Tuesday, December 03, 2024

-->

परोपकार, नैतिक मूल्य–मान्यतासहितको व्यापारिक घराना

धनमा अम्बानी/अडानी अनेकन घरानाले उछिने पनि टाटाले जस्तो इज्जत, मान–सम्मान अरुले पाउन करिब असम्भवै छ। परोपकारी काम र ‘इथिकल’ व्यापारले टाटालाई आमव्यापारीभन्दा फरक कोटीमा राख्छ।

परोपकार नैतिक मूल्य–मान्यतासहितको व्यापारिक घराना

टाटा समूहको ‘मुखिया’ रतन टाटाको निधन (९ अक्टोबर) हुँदा भारत नै शोकमग्न सुनियो। महाराष्ट्र र झारखण्ड राज्यमा त राष्ट्रिय शोक नै घोषणा गरियो। महाराष्ट्रको मुम्बईमा टाटाको प्रधान कार्यालय छ। झारखण्डको जमशेदपुर त ‘टाटा स्टिल’ को स्थापनापछि अंग्रेज शासकले जमशेदजी टाटाकै नाममा राख्दिएको शहर हो, त्यसअघि त्यो ठाउँको नाम साकची थियो। सन् २०२४ मा धनाढ्य अम्बानी परिवारको विलासी वैवाहिक कार्यक्रमले पिटेको भारतीय बजारलाई परोपकारी रतनको प्रस्थानले उछिन्दियो। धनमा अम्बानी/अडानी अनेकन घरानाले उछिने पनि टाटाले जस्तो इज्जत, मान–सम्मान अरुले पाउन करिब असम्भवै छ। परोपकारी काम र ‘इथिकल’ व्यापारले टाटालाई आमव्यापारीभन्दा फरक कोटीमा राख्छ।

जमशेदजी टाटा भारतमा औद्योगीकरणको जनक नै मानिन्छन्। जहाँगिर रतन दादाभाई (जेआरडी) टाटा भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’का साथै फ्रान्सको सर्वोच्च नागरिक सम्मान ‘लिजेन अफ अनर’ बाट सम्मानित थिए। भारतको दोस्रो ठूलो सम्मान ‘पद्मविभूषण’ प्राप्त रतनलाई पनि भारत रत्नद्वारा सम्मानित गर्न केही वर्षअघि सामाजिक सञ्जालमा अभियान चलेपछि रतनले नै विनम्रतापूर्वक त्यस्तो नगरिदिन अनुरोध गरेका थिए।

भारतमा मात्र होइन नेपाल पनि, अनि एउटामात्रै होइन अनेकन पुस्ता धनीको पर्यायवाचीको रूपमा टाटा/बिडला सुन्दै हुर्कियो। रेडियो नै समाचारको एकमात्र स्रोत हुने जमानामा ‘फोर्ब्स’को धनाढ्य सूचीमा सर्वसाधारणको पहुँच थिएन। धनीको पर्यायवाची जस्तै भए पनि टाटा परिवार धनाढ्यको सूचीमा हुँदैन। कारण उनीहरूको मुनाफाको दुईतिहाइ अंश परोपकारी काममा खर्च हुन्छ। टाटा परिवार कुवेर त थियो र छ नै, कर्णजस्तै दानवीर पनि छ।

जमशेदजी टाटाले ‘टाटा सन्स’ स्थापना गरेकै सन् १८६८ मा, त्यसको तीन दशकअघि नै जमशेदजीका बुवा नुस्सरवानजीले पुरेत्याईंको पुर्ख्याैली पेशालाई निरन्तरता नदिई व्यापार थालेका थिए। यसरी डेढ सय वर्षभन्दा लामो इतिहास बोकेको टाटामा मुनाफाको ठूलो हिस्सा परोपकारी काममा खर्च गर्ने परम्परा छ। करिब एक सय कम्पनी होल्ड गर्ने टाटा सन्समै दुईतिहाइ (६६ प्रतिशत) स्वामित्व ‘टाटा ट्रस्ट’को छ, मतलब मुनाफाको ६६ प्रतिशत लाभांश सोझै ट्रस्टमा जान्छ। यसैले मुनाफा कमाउने टाटा सन्सभन्दा परोपकारी काम गर्ने टाटा ट्रस्टको नेतृत्व कसले गर्छ महत्त्वपूर्ण छ। रतनको निधनपछि ट्रस्ट नेतृत्वको घोषणा भइसकेको छ। रतनकै भाइ नोएलले नेतृत्व गर्ने भएका छन्।

