काठमाडौँ– स्नातकोत्तर अन्तिम वर्षमा अध्ययन गरिरहेकी इलामकी भिष्म लिम्बूले दशैँ–तिहारको लामो बिदा परिवारसँग बिताउने योजना बनाएकी थिइन्। असोज ११ र १२ गते देशैभर परेको मुसलधारे पानीसँगै आएको बाढीपहिरोले धेरै सडक अवरुद्ध भए। पानीले सडक मात्रै बिगारेन, लिम्बूको योजना पनि बिगार्दियो।
प्रायः सडक मार्गबाट यात्रा गर्ने उनी पहिरोमा सवारीसाधन पुरिएका खबर धमाधम आउन थालेपछि डराइन्। उनले सडकबाट यात्रा गर्ने सोच त्याग्नि र काठमाडौँदेखि भद्रपुरसम्म हजाइजहाजको टिकट खोज्न थालिन्।
“टिकट पाउन सजिलो थिएन्, एक हप्ताको प्रयासपछि मात्र टिकट पाएँ,” उनी भन्छिन्, “एयरपोर्ट पुगेपछिको भिड अनौठो थियो। मान्छेहरूलाई बस्न त पर जाओस्, उभिन पनि ठाउँ पाउन गाह्रो थियो। वृद्धवृद्धा र काखमा दुधे बच्चा बोकेका आमाहरूसमेत घण्टौँ उभिएर फ्लाइट पर्खिरहेका थिए।”
उनी विजया दशमीको अघिल्लो दिन असोज २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल पुगिन्। त्यहाँ युवाहरूले बस्नका लागि वृद्ध, असक्त, बालबालिका र दुधे बच्चासहितका आमाहरूप्रति सदासयता नदेखाउँदा आफू खिन्न भएको उनले सुृनाइन्। यात्रु प्रतिक्षालयमा दुई घण्टा, विमानस्थलमा बसमा चढेपछि २५ मिनेट, बसबाट ओर्लिने बेलामा २० मिनेट, जहाज चढेपछि २५ मिनेट र उड्नको लागि ‘रन–वे’मा गइसक्दा अर्को १५ पर्खनु परेको थियो।
समग्रमा तीन घण्टा २५ मिनेट पर्खेर मात्र उनी उड्न पाइन्। उडान समयको पर्खाई पट्यारलाग्दो भए पनि भद्रपुर विमानस्थल ओर्लेपछि खुशी लागेको उनी बताउँछिन्। उनी अहिले पनि इलाममा परिवारसँगै छिन्।
काठमाडौँमा कक्षा १२ पढ्दै गरेर वीरगन्जका सौर्य गर्ग दशैँमा बल्खुबाट विद्युतीय माइक्रोबस चढेर घर पुग्ने योजनामा थिए। परिवारलाई पनि त्यही जानकारी गराएका थिए। तर घर जाने अघिल्लो दिन मात्र भएको अतिभारी वर्षाले सडक अवरुद्ध भयो। उनी बसिरहेको निजी होस्टेल खाली भइसकेको थियो। उनी पनि घर जाने हतारोमा थिए। तर काठमाडौँबाट सवारीसाधनमा निस्किन सम्भव नै थिएन।
बुवा ऋषिकेष चौबेले हवाई सेवा प्रदायक कम्पनीको वीरगन्जस्थित कार्यालयमा पुगेर छोराका लागि टिकट किन्न खोजे। तर दशैँको मुख, त्यसमा पनि सडक अवरुद्ध भएको बेला तत्काल टिकट पाउन सम्भव थिएन। लगातार दुई दिन धाएपछि अर्को दिनको टिकट हात पर्यो। “टिकट पाउन कठिन थियो, जे होस् हवाइजहावबाट भए पनि छोरा आइपुगेपछि हामी खुशी छौँ, दशैँमा परिवार एक ठाउँ भयौँ,” ऋषिकेषले भने।
दशैँअघि संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने राजमार्ग र सहायक राजमार्गहरू पहिरोको चपेटामा परे। सडकबाट आवागमन बिथोलिएपछि त्यसको प्रभाव हवाइसेवामा पर्यो। दशैँकै समयमा सडक अवरोध हुँदा यात्रुको चाप बढी नै भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कार्यालयका सूचना अधिकारी तेजबहादुर पौड्याल बताउँछन्।
यसपटक दशैँ र सेरोफेरोका १६ दिनमा आन्तरिकतर्फ अहिलेसम्मकै बढी उडान र यात्रुको चाप देखिएको पौड्यालको भनाइ छ। यस अवधिमा त्रिभुवन विमानस्थल पूर्ण क्षमताभन्दा बढीमा चलेको थियो। यो विमानस्थलमा आगमन र प्रस्थान गरी प्रतिदिन ४५० उडान हुनसक्छ। सामान्य अवस्थामा प्रतिदिन ४०० उडान र अवतरण हुने गरेको छ। तर असोज १३ गतेदेखि १६ दिनसम्म हरेक दिन ५०० भन्दा बढी उडान र अवतरण भएका थिए।
