Tuesday, December 03, 2024

-->

भारतमा ‘डिजिटल अरेस्ट’बाट अनलाइन ठगी, नेपाल कति चनाखो?

अनलाइन बयान वा सोधपुछ कानूनले नचिनको र सरकारी निकायले अभ्यासै नगरेको अनुसन्धान विधि हो। तर ठगी गर्ने गिरोहले भारतमा यसरी ‘डिजिटल अरेस्ट’ गरी पढेलेखेका र प्रतिष्ठितलाई नै ठगिरहेका छन्।

भारतमा ‘डिजिटल अरेस्ट’बाट अनलाइन ठगी नेपाल कति चनाखो

काठमाडौँ– भारतीय पत्रकार ऋचा मिश्रा २०२४ अक्बुटर ५ मा दिल्लीस्थित घरमा थिइन्। दिउसो १२ बजेर ५ मिनेटमा उनलाई एउटा फोन कल आयो। त्यसमा स्वचालित आवाजमार्फत आफ्नो कुरियरको जानकारी चाहिए १ र अन्य जानकारीका लागि २ थिच्न भनियो। उनले १ थचिन्।

“मलाई मेरो कुनै कुरियर आएको हुनसक्ने लागेको थियो। उताबाट फेडेक्स कुरियरबाट करन बर्मा बोलिरहेको बताउँदै ‘तपाईंलाई के मद्दत गर्न सक्छु’ भनेर सोधे,” ऋचाले आफूसँग भएको ‘डिजिटल अरेस्ट’को घटनाबारे युट्युब भिडियोमा भनेकी छन्। 

ती व्यक्तिले ऋचालाई उनको आधार कार्डको नम्बर प्रयोग गरी मुम्बईबाट ताइवान कुरियर पठाइएको जानकारी दिए। आफूले त्यस्तो कुनै कुरियर नपठाएको भनेर उनले प्रतिवाद गरिन्। कसैले आधार कार्डको दुरुपयोग गरेको हुनसक्ने उताबाट जानकारी दिइन्छ। आफ्नो इन्कारी वक्तव्य रेकर्ड गराएपछि समस्या समाधान हुने पनि फोन गर्ने मानिसले बताउँछन्। ‘मुम्बई पुलिसलाई पनि तपाईंले मागेको जानकारी दिनुहोला’ भनेर सुझाव दिन्छन्।

उताबाट बोल्ने मान्छेले कुरियरमा विभिन्न सामानका अतिरिक्त २०० ग्राम लागुऔषध पनि पठाइएको बताउँछ। उक्त सामान बरामद हुँदा १५ वर्षको जेल सजायको व्यवस्था रहेको भन्छ। त्यो कल कथित मुम्बई पुलिसलाई ट्रान्सफर गरिन्छ। उताबाट आफूलाई विनयकुमार चौधरी बताउने अर्को व्यक्तिले संवाद शुरू गर्छ, पछाडिबाट प्रहरी कन्ट्रोल रुमको जस्तो आवाज पनि आइरहन्छ।

ऋचा आफूले कुनै सामान नपठाएको बताउँछिन्। तर उनलाई लागुपदार्थ सेवनकर्ता र कारोबारीको आरोप लगाएर केरकार शुरू हुन्छ। उनी आफू अनुसन्धानका लागि प्रहरीलाई सघाउन तयार रहेको बताउँछिन्।

यति कुराकानी हुँदा करिब आधा घण्टा बित्छ। उताबाट अपशब्दको प्रयोग गर्दै नक्कली सोधपुछ अगाडि बढिरहेको थियो। उनको अफिस आउनेजाने समय र चढ्ने सवारीको विवरण पनि उताबाट बताइएपछि हैरान हुन्छिन्। उनलाई ‘स्काइप’ भन्ने मोबाइल एप डाउनलोड गर्न लगाइन्छ र त्यसमा कल गरेर बयान रेकर्ड गर्न भनिन्छ।

स्काइप कलमा बर्दी लगाएका र झण्डासहितको टेबलपछाडि बसेका व्यक्ति देखिन्छन्। उनलाई कोठाको पर्दा बन्द गर्न लगाइन्छ। उता कोही व्यक्तिले बयान लिनेसँग २०७५ करोड रुपैयाँ सम्पत्ति शुद्धिकरणको मुद्दामा पहिला नै ऋचाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको र तुरुन्तै गिरफ्तार गर्नुपर्ने सुनाउँछन्। उनलाई नक्कली बैंक खाता, पासपोर्ट र विभिन्न फर्जी कागजात स्काइपमै पठाइन्छ।