टाटाको परोपकारी काममा दिल खोलेर खर्च गर्ने परम्परता उति नै पुरानो छ, जति उनीहरूको व्यापारिक इतिहास। फेरि उनीहरूको परोपकारी काम शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा केन्द्रित हुने गर्छन्, उहिल्यैदेखि। जमशेदजीले सन् १८९६ मै भारतमा विज्ञान र प्रविधिसम्बन्धी विश्वविद्यालय निर्माणार्थ ठूलो धनराशि दिई पहल गरेका थिए। अंग्रेज शासकले अनुमति नदिएका कारण पूरा हुन नपाएको उनको सपना छोरा दोराबजीले १९०९ मा बेंग्लोरमा ‘इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी’ स्थापना गरी पूरा गरे। टाटा परिवार, तत्कालीन अंग्रेज सरकार र त्यतिबेलाको मैसूर राज्यको महाराजाको सहकार्यमा सन् १९०९ मा यो परियोजना पूरा भएको थियो। इन्स्टिच्युट अहिले पनि भारतमा गुणस्तरीय अध्ययन अनुसन्धानमा नामी छ।

दक्षिण अफ्रिकामा जातीय विभेदविरूद्ध लडिरहेका महात्मा गान्धीलाई सर रतनजी टाटा (जमशेदजीका कान्छा छोरा, हालै निधन भएका रतन होइनन्)ले एक लाख २५ हजार (भारु) दिएका थिए। "उदार र परोपकारी भावनाको मामिलामा पारसीहरू संसारैभरि चिरपरिचित छन्, त्यो उदारता टाटाहरूमा पनि छ," गान्धीले भनेका थिए, "अरू भारतीयले पनि उनीहरूको बाटो पछ्याउनेछन्।" उनै रतनजीले जेहेन्दार भइकन आर्थिक अवस्थाको कारण पढ्न नसक्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि ‘लन्डन स्कुल अफ इकोनोमिक्स’मा कोषसमेत स्थापना गरे। देशमा सीमित जमसेदजी टाटाको परोपकारीतालाई उनका सन्ततिले विदेशमा समेत फैलाए। (द स्टोरी अफ टाटा, पिटर केसी)

सन् १९३२ मा आफ्नी श्रीमती लेडी मेहेरबाइ ‘लुकिमिया’ले बितेपछि दोराबजी टाटा (जमशेदजीका छोरा)ले ‘लेडी टाटा मेमोरियल ट्रस्ट’को स्थापना गरी लुकिमियाको अध्ययन–अनुसन्धानमा सघाउन थालेका थिए। (टाटा ट्रस्टको वेबसाइट) 

सादगीले पनि टाटाहरूलाई अरुभन्दा फरक देखाउँछ। इन्डियन एयरलाइन्सले कर्मचारीबीच गरेको एउटा सर्भेमा दिल्ली–मुम्बई उडानमा उडान स्टाफहरूले सबैभन्दा बढी रुचाएका यात्रु थिए, रतन टाटा। त्यसको कारण खोतल्दा थाहा पाइयो, त्यो रुटका उनीमात्र एक्ला भीआईपी यात्रु थिए, जो सहयोगीबेगर आफनो ब्याग आफैले बोकेर लुरुलुरु विमान चढ्थे। विमानमा बसेपछि  काममा व्यस्त हुन्थे। उडानमा हल्का चिनी हालेको कालो कफी पिउने उनले विमान स्टाफसँग कहिल्यै चर्को स्वरमा कुरा गरेका थिएनन्। (बीबीसी हिन्दी) 

