Tuesday, December 03, 2024

-->

संसद्को अर्काइभः अब ढड्डा पल्टाउने हैन, ‘स्क्रोल’ गर्ने

२०१६ सालमा संसदीय व्यवस्था शुरू भएयता सांसदहरूले संसद्‍मा बोलेको कुरा कागजमा उतारेर राख्दा मोटामोटा ढड्डा बनेका छन्, अब यी ढड्डालाई ‘स्क्रिन’मा ‘स्क्रोल’ गर्न सकिने बनाइँदैछ।

संसद्को अर्काइभः अब ढड्डा पल्टाउने हैन ‘स्क्रोल’ गर्ने
फाइल तस्वीर

काठमाडौँ– सिंहदरबारस्थित संसद्को पुस्तकालयको एउटा कक्षमा दुईतीन जना कर्मचारी कागजातको तस्वीर लिइरहेका छन्। उनीहरू हरेक पन्ना जतनसाथ पल्टाउँछन् र तस्वीर लिन्छन्। ती तस्वीरलाई कम्प्युटरमा काँटछाँट गरी डिजिटल प्रतिलिपि तयार पार्छन्।

यो काम लामो समयदेखि निरन्तर चलिरहेको छ। मोटामोटा ढड्डालाई समेत उनीहरूले झिँजो नमानी ‘स्कृन’मा पढ्न सकिने बनाइरहेका छन्। यो कामका बीच संसद् सचिवालयका कर्मचारी भन्छन्– अब कागज पल्टाउनुपर्ने जमाना गयो।

संसद्को अघिल्लो कार्यकालमै तत्कालीन महासचिव भरतराज गौतमको संयोजकत्वमा संसद् सचिवालयभित्र एउटा समिति गठन गरिएको थियो। त्यस समितिको नाम थियो– डिजिटाइजेसन निर्देशक समिति। यसको मुख्य जिम्मेवारी विभिन्न उपसमिति बनाएर संसद्का महत्त्वपूर्ण कागजातलाई ‘डिजिटाइज’ गर्नु थियो।

आठ महिना कार्यकाल बाँकी छँदै गौतम २०८० मंसिरमा राजीनामा दिएर संसद्बाट बिदा भए। उनी नभए पनि संसद्‍मा यो काम जारी छ।

विगतमा सांसदले संसद्‍मा बोलेका कुराको रेकर्ड कागजमा जस्ताको तस्तै उतारेर राखिएको भए पनि यसको डिजिटल प्रति उपलब्ध छैन। सांसदले सभामा के–के बोलेछन् भनेर हेर्नुपर्यो भने सिंहदरबारस्थित संसद् सचिवालयको पुस्तकालय पुगेर मोटामोटा ठेली पल्टाउनुपर्छ।

त्यस्ता ठेली दर्जनौँ छन्, पुस्तकालयको एउटा कोठामा खात लगाएर राखिएको छ। ती पनि पुराना भएर कतिपयको अक्षर नबुझिने भएका छन्, कुनैका पन्नासमेत च्यातिएको छ। विशेषगरी ६५ वर्षअगाडिको पहिलो संसद्‍मा उतारिएका अभिलेख सबैभन्दा बढी जोखिममा छन्। त्यति बेला पातला कागजमा लेखिएका अक्षर अहिले बुझ्न मुस्किल छ।

हजारौँ पेजका ती कागजातलाई डिजिटल माध्यममा समेत पढ्न मिल्ने बनाउन सचिवालय खटिएको छ। त्यसका निम्ति हरेक पृष्ठको तस्वीर खिचेर धमाधम डिजिटल प्रतिलिपि तयार पारिँदै छ।

२०१६ असारबाट सुरू भएर २०१७ भदौसम्म चलेको पहिलो संसद्को भर्वेटिम (सांसदले संसद्‍मा बोलेका कुराको अक्षरशः उतारेर राखिएको पुस्तक)को डिजिटल प्रतिलिपि तयार भइसकेको छ। ३० वर्षसम्म चलेको पञ्चायतकालमा सञ्चालित राष्ट्रिय पञ्चालयको लगभग आधा काम पूरा भएको छ। प्रजातन्त्रको पुनर्बहालीपछि आएको नयाँ प्रतिनिधिसभा र राष्ट्रियसभाको पनि २०५३ सम्मको भर्वेटिमको डिजटल प्रतिलिपि बनाइसकिएको छ।

अहिले सचिवालयले २०५४ देखि २०६९ सम्मको भर्वेटिमलाई डिजिटल बनाइरहेको छ। यसमा पनि आधाभन्दा बढी काम सकिएको सचिवालयले जनाएको छ। सचिवालयसँग २०७० यताको भर्वेटिमको कागजी प्रति र डिजिटल फाइल दुवै सुरक्षित छ। कम्प्युटरमा ‘डक्स फाइल’ भएका कारण यसलाई पीडीएफ बनाएर जति बेला पनि संसद्को वेबसाइटमा राख्न सकिने अवस्था छ। 

आफूहरूसँग दोस्रो संविधानसभा यताको सम्पूर्ण बैठकको डिजिटल भर्वेटिम रहेको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमला बताउँछन्। उनी भन्छन्, “पछिल्लो समय हामीले प्रायः सबैजसो सामग्रीलाई डिजिटल रूपमा सुरक्षित राखेका छौँ। त्यसकारण, २०७० यताका सामग्रीमा हामीले तनाव लिनुपर्दैन। हाम्रो मुख्य ध्यान विगतका अभिलेखमा हो।”

