काठमाडौँ– असरल्ल टाइल्स, सामान ओसार्न प्रयोग भएका तीनवटा टिप्पर, ठाउँठाउँमा थुपारिएको सिमेन्ट, गिट्टी र बालुवा, स–साना लठ्ठीमा उनिएका तारले लगाइको सिमाना, दुबोमा पानी छरिरहेका काठमाडौँ महानगरका कामदार। यो दृश्य हो खुलामञ्चको।
झट्ट हेर्दा खुलामञ्चमा धमाधम भौतिक निर्माण भइरहेको झल्को दिन्छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धर पनि खुलामञ्चमा निर्माणको काम भइरहेको बताउँछन्।
मानन्धरका अनुसार खुलामञ्चलाई हरियालीयुक्त बनाउने योजनासहित कामअघि बढेको छ। तर महानगरको पहिलाको विवादित योजनाअनुसार फुटसल बन्न थालेको हो वा होइन भनेर उनले स्पष्ट बताएनन्। “अहिलेको लागि हामी हरियालीयुक्त बनाउन दुबो रोप्न लागिएको हो। दुबो रोपिसकिएको छ। छेउछाउको भागमा खालीस्थान हुँदा त्यहाँ मानिसहरू हिँड्ने मिल्ने हिसाबले ट्र्यायाक बनिरहेको हो,” उनले भने।
गत वर्ष काठमाडौँ महानगरले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ, वाटर रिचार्ज सिस्टम र फुटसल मैदान बनाउने योजना बनाएको थियो। तर अकुपाई टुँडिखेलका अभियन्ताले खुलामञ्चमा बन्न लागेको फुटसल मैदानलगायत संरचनाको विरोध तथा खबरदारी गरेका थिए। त्यसपछि महानगर प्रमुख बालेन शाहले खुलामञ्च खुलै रहने आशयको पोस्ट सामाजिक सञ्जालमा गरेका थिए।
महानगर प्रवक्ता मानन्धर अभियन्ताहरूसँग खुलामञ्चबारे अहिले कुनै विवाद नभएको बताउँछन्। उनी भन्छन्, “केवल एउटा मिसअन्डरस्ट्यान्डिङ (बुझाइमा गल्ती) भएको थियो। खुलामञ्चमा कतै खनजोत, पोल गाड्ने केही हुनलागेको हो कि भनेर शंका थियो। तर त्यहाँ दुबो मात्र रोपिएको कारण उहाँहरूसँग खास समस्या छैन।”
काम सकेपछि खुलामञ्च खुला गरिने मानन्धर बताउँछन्। “अब त्यो (खुलामञ्च खुला गर्ने) भने जनताको हातमा छ, जनताले नरोके चाँडै खुलामञ्च खुल्ला हुन्छ,” उनी भन्छन्।
यो पनि: खुलामञ्च : सधैँ निशानामा, सधैँ विवादमा
खुलामञ्चमा भइरहेको निर्माणबारे आफूहरूलाई जानकारी नभएको अकुपाई टुँडिखेलका अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन्। महानगरसँग हालसम्म कुनै संवाद र समझदारी नभएको उनको भनाइ छ। यद्यपि, खुलामञ्चमा भएको कामलाई नजिकबाट नियालिरहेको उनले बताए। टुँडिखेलको १५ प्रतिशत भाग पनि खुला नभएको भन्दै उनले खुलामञ्चमा भइरहेको निर्माणको विषयमा सूचनाको हकअन्तर्गत सूचना माग्ने उनको भनाइ छ।
गत भदौमा पनि उनले सूचनाको हक प्रयोग गरेर खुलामञ्चमा भइरहेको निर्माणबारे जानकारी मागेका थिए। महानगरले उनलाई दिएको पत्रमा त्यहाँ दुबो रोपेर घाँसेमैदान बनाउन लागिएको उल्लेख छ।
यद्यपि, घाँसेमैदान बनाउने विषयमा श्रेष्ठ आंशका गर्छन्। घाँसेमैदान नै भएको भए रैथाने दुबो घाँस प्रयोग हुनुपर्ने उनको भनाइ छ। त्यहाँ चिनियाँ दुबो रोपिएको उनी बताउँछन्।
यो पनि: खुलामञ्चमा ‘बन्द अभ्यास’
इतिहासकार दिनेशराज पन्त टुँडिखेलको इतिहास लिच्छविकालसम्म जोडिएको बताउँछन्। उनका अनुसार, अंशुवर्माको शासनमा बिउ बर्मा भनिने सरकारी जागिर खाने एक व्यक्तिले त्यहाँ धारो बनाएका थिए। टुँडिखेलको पहिलो खण्ड प्रतापमल्लको पालामा रानी पोखरी निर्माणको क्रममा पहिलो पटक विभाजन भएको जानकारहरूको भनाइ छ।
अकुपाई टुँडिखेलका सदस्य तथा सम्पदा अभिलेखनकर्ता आलोकसिद्धि तुलाधारका अनुसार नेपालको ऐतिहासिक कालखण्डमा टुँडिखेल खण्डित हुँदै आयो। २०१७ सालमा राजा महेन्द्रले रानी रत्नराज्यलक्ष्मीका नाममा रत्नपार्क बनाउन टुँडिखेल खण्डित गरियो। त्यसपछि शहीदगेट बनाउन, दशरग रंगशाला बनाउन र सडक विस्तार गर्न टुँडिखेललाई टुक्रा पारियो। दक्षिणतर्फको टुँडिखेलको भू–भाग सेनाले कब्जा गरेर आफ्नो मुख्यालय नै खडा गरेको छ।