“नैतिक मूल्यबाहेक उनले भारतको अर्थव्यवस्थामा योगदान दिए भन्ने ठान्दिनँ,” जीवनीकार आरएम लाला भारतको अर्थतन्त्र निर्माणमा जेआरडीको भूमिकाबारे  बताउँछन्, “नैतिक जीवन आर्थिक जीवनको अभिन्न अंग हो।”

“उद्योगहरू खोलेर हामीले राष्ट्र निर्माणमै योगदान गर्‍यौँ भन्ने मान्दिनँ,” राष्ट्र निर्माणमा टाटाले पुर्‍याएको योगदानबारे प्रश्न गर्दा जेआरडी टाटा भन्छन्, “नैतिक मूल्य मान्यतासहितको व्यापार गर्न सकिन्छ भन्ने सन्देश पुर्‍याउन सकिएको भए त्यही हाम्रो योगदान हो।”

सरकारले विद्यार्थीलाई थोरै डलर सटही सुविधा दिने भएकाले अमेरिकामा उच्च शिक्षा लिने क्रममा आफूले भाँडा माझेरसमेत खर्चको जोहो गरेको रतनले बताएका थिए। “अभिभावक ब्ल्याकमा डलर साटेर मलाई पठाउन तयार थिएनन्,” रतनले भनेका थिए, “महिनाको अन्त्यतिर पैसा सकिएको हुन्थ्यो, कहिले सरसापट गरी चलाउनुप‍र्थ्यो, धेरैचोटी मैले जुठा भाँडा माझेर खर्चको जोहो गरेको छु।”

दुईचोटी रतन टाटासँग हात मिलाउन पाउँदा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका बोर्ड निर्देशक शम्भु दाहाललाई उनी व्यापारी कम साधक ज्यादा लागे। “अति विनम्र स्वभावका उनका लागि उद्योग मन्दिर थियो होला, जसका उनी साधक थिए,” उनी सम्झिन्छन्।

पारसीमूलका भारतीय टाटा
अंग्रेजले खुट्टा जमाउँदै गएको भारत, गुजरातको नवसारी गाउँको पारसी पुरेत परिवारमा जन्मिएका नुस्सरवानजी टाटालाई व्यापार गर्ने हुटहुटी पैदा भएपछि बम्बई हान्निएका थिए। कपासको व्यापार शुरू गरेका उनी चा“डै कपास निर्यातक बने। व्यापारमा जम्दै गएपछि गाउँमै रहेका छोरा जमशेदजीलाई बम्बई बोलाई अंग्रेजी शिक्षा दिलाए, अनि हङकङ पठाए व्यापार विस्तार हेतु। हङकङमा चार वर्ष बिताई फर्केपछि जमशेदजीले कपास निर्यातका साथै टेक्सटाइल उद्योगमा हात हालेका थिए।  टेक्सटाइल मिल खोल्ने तयारीका लागि औद्योगिक क्रान्तिको चरणमा रहेको ब्रिटेन गए। १८७७ मा एम्प्रेस मिल्सको नाममा पहिलो टेक्सटाइल जमशेदजीले खोलेका थिए, नागपुरमा।

गृहयुद्ध र विश्वयुद्धजस्ता नरसंहारकारी घटनामा टाटा समूह चाहिँ झनै फस्टायो। अमेरिका गृहयुद्ध (१८६१–१८६५) मा फँस्दा त्यहाँबाट ब्रिटेनमा भइरहेको कपासको आपूर्ति प्रभावित भयो, जसलाई जमशेदजीले भारतबाट पूर्ति गरे। त्यहीताका टाटाले लन्डनमा अफिसै खोलेर कारोबार विस्तार गरेको थियो। टाटा स्टिलले उत्पादन शुरू गरेको सात वर्षमा पहिलो विश्वयुद्ध (१९१४–१९१८) शुरू भयो, ट्यांक बनाउनेदेखि रेल्वे ट्रयाकमा टाटा स्टिलकै माग थियो। ब्रिटेनमा ‘टाटा स्टिल नभएको भए त यो युद्ध नै जितिन्थेन’ सम्म भनियो। यसले टाटालाई अन्तर्राष्ट्रियस्तरमै चिनायो।