यस्तो केरकार करिब दुई घण्टा चल्छ। “अभद्र वार्तालापका कारण मैले रुन शुरू गरिसकेको थिएँ। सात दिनसम्म कसैसँग कुरा नगरी प्रत्येक दुई घण्टामा आफ्ना गतिविधिको जानकारी दिन भनियो,” उनले भनेकी छन्।

आधार कार्डको दुरुपयोगले आफू नराम्ररी फसिसकेको उनलाई लागेको थियो। उनले लागुऔषध मुद्दामा फस्नुभन्दा आफैलाई समाप्त पार्ने विकल्पमा पनि सोच्न थालेकी थिइन्। 

आफ्नो अन्तिम अवस्था बुबाआमालाई थाहा सोस् भनेर कागजमा लेखेर उनले एक जना आफन्तलाई ह्वाट्स एपमा पठाइन्। उताबाट आफन्तले ‘यो ठगीका लागि गरिएको प्रयास हो’ भन्दा उनलाई विश्वास नै भएन।

त्यसपछि उनले आफ्ना हाकिमलाई फोन गरेर घटना सुनाइन् र आफू निर्दोष भएको पनि बताइन्। उनको हाकिमले अहिले यस्तो ठगी चलिरहेको भन्दै ढाडस दिए। हाकिमले लागातार सम्झाएपछि उनी हताश मानसिकताबाट बिस्तारै बाहिर आइन्। त्यसपछि उनलाई लाग्यो– भिडियो कलको रेकर्डबाट ‘आर्टिफिसियल इन्टेलिजेन्ट’ (एआई)को प्रयोग गरी उनीहरूले मेरो आवाज र भिडियो नक्कल गरेर आफ्नो परिवारलाई ठग्न सक्छन्। 

उनले परिवारमा फोन गरेर सावधान गराइन्। यसरी ‘डिजिटल अरेस्ट’बाट आत्महत्याको सोचसम्म पुगेकी उनी जोगिइन्। यस्ता ठगीबाट अरूलाई जोगाउन एउटा युट्युब च्यानलमा आफ्नो कथा सुनाइन्।

अनलाइन बयान वा सोधपुछ कानूनले नचिनको र सरकारी निकायले अभ्यासै नगरेको अनुसन्धान विधि हो। तर ठगी गर्ने गिरोहले यसरी डिजिटल अरेस्ट गरी पढेलेखेका, व्यवसायिक र प्रतिष्ठितलाई नै फसाइरहेका घटना बाहिर आउन थालेका छन्। डिजिटल अरेस्टमा परेकासँग ठूलो रकम अनलाइन ट्रान्सफर गर्न बाध्य पारिन्छ।

आफूलाई सरकारी गुप्तचर संस्था वा कुनै अनुसन्धान निकायको उच्च ओह्दाको अधिकारी भन्दै परिचय दिइन्छ। केही गम्भीर र महत्त्वपूर्ण विषयमा कुरा गर्न आवश्यक रहेको बताइन्छ। भिडियो कलमा आएर केही समान्य जिज्ञासाहरूको समाधान गर्न आग्रह गरिन्छ। यस प्रकारबाट हुने घटनाको जानकारी नभएकाहरू सजिलै जालोमा पर्छन्।

त्यस्तै, सरकारी अड्डाजस्तो लाग्ने ठाउँमा बसेर उताका व्यक्तिले आफ्नो अनुहार देखिने गरी नै पनि कुरा गरिरहेका हुन्छन्। कार्यालयकै टेबुल कुर्सी, फाइल, उपकरण, दराज र काममा व्यस्त मान्छेहरू पृष्ठभूमिमा हुन्छन्। सम्पत्ति शुद्धीकरण, लागुपदार्थ कारोबार, मानव बेचबिखन वा आयकर छलीजस्ता गम्भीर प्रकृतिको गैरकानूनी गतिविधिमा संलग्न भएको प्रमाण प्राप्त भएको बताउँछन्। उक्त विषयमा निश्चित सवालहरूको जवाफ नदिइकन संवाद भंग गरे मुद्दा अझ गम्भीर हुने चेतावनी दिन्छन्। भारतका विभिन्न शहरमा पछिल्लो समय यसरी गरिने ठगीलाई ‘डिजिटल अरेस्ट’ भनिएको छ।

