Saturday, December 14, 2024

-->

न्याय सम्पादन प्रभावित हुने भयमा सूर्यदर्शन सहकारी पीडित

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा उनका समर्थकसँगै सहकारी पीडित सडकमा थिए। समर्थकले सरकारको विरोधमा नारा लगाए भने सहकारी पीडितले रकम फिर्ताको माग गरिरहे।

न्याय सम्पादन प्रभावित हुने भयमा सूर्यदर्शन सहकारी पीडित
सूर्यदर्शन सहकारी पीडित दिलकुमार महर्जन

पोखरा– सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम दुरुपयोग गरेको आरोपमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइरहँदा उनका समर्थकसँगै सहकारी पीडित सडकमा उत्रिएका थिए। यसरी दुवै पक्षका छुट्टाछुट्टै प्रदर्शनका कार्यक्रम तय भएपछि प्रशासनले बिहानैदेखि पोखराको सुरक्षा व्यवस्था कडा गर्नुपरेको थियो। त्यहीबीच समर्थकले सरकारको विरोधमा नारा लगाइरहे भने सहकारी पीडितले रकम फिर्ताको माग गरिरहे।

प्रदर्शन स्थलको कुनामा बसिरहेका सराङकोटका ६९ वर्षीय भीमप्रसाद चपाईंको २० लाख रुपैयाँ सूर्यदर्शन सहकारीमा फसेको छ। लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याइपुर्‍याएको मौकामा सहकारी पीडितले खबरदारी गर्ने खबर पाएर उनी आइतबार बिहानै सराङकोटदेखि पोखरा झरेका थिए।

पुर्ख्याैली जग्गा बिक्री गरेको रकम सहकारीमा जम्मा गरेको उनले सुनाए। चपाईंले कृषि विकास बैँकमा बचत गरेको रकम झिकेर सूर्यदर्शन बचत तथा ऋण सहकारीमा जम्मा गरेका थिए।

“ब्याज पनि घरमै ल्याइदिन्छौँ, पैसा चाहिए पनि घरमै ल्याइदिन्छौँ भनेर घरै गएका थिए। बुढाबुढीलाई सजिलो बनाइदिन्छौँ, सुरक्षीत हुन्छ भनेपछि सहकारीमा जम्मा गरेको थिएँ,” उनले भने। अहिले त्यहीँ रकम फिर्ता पाउन दुई वर्षदेखि धाइरहनु परेको उनले दुखेसो पोखे। सहकारीका बचतकर्ता उपचार नपाएर मृत्यु भएको खबर सुन्दा त उनी झन् भयभित हुन्छन्। 

भीमप्रसाद चपाईं

“बुढाबुढी नै रोगी छौँ, ४/५ जना बचतकर्ता उपचार गर्ने पैसा नपाएर मरिसके भन्ने समाचार सुनिन्छ। सरकार यदि छ भने हामीले बचत पाउनुपर्‍यो,” उनले भने। रास्वपाका समर्थकले गरेको प्रदर्शन देख्दा भने उनी आत्तिए। राजनीतिक शक्तिको अगाडि आफ्नो रकम ढिसमिस पो हुने हो कि भन्ने चिन्तासमेत छ उनलाई। “प्रहरीले थालेको छानबिनमा कुनै खाले दबाव या प्रभाव पर्न भएन,” उनले भने।

सहकारी संस्थाको बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा सूर्यदर्शनसमेतका सात सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ। समितिले गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई र तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, सदस्य कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ। प्रहरीले यसअघि नै जोशी र रम्तेललाई पक्राउ गरिसकेको छ। जोशीमाथि अनुसन्धान गर्नका लागि शुक्रबार नै कास्की जिल्ला अदालतले २० दिनको म्याद थप गरेको छ। रम्तेल पूर्पक्षका लागि जेल चलान भएका छन् भने राई फरार रहेका छन्।

यो पनि: रवि लामिछानेमाथि कुन–कुन कसुरमा हुँदै छ अनुसन्धान?

शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। प्रहरीले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार नै अदालतबाट अनुमति लिइसकेको छ। तर सहकारी पीडित भने आफूहरूको गुमेको रकम फिर्ता पाइने कुरामा ढुक्क हुन सकेका छैनन्।

पोखराको मालेपाटनबाट खबरदारी गर्न आएकी ५९ वर्षीया बालकुमारी गुरुङलाई राम्रोसँग निद्रा नपरेको महिनाैँ भइसक्यो। दु:खजेलो गरेर कमाएको १५ लाख रूपैयाँ बचत सोही सहकारीमा फसेदेखि उनी बिरामी भइहाले कसरी उपचार गर्ने चिन्तामा डुबिरहन्छिन्।

“बुढेसकालमा औषधि खान जम्मा गरेको रकम हो। सुगर छ, प्रेसर छ,” उनले भनिन्, “हामीले यस्तै दबाव दिए बचत फिर्ता पाइन्छ कि भन्ने आश पनि छ।”

पोखरा १३ काहुँखोलाका दिलकुमार महर्जनले वैदेशिक रोजगारबाट कमाएको पैसा शिद्धार्थ बैंकमा जम्मा गरेका थिए। तर १०/१५ प्रतिशत ब्याजदर पाउने प्रलोभनमा परी बैंकबाट सबै रकम झिकेर सूर्यदर्शन सहकारीमा जम्मा गरे। सहकारी संकटग्रस्त हुन थालेपछि दुई वर्षमा बचत दोब्बर हुने प्रलोभन देखाएको उनले सुनाए। अहिले सोही सहकारीको रकम दुरुपयोगमा राजनीतिक दलका उच्च नेता जोडिएपछि आफ्नो रकम हात लाग्ला भन्नेमा उनी विश्वस्त हुन सकेका छैनन्। 

“पैसा फिर्ता पाइएला जस्तो लागेको छैन। अहिले ग्रील कम्पनीमा काम गरेर २०/२५ हजार आम्दानी गरेर घरखर्च चलाइरहेको छु,” उनले भने।

यो पनि: सर्वसाधारणको ४२ अर्ब बचत फिर्ता हुने आधार के?

प्रशासनले रास्वपालाई निषेधित क्षेत्रमा प्रदर्शन गर्न दिए पनि आफूहरूलाई रोकावट गरेको पीडितहरूको गुनासो छ। “रास्वपाका समर्थकले चाहिँ नाराजुलुस गर्न पाउने हामी पीडितले नपाउने भन्ने पनि हुन्छ?,” दिलकुमारले भने आक्रोश पोख्दै भने, “यस हिसाबले पनि रकम फिर्ता पाइने/नपाइनेमा मलाई शंका लाग्छ, हामीलाई त हाम्रो बचत रकम फिर्ता पाए अरू मतलब छैन।”

दया थापा गौतम

आफ्नो फसेको रकम फिर्ताका लागि सरकारलाई खबरदारी दिन पुगेकी सहकारी पीडित दया थापा गौतम पनि निराश देखिइन्। रास्वपा समर्थकले आफूहरूलाई नक्कली पीडितको आक्षेप लगाएको भन्दै उनले रोष प्रकट गरिन्। रविको समर्थनमा उत्रिएका समर्थकले सहकारी पीडितको पनि न्याय माग गरेकाले शुरूमा हर्षित भए पनि नक्कली पीडित पनि छन् भनेर आरोप लगाएको उनले बताइन्। 

“हामी नेता बन्ने होइन। बस् हामीलाई हाम्रो बचत फिर्ता देउ,” उनले ठूलो स्वरले नारा लगाइन्।

पीडित बचतकर्ताको नेतृत्व गरिरहेका किरण श्रेष्ठले सरकारले पीडित बचतकर्ताको बचत रकम फिर्ता गर्ने स्पष्ट योजना ल्याउन नसकेको भन्दै आपत्ति प्रकट गरे। अभियुक्तलाई पक्राउ गरेर मुद्दा चलाएर मात्रै समस्या समाधान नहुने उनको भनाइ छ।

“कहिलेसम्म हो सरकारको यो रङ, अझै गर्नुपर्ने थुप्रो काम बाँकी नै छन्, पीडितलाई विश्वस्त तुल्याउने गरी काम गर्नुपर्‍यो,” उनले भने। सहकारीको रकम अपचलन गरेर दुरुपयोग भएको सम्पत्ति तुरुन्त पहिचान गरी समस्या चाँडो छिनोफानो गर्न उनले अपिल गरे।


सम्बन्धित सामग्री