांक छ।
नेपालले भारतबाट ठूलो परिमाणमा दुग्ध पदार्थ आयात गर्ने भए पनि आन्तरिक उत्पादन बढी हुँदा निर्यात भने गर्दैन। सामान्य अवस्थामा भने दूध, घ्यु, बटरको आयात परिमाण निकै ठूलो छ। गत आर्थिक वर्ष २०८०/८१ मा मात्र २ अर्ब २९ करोड रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ भारतबाट आयात भएको भन्सार विभागको तथ्यांक छ।