डिजिटल गिरफ्तारीको ‘मोडस अपरेन्डी’ (विधि) प्रयोग गरेर भारतको परमाणु ऊर्जा विभागअन्तर्गत एक संस्थानका कर्मचारीलाई ७१ लाख रुपैयाँ ठगेको मध्य प्रदेशस्थित इन्दोरका प्रहरीले गत शुक्रबार खुलासा गरे। भारतीय दूरसञ्चार नियामक प्राधिकरणको अधिकारीका रूपमा आफूलाई प्रस्तुत गरी पीडितलाई अवैध विज्ञापन र टेक्स्ट म्यासेज पठाएको आरोप लगाएका थिए। 

राजा रामन्ना एडभान्स टेक्नोलोजी सेन्टर (आरआरसीएटी)मा वैज्ञानिक सहायकको रूपमा कार्यरत ती कर्मचारी डिजिटल अरेस्टमा परेका थिए। उनले गत सेप्टेम्बर १ मा उनको नाममा दिल्लीबाट जारी गरिएको ‘सिमकार्ड’मार्फत महिला उत्पीडन सम्बन्धी टेक्स्ट म्यासेज पठाइएको भनिएको थियो। उनविरुद्ध सम्पत्ति शुद्धीकरण र मानव बेचबिखनमा पक्राउ पुर्जी जारी गर्ने धम्की दिइएको थियो। 

एक नक्कली सीबीआई अधिकारीले भिडियो कलमा सोधपुछ गर्दै जाँदा पीडित त्रसित भए। उनले यसरी ठगीको जालो विछ्याउनेहरूले दिएको खातामा ७१.३३ लाख रुपैयाँ जम्मा गरिदिएको भारतीय सञ्चारमाध्यमलाई इन्दोरका प्रहरी अतिरिक्त उपायुक्त राजेश डन्डोटियाले बताएका छन्।

नेपालमा के छ?
नेपालमा डिजिटल अरेस्टका गतिविधि प्रकाशमा नआएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ। अनलाइन ‘स्क्याम’हरू भने ह्वातै बढेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थी बताउँछन्।

“स्क्याम सामान्य ठगीभन्दा फरक हो, यसमा व्यक्तिलाई प्रलोभनमा पारेर पैसा एक पटक वा पटक पटक गरेर लिइरहेको देखिन्छ,” उनी भन्छन्, “आर्थिक वर्ष २०७९÷८० मा सामाजिक सञ्जालको खाता ह्याक गरेर भएका ठगी धेरै थिए, अहिले स्क्याम धेरै छन्। यसपालि साउन, भदौ र असोज गरी तीन महिनामै पाँच हजार ३०० साइबर अपराधका घटना भएका छन्, यसमा सबभन्दा बढी स्क्याम छन्।”

अवस्थीका अनुसार विभिन्न खाले विज्ञापनमार्फत प्रलोभनमा पारी अनलाइन गेम खेल्न लगाउने र अनेक प्रलोभन र बाध्यतामा पारेर एकमुष्ठ ठूलो रकम ठग्ने घटना पनि भएका छन्। चालु आर्थिक वर्षको पहिलो तीन महिनामै २५ करोडभन्दा बढीका ठगीसम्बन्धी उजुरी साइबर ब्युरोमा आइसकेको उनले जानकारी दिए।

“यो भनेको साइबर ब्युरोमा आएको मुद्दाको मात्र विवरण हो, प्रहरीका विभिन्न इकाइ र जिल्ला प्रहरीमा पनि यस्ता ठगीका मुद्दा आउछन्,” उनी भन्छन्, “आज ( गत शुक्रबार) मात्र एक महिलाले चरिकोटबाट आफूसँग १५ लाख ठगी भएको भनेर फोन गरेकी थिइन्, उनलाई नजिक र सजिलो पर्नेगरी मैले जिल्ला प्रहरी कार्यालय दोलखामा जाहेरी दिन भनेको छु।” 

विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी अनेक बहानामा ठग्ने, महिलालाई चरित्र हत्याको धम्की दिएर ब्लेकमेल गर्ने, बैंक खाताहरूको जानकारी हात पारी पैसा गायब गर्नेजस्ता साइबर अपराध हुने गरेको अवस्थी बताउँछन्। उनी भन्छन्, “चिट्ठा, गिफ्ट, सस्तो फ्ल्याट, आकर्षक जागिर, अनलाइन सपिङ र मेरो सम्पत्तिको उत्तराधिकारी बनिदिनुस् जस्ता प्रलोभनमा पर्नु हुन्न भन्ने कुरा मानिसहरूले बुझ्नुपर्छ।” आफुसँग यस्ता गतिविधि भए प्रहरीलाई निर्धक्क बताउन उनी सल्लाह दिन्छन्।


सम्बन्धित सामग्री