बम्बईको होटल विन्स्टनमा गोरासँग जाँदा अश्वेत भएकै कारण आफू छिर्न नपाएपछि उनले अन्तर्राष्ट्रियस्तरको होटल खोल्ने कसम खाएका थिए, जुन सन १९०३ मा ‘द ताजमहल प्यालेस’ होटलमार्फत पूरा गरे। यसबाहेक स्टिल, उर्जाका उद्योग र शिक्षण संस्था खोल्ने उनका सपनाचाहिँ छोराद्वय सर दोराबजी र सर रतन टाटाले पूरा गरे– झारखण्डमा टाटा स्टिल र बैंगलोरमा ‘इन्डियन इन्स्टिच्युट अफ साइन्स’ खोलेर।

सन् १९३२ सम्म दोराबजीले नेतृत्व गरेको टाटा सन्सको नेतृत्व सन १९३८ सम्म नौरोजी सकलातवालाले गरेका थिए। टाटा परिवारका नातेदार उनले क्लर्कको पदबाट टाटा सन्समा जागिर शुरू गरेका थिए। सन् १९३८ देखि १९९१ (५२ वर्ष) जेआरडी टाटाले गरे। उनकै नेतृत्वमा टाटा चिया, एयरलाइन्स, टाटा मोटर्स, टाटा कन्सल्टिङ सर्भिस (रेल्वेपछि सबैभन्दा धेरै रोजगारी दिने कम्पनी) आदि शुरू भए नै, टाटा एउटा ग्लोबल कम्पनीका रूपमा स्थापित भयो। रतनको नेतृत्वमा टाटाले विश्वकै ठूलोमध्येको टेटली टी, ठूलो मध्येकै कोरस आइरन, विख्यात जागुवार र ल्यान्डरोभर ब्रान्ड टाटा सन्सले किनेको थियो। टाटा फिलहाल एक सय देशमा फैलिइसकेको छ।

जेआरडी टाटा

निःसन्तान हुने, अझै विवाहै नगर्ने कारणले टाटाको व्यापारिक साम्राज्य जमशेदजीकै सन्तानभन्दा बाहिर छ। जमशेदजीका दुवै छोरा निःसन्तान भएको कारण पनि दोराबजी पछि नौरोजी सकलातवालाले गरेका थिए। उनीपछि नेतृत्व गर्ने जेआरडी पनि जमशेदजीका सालो दादाभाई टाटाका नाति हुन। दादाभाईका छोरा रतनजीलाई जमशेदजीले नै साझेदार बनाई उनको कम्पनीलाई टाटा सन्समा विलय गराएका थिए। जेआरडी पनि नि:सन्तान थिए।

“मलाई बच्चाबच्ची मनपर्छ, तर उत्तराधिकारीका रुपमा छोराछोरी देखिनँ,” तपाईंलाई यत्रो विरासत सम्हाल्न छोराछोरीको कमी महसुस भएन भन्ने प्रश्नमा जेआरडीले जवाफ दिएका थिए। भर्खरै बितेका रतन टाटा निःसन्तान सर रतन टाटाकी श्रीमती लेडी नवाजबाईले पारसी अनाथालयबाट धर्मपुत्र बनाएका नवल टाटाका छोरा हुन्। रतनका साथै उनका भाई जिमी अविवाहित हुन्। अहिले टाटा ट्रस्टको अध्यक्ष बनाइएका नोएलचाहिँ रतनका सौतेनी भाइ हुन। नोएलका चाहिँ दुई छोरी र एक छोरा छन्।

