Saturday, December 14, 2024

-->

नारायणीमा साढे ५ करोड खर्चेर झोलुंगे पुल, निकुञ्जको अड्चनले २ वर्षदेखि ताला

चितवनको बाल्मिकि आश्रम र नवलपरासीको त्रिवेणीधाम जोड्न नारायणी नदीमा  झोलुंगे पुल बनाउनै आठ वर्ष लाग्यो। बनाइसकेको पनि दुई वर्ष भयो। तर ताला लगाएर बन्द गरिँदा नेपाली भूभाग पुग्न भारत भएर जानुपर्छ।

नारायणीमा साढे ५ करोड खर्चेर झोलुंगे पुल निकुञ्जको अड्चनले २ वर्षदेखि ताला
बन्द नभएको त्रिवेणी क्षेत्रबाट तस्वीर लिन प्रवेश गरेका आगन्तुक। तस्वीर: मुकेश/उकालो

त्रिवेणी (नवलपरासी)– चितवनको माडी नगरपालिका–१ मा पर्छ बाल्मिकि आश्रम, तर यहाँ पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्छ। नेपाली भूमिबाट आश्रम जान नारायणी नदी बाधक छ।

राम र सीतासँग जोडिएको धार्मिक मान्यता बोकेको बाल्मिकि आश्रम पुग्न नवलपरासीको त्रिवेणीधामबाट भारत गएर फेरि नेपालतिर आउनुपर्छ। यसरी जाँदा भारतीय सुरक्षाकर्मीले सहज प्रवेश नदिने धेरैको गुनासो छ। कतिपय धार्मिक पर्यटकलाई त भारतीय प्रहरीले सीमाबाटै फर्काइदिने गरेको छ। त्यही कारण नेपाली भूमिबाटै बाल्मिकि आश्रम पुग्न नारायणी नदीमा झोलुंगे पुल बनाइएको दुई वर्ष भइसकेको छ। तर पुलमा ताला लगाएर राखिएको छ।

नेपाल सरकारको स्थानीय पूर्वाधार विभागले आठ वर्ष लगाएर ५ करोड ५७ लाख रुपैयाँ खर्च गरी बनाएको पुल ४९७ मिटर लामो छ। पुल चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ। निकुञ्जकै अड्चनका कारण निर्माण सम्पन्न भएको दुई वर्षसम्म पुल सञ्चालनमा आउन सकेको छैन।

त्रिवेणीका स्थानीय भोजबहादुर थापाका अनुसार वारि नारायणी किनारदेखि पारि बाल्मिकि आश्रमसम्म पुग्ने बाटो छैन। बनेको पुल पनि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अनुमति नदिँदा ताला लगाएर बन्द गरिएको छ।

विनयत्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाह निकुञ्जको प्रक्रिया र झमेलाका कारण पुल निर्माणमा नै ढिलाइ भएको बताउँछन्। पुल निर्माण भइसकेपछि पनि निकुञ्ज कार्यालयले दिनुपर्ने आवश्यक स्वीकृति र गर्नुपर्ने सम्पूर्ण काम समयमै नगर्दा पुल सञ्चालन गर्न नसकिएको उनको भनाइ छ।

“निकुञ्जका आफ्ना नियम र त्यसलाई पालना गर्नुपर्ने बाध्यताले पुल निर्माणमै समय लाग्यो। निर्माण भएपछि पनि प्रक्रिया फटाफट पूरा नहुँदा सञ्चालनमा आएको छैन,” उनी भन्छन्, “हामीले पुल सञ्चालनका लागि गर्नुपर्ने काम सबै गरिसकेका छौँ। निकुञ्ज कार्यालयले पुलको छेउमा एउटा सुरक्षा पोस्ट राखेर बाल्मिकि आश्रम जाने मानिसको लगत राख्न शुरू गरिदिए सञ्चालनमा आउँछ।” 

पुलको पूर्वीक्षेत्र चितवनतर्फ ताला लगाइएको छ। नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–६ मा पर्ने गजेन्द्र मोक्षधाम पुग्ने पर्यटकका लागि तस्वीर लिने र टिकटिक बनाउने स्थलका रूपमा मात्र पुलको प्रयोग भइरहेको छ।