यो पनि: सडकको चाप विमानस्थलमा: भिडले टर्मिनल अस्तव्यस्त, उडान ६ घन्टासम्म ‘डिले’
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले दिएको जानकारी अनुसार असोज १३ गतेदेखि १६ दिनभित्र आन्तरिकतर्फ मात्र पाँच हजार १०८ वटा उडान र अवतरण भए। अन्तर्राष्ट्रियतर्फ एक हजार ७४४ उडान तथा अवतरणसमेत जोड्दा कुल ६ हजार ८५२ उडान र अवतरण भए।
भीषण वर्षाका कारण असोज ११ र १२ गते काठमाडौँबाट कुनै उडान हुन सकेन। १३ गते अर्थात् दशैँ शुरू हुनु चार दिन अगाडिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको भिड नै उर्लियो। त्यसयता १६ दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पाँच लाख ३८ हजार ५८२ जनाले हवाई यात्रा गरेका छन्।
यसमध्ये आन्तरिकतर्फ दुई लाख ७४ हजार ५७७ जनाले यात्रा गरे। यस अवधिमा आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक औसत १७ हजार १६१ यात्रुको आवागमन भयो। सबभन्दा बढी असोज १४ गते १९ हजार १५६ यात्रुले आन्तरिक उडानको सेवा लिए।
विजया दशमीको दिन अर्थात् असोज २६ गते यस अवधिको सबभन्दा कम १४ हजार ११२ यात्रुले हवाई यात्रा गरे। विमानस्थल कार्यालयका अनुसार सामान्य समयमा करिब १२ हजार जनाले यात्रा गर्छन्।
दशैँमा असोज २४ देखि गते ३० गतेसम्म अर्थात् फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म मात्र आन्तरिकतर्फ दुई हजार १५९ उडान र अवतरण भए। अन्तर्राष्ट्रियतर्फ ७८१ वटासमेत गरेर सात दिनमा दुई हजार ९४० उडान र अवतरण भए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न ठाउँमा आन्तरिकतर्फ सात वटा कम्पनीले उडान गर्छन्। अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० कम्पनीले उडान गर्छन्।
असोज १६ गते बसेको नागरिक उड्ययन प्राधिकरणको बैठकले यात्रु चापलाई मध्यनजर गर्दै आन्तरिकतर्फ उडानको समय बढाएको थियो। “बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज १७–३० (घटस्थापनादेखि पूर्णिमासम्म) मा त्रि.अ.वि., गौतमबुद्ध, पोखरालगायत रात्रीकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान ४ः३० बजेदेखि राति १२ः०० बजेसम्म नै (आवश्यकताअनुसार थप हुने) सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ,” प्राधिकरणले समाजिक सञ्जाल एक्समा जारी गरेको सूचनामा जनाएको थियो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पनि उकालोसँग सो अवधिमा देशभरका नौ वटा विमानस्थलबाट बिहान ६ बजेको ठाउँमा साढे ४ बजेदेखि नै उडान गर्ने व्यवस्था मिलाएको बताए। उनले भने, “आज (बिहीबार)देखि साबिक समय तालिकामा हामी फर्कियौँ। यसबीचको उडान सेवा निकै व्यस्त रह्यो, धेरै संख्यामा यात्रुलाई हवाई सेवा दिदा चाप त हुने नै भयो।”
सडक यातायात अवरुद्ध हुँदा त्यसको परिपूर्ति हवाई सेवाले गर्नुपर्ने प्राधिकरणको मान्यता रहेको भुल बताउँछन्। चाडपर्वको बेला यतिकै पनि यात्रुको चाप १० देखि १५ प्रतिशत बढी हुने उनको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थल निर्बाध सञ्चालन हुन सम्भव हुँदा हवाई सेवा प्रभावकारी भएको उनी बताउँछन्।