रोजगारमैत्री रोजगारदाता 
हङकङमा चार वर्ष बिताई फर्केपछि जमशेदजी टेक्सटाइल खोल्ने तयारीका लागि सन् १८६० को दशकमा औद्योगिक क्रान्तिमा अघि बढिरहेको ब्रिटेन पुगेका थिए। टेक्सटाइलको केन्द्र म्यानचेस्टरमा उनी प्रविधिबाट आकर्षित भए, श्रमिकको शोषण देखेर दुःखी पनि। यसैले नागपुरमा पहिलो टेक्सटाइल स्थापना गर्दा उनले प्रविधि पश्चिमबाट आयात गरे पनि श्रमको शोषणा आयात गरेनन्। बरु श्रमिकलाई सञ्चय कोष, बिमा योजना लागू गर्नुका साथै फेमिली डे, स्पोर्टस डे आयोजनामार्फत श्रमिकउपर मानवीय व्यवहार गरी उत्पादकत्वसमेत बढाएका थिए। सन्ततीले आज पर्यन्त यसलाई पारिवारिक विरासतकै रूपमा जारी राखेका छन्। (किपर्स अफ द फ्लेम, युट्युब)

सन् १९३७ मा भारतलगायत विश्व नै आर्थिक मन्दी (ग्रेट डिप्रेसन) को मारमा रहेका बेला टाटाका कम्पनीमा सबैभन्दा कम तलब पाउने कामदारले पनि उच्च पारिश्रमिक पाएका थिए। नौरोजीले ‘टाटा स्टिल’का अस्थायी मजदुरको हितमा पनि काम गरेका थिए। बम्बईस्थित टाटा प्रधान कार्यालयमा मजदुरका निम्ति ‘क्लब’ खोलेका थिए भने आराम गर्न सुविधाजनक कोठा थिए, त्यहाँ बिभिन्न खेल सामग्रीहरू उपलब्ध थिए। “कामदारको स्वास्थ्य र उच्च मनोबलको लागि यस्ता ठाउँ आवश्यक पर्छ,” नौरोजी भन्ने गर्थे, “उनीहरूले आराम गर्नुपर्छ, मनोरञ्जन चाहिन्छ, अन्तत उत्पादकत्व बढेर कम्पनीलाई फाइदा हुन्छ।” (द स्टोरी अफ टाटा, पिटर केसी)

रतन टाटाको उदारता २००८ को मुम्बई आक्रमणको समयमा पनि देखियो। त्यतिबेला टाटा समूहको ताजमहल प्यालेस होटलमा पनि आक्रमण भएको थियो। भिडन्त चलिरहेकै बेला होटल पुगेर आफ्ना ग्राहक र कर्मचारी सुरक्षामा सक्रियता देखाए नै, आक्रमणमा परेकाहरूलाई उपचारका साथसाथै आर्थिक सहयोग उपलब्ध गराए। ज्यान गुमाएका स्टाफ जीवित रहेको भए अवकाश नपाउन्जेलको अवधिमा जति तलब पाउँथे, एकमुष्ठ उसको परिवारलाई दिनुका साथै छोराछोरीको शिक्षाको जिम्मा लिएको थियो। 

कोभिड–१९ को महामारीमा पनि टाटा समूहले आफ्ना कर्मचारीप्रति उस्तै मानवता प्रदर्शन गरेको थियो। टाटा स्टिलले कोभिडबाट मृत्यु हुने आफ्ना कामदारको तलब, आवास र चिकित्सा सुविधा ६० वर्षको उमेरमा अवकाश नपुग्दासम्म दिने घोषणा गर्‍यो। उसले २०२१ मे २३ मा प्रकाशित गरेको विज्ञप्तिमा भनिएको थियो, “टाटा स्टिलले यस कठिन महामारीको समयमा आफ्ना मूल्यवान कर्मचारीहरू गुमाएकोमा शोक व्यक्त गर्दछ।”

टाटाको मोटर्सको नेपालमा आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको जागिर तलब, सुविधा, सामाजिक सुरक्षाको मामिलामा देशमा उत्कृष्टमध्येमा पर्छ। सिप्रदीको बोर्ड निर्देशक शम्भु दाहालका अनुसार टाटाको मोटर्सको प्रेरणाका साथै सोल्टी समूहका संस्थापक प्रभाकरशमशेर राणा (स्वर्गीय)को रोजगारमैत्री व्यवहारको कारण यस्तो हुनसकेको हो।