त्रिवेणीका स्थानीय भोजबहादुर थापा निकुञ्जभित्र बाटो निर्माण नभएको र बाटो बनाउने प्रक्रिया पूरा नभईसक्दा पुल सञ्चालनमा ढिलाइ भएको बताउँछन्। “पुल बन्छ भन्ने कुरा पनि आठ वर्षअघि नै सबैलाई थाहा थियो। पुल सम्पन्न भयो। तर यतिका वर्षसम्म निकुञ्ज क्षेत्रमा बाटो बनाउने कुरामा कसैको ध्यान गएन।” थापा भन्छन्, “जब पुल बन्यो बाटो भएन। अनि बाटो बनाउने प्रक्रियाले दुई वर्षभन्दा बढी समय लियो। हाम्रो सोच र विकासको स्तर कहाँ छ भन्ने एउटा उदाहरण हो यो।”

थापाका अनुसार निकुञ्ज क्षेत्रमा बाटो बनाउने प्रयोजनका लागि मेसिनरी औजार भारतीय भूमि हुँदै लैजानुपर्छ। बागमती प्रदेशमा पर्ने चितवन राष्ट्रिय निकुञ्जमा अग्निरेखाका रूपमा सडक बनाउने प्रयोजनका लागि गण्डकी प्रदेशले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो। तर भारतीय पक्षले भारतीय भूमि हुँदै चितवन राष्ट्रिय निकुञ्जमा मेसिनरी औजार लैजान नदिएपछि प्रदेश सरकारले विनियोजन गरेको बजेट फिर्ता गयो।

बजेट फिर्ता गएपछि स्थानीयले बाटो निर्माणका लागि व्यक्तिगत रूपमा ५ लाख रुपैयाँ उठाएका छन्। “अब हामीले उठाएको पैसाबाट मानिस लगाएर अप्ठ्यारो ठाउँमा बाटो बन्छ,” थापा भन्छन्, “हामीले अनुगमन पनि गर्‍यौं, एकदुई ठाउँमा सम्याउने बित्तिकै बाटो बन्छ। बाटोका कारण अब रोकिनु पर्दैन।”

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले प्रवेश अनुमति खुलाउनासाथ त्रिवेणीबाट नेपाली भूमि हुँदै बाल्मिकि आश्रम पुग्न सकिने उनी बताउँछन्। उनका अनुसार त्रिवेणीबाट एक देखि डेढ घण्टाको पैदलयात्रामा बाल्मिकि आश्रम पुग्न सकिन्छ।

नेपाल तर्फबाट बाल्मिकि आश्रम पुग्न सहज भएपछि त्रिवेणीमा नेपाली र भारतीय धार्मिक पर्यटक बढ्ने उनको विश्वास छ। त्यसकारण पनि स्थानीयले सकेसम्म छिटोभन्दा छिटो पुल सञ्चालनमा ल्याउन चाहेको थापाले बताए। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कंडेल भने पुल निर्माण हुँदैमा निकुञ्जभित्र प्रवेश नखुल्ने बताउँछन्। “पुल सम्पन्न भएको रिपोर्टिङ हामीलाई छैन। पुल बन्दैमा निकुञ्जजस्तो सम्वेदनशील ठाउँमा खुरुखुरु मानिसहरूको प्रवेश दिनुपर्छ भन्ने हुँदैन,” उनी भन्छन्, “पुल मात्र बनेर हुँदैन, त्यहाँ बाटो निर्माण गर्नुपर्‍यो। सुरक्षाको व्यवस्था गर्नुपर्‍यो। यी सबै कुरा नभएसम्म मानिसलाई कसरी प्रवेश दिने!”

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को)सँग स्वीकृत लिनुपर्नेलगायत थुप्रै प्रक्रिया पूरा गर्नुपर्ने र त्यसका लागि समय लाग्ने कंडेलको भनाइ छ। तर त्यसतर्फ अहिलेसम्म कुनै काम नै नभएकाले तत्काल झोलुंगे पुल सञ्चालनमा आउन नसक्ने उनी बताउँछन्।


सम्बन्धित सामग्री