संसद् सचिवालयले संसदीय गतिविधिको ‘अर्काइभिङ’का लागि विगतमा सांसदले सभामा बोलेका कुरालाई क्यासेटमा रेकर्ड गरेर राख्थ्यो। पहिलो संविधानसभा अगाडिसम्म पनि सभाका कामकारबाही क्यासेटमा रेकर्ड गरिन्थ्यो। ती क्यासेट अहिले पनि पुस्तकालयमा छन्।

तीमध्ये कतिपय क्यासेट नबज्ने अवस्थामा पुगिसकेका छन्। स्पष्ट सुनिने कतिपय क्यासेटको आवाज अर्को डिभाइसमा रेकर्ड गरिएको छ। ती सामग्रीलाई अब मोबाइल र कम्प्युटरबाट समेत सुन्न सकिन्छ। तर सचिवालयले २०४८ सालभन्दा अगाडीका क्यासेट भेटेको छैन। त्यसकारण, २०१६ सालको पहिलो संसद् र सिंगो राष्ट्रिय पञ्चायतका सदस्यले सभाभित्र बोलेको ‘अडियो’ उपलब्ध छैनन्।

अर्काइभिङलाई व्यवस्थित बनाउन सचिवालयले संसद्‍मा दर्ता भएका विधेयकको आधारिक प्रतिलाई समेत ‘स्क्यान’ गरेर राखेको छ। ३०० भन्दा बढी विधेयक माइक्रोफिल्ममा पढ्न मिल्नेगरी तयार भइसकेको छन्। सचिवालयले यो काममा आफ्ना कर्मचारीलाई प्रयोग गरेको छ।

संसद् वा समितिका बैठक समयमा कर्मचारी व्यस्त हुने हुँदा डिजिटाइजको काम रोकिन्छ। सचिवालयले अरू कामको चाप नहुँदा कर्मचारीलाई यता खटाउँछ। कहिलेकाहीँ अतिरिक्त समयमा पनि काममा खटाइन्छ। बिदाको दिनमा समेत उनीहरूलाई काममा लगाइएको सचिवालय बताउँछ। 

यो कामलाई सभामुख देवराज घिमिरेले समेत चासोका साथ हेरेका छन्। २०७९ फागुनमा पुस्तकालय निरीक्षण गर्दै संविधान निर्माणका क्रममा तयार पारिएका दस्ताबेजको डिजिटल प्रति बनाएर राख्नुपर्ने बताएका थिए। यसले अध्ययन÷अनुसन्धानमा सहयोग पुर्‍याउने उनको भनाइ थियो।

अहिलेसम्म काम पूरा भएका सामग्रीलाई सचिवालयले वेबसाइटमा अपलोड गरेको छैन। डिजिटाइजको सम्पूर्ण काम सकिएपछि मात्र त्यसलाई सार्वजनिक गर्ने योजना रहेको संसद् सचिवालयका सूचना अधिकारी धमला बताउँछन्। “सबै अभिलेखको काम सकिएपछि त्यसको समीक्षा हुन्छ। कहीँ गल्ती भएको हुनसक्छ वा छुटेको हुनसक्छ,” उनी भन्छन्, “सबै काम सकिएपछि हाम्रो अन्तिम रिपोर्ट बन्छ। त्यसपछि सबैलाई उपलब्ध हुनेगरी वेबसाइटमा राख्छौँ।”

संसद्को अर्काइभिङलाई थप व्यवस्थित बनाउन संसद् सचिवालयले नियमित पुस्तक पनि प्रकाशन गरिरहेको छ। नेपालमा गैरसरकारी विधेयक अभ्यास, नेपालमा अध्यादेशः व्यवस्था र अभ्यास, संसद्‍मा बिधि निर्माण लगायतका पुस्तक सचिवालयको वेबसाइटमा समेत उपलब्ध छन्।

संसद् सचिवालयले केही समयदेखि संसद्का हरेक कार्यकालको गतिविधि समेटेर छुट्टाछुट्टै ‘संसदीय विवरण पुस्तिक’ प्रकाशन गरेको छ। जस्तो– संसदीय विवरण पुस्तिक (२०१६–१७)। यसमा पहिलो संसद्‍मा भएका हरेक गतिविधि समावेश गरिएको छ। सचिवालयले दुवै संविधानसभामाथि पनि यस्तै पुस्तिक तयार पारेको छ– संविधानसभा दर्पण र संविधानसभा दर्पण–२।

पछिल्ला केही वर्षमा सचिवालयले नियमित ‘संसद् दर्पण’ पनि प्रकाशन गरिरहेको छ। हरेक तीन–तीन महिनामा प्रकाशन हुने दर्पणमा त्यस अवधिभर भएका संसदीय गतिविधि लेखिएको हुन्छ। यसबाहेक, दर्पणमा संसद्का विभिन्न ऐतिहासिक विषयमाथि अनुसन्धानमूलक सामग्री राखिएको हुन्छ। जस्तो– गत साउनमा प्रकाशित भएको संसद् दर्पणको अंक–३४ मा नेपालमा कानून समितिको इतिहासबारे जानकारी दिइएको छ।

सचिवालयका अनुसार अरू पनि पुस्तिकामा काम भइरहेको छ।


सम्बन्धित सामग्री