“अहिले सिप्रदीको व्यापार स्वाट्टै घटेको बेला पनि अध्यक्ष (सिद्धार्थशमशेर) कर्मचारी कटौती, तलब सुविधा घटाउनै चै कुरै नगरौं भन्नुहुन्छ,” उनी भन्छन्। टाटाले कर्मचारी कटौती गर्दा पनि माथिबाट शुरू गरेर अन्तिममा मात्र सबैभन्दा थोरै तलब खाने समूहलाई छुने भएकाले तिनकोमा श्रम विवाद नहुने उनी सुनाउँछन्।

रोजगारमैत्री रोजगारदाताको रूपमा टाटाको  प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएकाले त मोटर निर्माता फोर्ड दिवालिया हुनथालेपछि कम्पनीका रोजगारहरूको चाहनाअनुसार फोर्डको व्यवस्थापनाले जागुवार र ल्यान्डरोभर किनिदिन टाटासमक्ष  प्रस्ताव गरेको थियो। केसीले आफ्नो पुस्तकमा टाटाको भनाइ उल्लेख गरेका छन्, “म भारतका जनताको उत्थानको लागि केही गर्न चाहन्छु। पैसा कमाउने हैन, म सुख नभएको ठाउँमा सुख सृजना गर्न चाहन्छु।”

पिटरले पुस्तकमा पत्रकार डामियन ह्वीटवर्थले रतन टाटासँग गरेको अन्तरवार्ताको प्रसंग उल्लेख गरेका छन्। २७ मे २००६ मा ‘द टाइम्स’ मा प्रकाशित अन्तरवार्तामा ‘भारतीय एक प्रसिद्ध खोज पत्रकार’ले टाटालाई इमानदार व्यापारिक समूह भनेका छन्। ती पत्रकारको भनाइ छ, “उनीहरू भ्रष्टचार गर्न अस्वीकार गर्छन्।” सोही अन्तरवार्तामा भ्रष्टचारबारे टाटाको प्रतिक्रिया छ, “भ्रष्टाचार व्याप्त छ...। तर, हामी भ्रष्टचारमा संलग्न हुँदैनौं।”

नानोः रतन टाटाको ठूलो असफल परियोजना
सन् २००३ मा पानी परिरहेका बेला दुई बच्चाबच्चीसहित गन्तव्यमा पुग्ने हतारमा स्कुटरमा हुँइकिइरहेका दम्पत्ति सडकमा पछारिएपछि रतन टाटाको दिमागमा तिनको पहुँचमा हुने कार बनाउने सोच पलाएको भनिन्छ (बजार प्रवर्द्धन गर्न अनेकन किस्सा कहानी रचिने भएकाले यही नै थियो भनेर ठोकुवा गर्नचाहिँ सकिन्न)। जे होस् टाटाको मिनी ट्रकले बजार तताएको समय थियो, त्यो। रतनले पनि एक लाख भारुमै पाइने संसारकै सबैभन्दा सस्तो कार बनाउने घोषणा गरे।

पश्चिम बंगालको वामपन्थी सरकारले नानोका लागि टाटालाई आमन्त्रण गर्‍यो। टाटाले सिंगूरमा नानो उत्पादन गर्ने कारखानापनि खोल्यो। तर ममता बनर्जी नेतृत्वको प्रतिपक्षी तृणमूल कांग्रेसले किसानको मुद्दा उठाएर ठूलो आन्दोलन गर्‍यो। गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले रेड कार्पेट ओछ्याएपछि सन २००८ मा टाटा गुजारत लस्कियो। त्यसपछिको चुनावमा पश्चिम बंगालमा तीन दशकदेखिको वामपन्थी सरकार पनि सत्ताबाट बाहिरियो। बनर्जीको तृणमूल कांग्रेसले चुनाव जित्यो, सन २०२२ मा उसले तेश्रोचोटी चुनाव जितेको छ।

१४ महिनापछि नोभेम्बर २००९ मा गुजरातको सालन्दबाट नानोको उत्पादन शुरू भयो, कार सन २००९ को ‘इन्डियन कार अफ द इयर’ पनि घोषित भयो। तर कच्चा पदार्थको मूल्यमा आएको विश्वव्यापी उछालले गर्दा टाटाले नानाको मोल  प्रतिवद्धताअनुरुप १ लाख नै राखिरहन सकेन। यसरी नानो ‘मारुती अल्टो’ वा ‘मारुती ८००’ सस्ता कारभन्दा धेरै सस्तो पनि रहेन। केही गाडी गुड्दा गुड्दै आगो लाग्यो। गाडीको सुरक्षा रेटिङ गर्ने ‘ग्लोबल एनसीएपी’ ले सुरक्षामा जिरो रेटिङ दिएपछि नानोको बजार  सोत्तर भयो। पश्चिम बंगालमा किसान आन्दोलनले ‘बोहनी नै खराब’ भएको नानो गुजरातमा पनि नचम्किइकै फुस्रियो।  टाटाले नानोको उत्पादन बन्द गर्न पर्‍यो।

विवादमा टाटा 
टाटाको बेदाग छवीमा दाग देखिने घटना भयो, निरा राडिया टेप काण्ड (सन २००९) मार्फत। टाटाको समेत जनसम्पर्क जिम्मा पाएकी निरा राडियाको अनपेक्षित आर्थिक कारोबार देखिएपछि करसम्वद्ध निकायले सन २००८–२००९ को बीचमा उनको टेलिफोन टेप गरेको थियो। टेपका कुराकानी मिडियामार्फत बाहिरिएका थिए। नोभेम्बर २०१० मा राडियाले विभिन्न क्लाइन्टसँग गरेका कुराकानीका केही अंशसहित ‘ओपन म्यागेजिन’ ले कभर स्टोरी प्रकाशित गर्‍यो भने दुई दिनपछि ‘आउटलुक’ म्यागेजिनले पनि कभर स्टोरी बनायो।

राडियाले रतन टाटा, मुकेश अम्बानीसँग भएका संदिग्ध खाले संवाद पनि छापामा आए। रतन टाटाले पनि लविइङ गर्न राडियालाई प्रयोग गरेको बुझिने संवादहरू बाहिरिएका थिए। अम्बानी साम्राज्य खडा गर्ने धिरुबाई नै राजस्व छलीदेखि अथोरिटीको दुरुपयोगमा नाम आइरहने अम्बानी समूहलाई त फरक परेन, टाटाले पनि यस्तो गरेको भनेर जिब्रो टोक्ने अवस्था बन्यो। रतन टाटाले गोपनीयताको अधिकारमा हस्तक्षेप गरेको भनेर न्यायालयपनि गुहारे।

मन्त्री ए राजा, सांसद कानीमोझी, भाजपा नेता अनन्तकुमार, अटलविहारी वाजपेयीका ज्वाईं तथा वाजपेयी प्रधानमन्त्री छँदा सचिवालयमै कार्यरत रञ्जन भट्टाचार्य आदि लामै सूची थियो। दिल्लीका चर्चित पत्रकारहरू बर्खा दत्त, वीर सांघवी, बी शंकर अइयर, सालिनी सिंहसँग राडियाको कुराकानी भएका थिए। प्रमाणको अभाव भनेर जाँच एजेन्सीले यो केसको फाइल बन्द गरिदिइसकेको छ। “भारत जस्तो देशमा बाध्य भई एकाधचोटी आफूले कोरेको नैतिक मूल्य–मान्यता नाघे होलान,” आर्थिक पत्रकार टिएन नायनन लेख्छन्, “नत्र टाटा नैतिक मूल्य–मान्यता नछाडेको घराना हो।”

हाम्रा ‘दानवीर’
रतन टाटाको निधनकै पर्सिपल्ट (११ अक्टोबर) हाम्रा ‘दानवीर’ मिनबहादुर गुरुङले दान गरेको जग्गामा प्रधानमन्त्री केपी ओलीले गुरुङसँग गरेको संयुक्त भूमिपूजाको फोटोसहितका समाचार छापिएपछि बहस जारी छ। व्यापारी त्यो पनि मुद्दा–मामिलामा अल्झिरहेकोसँग दान लिएर पार्टी अफिस बनाउन लागेको भन्दै एमालेको तिखो आलोचना भइरहेको छ नै, पार्टीभित्र पनि असन्तुष्टि प्रकट भए। यही बेलामा पत्रकार विजयकुमारले भने खुलेआम दिएको चन्दाको स्वागत गरे।

“मीनबहादुर गुरुङजीले राजनैतिक दललाई खुलेआम दिउँसै महादान दिएर पाखण्डको जगमा अडेका समाजलाई ऐना देखाएका छन्,” एक्स (ट्विटर)मा उनी लेख्छन्, “अन्य सेठ, साहुहरूले दसकौ देखी राती बालुबटारमा लुकेर गर्ने सत्कर्म उनले दिउसै सार्वजनिक रूपमा गरे।” उनको पोष्टमा थप उल्लेख छ, “अब नेपालका अन्य सेठसाहुले पनि चन्दा यसरी नै खुलेआम दिन सक्नुपर्छ, जसरी मीनबहादुरजीले दिए। जसरी अमेरिकामा दिन्छन। यो शुरूआतका लागी मीनबहादुरजीलाई सलाम।”

पार्टीलाई दान गरेका कारण गुरुङको दान विवादित बनेको हो। यसअघि त्रिवि शिक्षण अस्पतालमा उनले इमरजेन्सीको उपचारका लागि भवननै बनाइदिएका हुन्। भगवान कोइरालाले बाल अस्पताल निर्माणार्थ चलाइरहेको चन्दा अभियानमा पनि दिल खोलेर ४१ करोड दान गरेका हुन्।

भारतमा टाटामात्रै होइन अरु पारसी मूलका व्यवासायी इथिकल व्यापार र परोपकारी कामका लागि विख्यात छन्। यस्तै अम्बानी/अडानीजस्ता नवधनाढ्यहरू राजनीतिक नेतृत्व, कर्मचारीतन्त्रलाई गोजीमा राखेर व्यापार विस्तारमा माहिर ठानिन्छन्। २०१४ को लोकसभा चुनाव जितेपछि प्रधानमन्त्रीको ताज पहिरिन अहमदाबाद दिल्ली नरेन्द्र मोदी अडानीको विमान चढेर आई ‘खुल्लम खुल्ला प्यार करेंगे हम दोनो’ को उदाहरण प्रस्तुत गरेका थिए। दान अम्बानी/अडानीले पनि गर्छन्। सोमबारै केदारनाथ दर्शनका लागि पुगेका मुकेश अम्बानीले मन्दिरमा ५ करोड (भारु) दान गरिहाले। तर छोरा अनिल अम्बानीले परिवार इच्छाविपरीत अभिनेत्री टिना मुनीमसँग विवाह गर्न थालेपछि टिनाकै घरमा करसम्वद्ध सरकारी एजेन्सीको छापा मरवाइदिने धिरुभाईको परिवार (ध्रुव राठी, युट्युब) को तुलना शहरका भुस्याहा कुकुरलाई आफ्नै निवासमा खाना बन्दोवस्त गर्ने र कुकुर उपचारको लागि अस्पतालै निर्माण गर्ने टाटासँग हुनसक्दैन।

टाटालाई अडानी/अम्बानीभन्दा अलग–मुनाफाको ठूलो अंश नै परोपकारमा खर्च गर्ने परम्पराका साथै इथिकल व्यापारले। परोपकारमा पनि उहिल्यै जमशेदजीको जमानादेखि नै शिक्षा र स्वास्थ्यनै उनीहरूको प्राथमिकतामा परेको हुन्छ। यसमानेमा गुरुङले समातेको बाटोचाहिँ अम्बानी/अडानी पथ हो, दल नेताको दाहिना हुने। तर गुपचुप हुने लेनदेनभन्दा यो दान कम खराब हो। कम्तीमा पारदर्शी भएको छ, भोलि एमालेले गुरुङलाई कानूनविपरीत ‘फेबर’ गर्दा प्रतिस्पर्धीहरूले राजनीतिक मुद्दा बनाउने छन्, मिडियाले लेख्नेछन्। 


सम्बन्धित सामग्री