काठमाडौँ— काभ्रे घर भएका दिलबहादुर सुनार (६५) थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आकस्मिक भवनअघि खुला स्थानमा आराम गरिरहेका थिए। उनी गर्भवती बुहारीलाई लिएर श्रीमती जुनुकुमारीसहित अस्पताल आएका थिए। चिकित्सकले दिएको मितिमा बच्चा नजन्मिएपछि उनीहरू काभ्रेदेखि आइपुगेका हुन्।
शुरूका दुई दिन सामान्य वार्डमा राखेपछि शल्यक्रिया गरी बच्चा निकालियो। बुहारीलाई भर्ना गरेदेखि नै साथमा महिला मात्र बस्न मिल्ने बताइएपछि सासूले कुरिन्। काठमाडौँमा नजिकका आफन्त नभएकाले दिलबहादुरको जाने ठाँउ भएन। उनी म्याट ओछ्याएर बाहिर खुला ठाउँमा नै बसे।
अस्पतालको कुरुवाघरबारे आफूलाई कसैले पनि जानकारी नदिएको उनी बताउँछन्। “अरू सबै बाहिर भुईंमै बसेको देखेर यहीँ बस्ने होला भन्ने लाग्यो, अनि म्याट किनेर सुत्न थालेँ” उनी भन्छन्, “बाहिर बस्न पनि कहिले त ठाउँ नै पाइँदैन।”
अस्पतालले २०७४ असोजमा धुमधामका साथ कुरुवाघर सञ्चालनमा ल्याएको थियो। अस्पताल परिसरमा निर्माण गरिएको तीनतले भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै कुरुवाघरको व्यवस्था थियो। ३ करोड ५२ लाख लागतमा बनेको भवनमा बिरामीका कुरुवा भने बस्दैनन्।
भवनको पहिलो तलामा अस्पतालले कर्मचारीको क्यान्टिन चलाइरहेको छ। तेस्रो तलालाई अस्पतालमा आवश्यक कपडा सिलाउने ठाउँ बनाइएको छ। दोस्रो तलामा हल बनाएर कुरुवाका लागि छुट्याइएको छ। महिला र पुरुषका लागि छुट्टाछुट्टै स्थान छैन। हलमा कुरुवाका लागि खाट, लकरलगायत कुनै पनि आवश्यक सामग्री छैनन्।
उपियाँ र उडुस लाग्ने, पाकेटमार आउने र बिरामीबारे समयमा नै सूचना नदिने जस्ता समस्याका कारण त्यहाँ बस्न नसकिने कुरुवाहरूको गुनासो छ। महिला र पुरुषका लागि अलग ठाउँ नहुँदा असहज हुने कतिपय बताउँछन्। प्रायः बिरामी कुरुवा अस्पतालबाहिर चौर वा अन्य स्थानमा सुतिरहेका भेटिन्छन्।
कुरुवाका कारण साँझ ७ बजेपछि अस्पतालको इमेर्जेन्सी भवनअघिको खाली ठाउँमा खुट्टा राख्नसमेत सकिँदैन। सिमेन्टको चिसो भुईंमा म्याट र सिरकको भरमा कुरुवा सुतिसकेका हुन्छन्। उता कुरुवाघर भने प्रायः खाली हुन्छ।
सिन्धुपाल्चोक घर भई गौशाला बस्दै आएका नवीन आचार्य अस्पतालको ओपीडी जाने बाटोको कुनामा विस्तारा लगाएर आराम गरिरहेका थिए। उनी आफ्नी गर्भवती श्रीमती लिएर अस्पताल पुगेका हुन्। वार्डमा बस्न निषेध हुँदा कुना खोजेर विस्तारा लगाएको उनले बताए।
उनलाई चाहिँ अस्पताल परिसरमा कुरुवाघर भएको जानकारी छ। तर त्यहाँ उडुस र उपियाँले हैरान बनाउने गुनासो गरे। “एकदुई महिनापहिले पनि म आएको थिएँ। त्यस बेला राति उपियाँ र उडुसले सुत्नै सकिनँ। अहिले आएदेखि नै म त्यहाँ गइनँ, बाहिरै सुत्नु ठीक,” उनी भन्छन्।
उनकी श्रीमतीलाई सामान्य वार्डमा राखिएको थियो। सुत्केरी राखिने भवनदेखि कुरुवाघर करिब ५० मिटरको दूरीमा छ। कुरुवाघरको दोस्रो तलासम्म वार्डको सूचना नै नपुग्ने हुँदा त्यहाँ बस्न कठिन हुने आचार्यको भनाइ छ।
धादिङ गजुरीका रवीन्द्र अर्यालकी श्रीमतलीलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘लेबर रुम’मा राखिएको थियो। साँझ ७ बजेतिर उनी आफ्नी भाउजूसँग आकस्मिक भवनअघि चौरमा थिए। उनलाई रात कहाँ बिताउने भन्ने चिन्ता थियो।
चार वर्षअघि पहिलो सन्तान हुँदा नै उनी कुरुवाघरमा बसेका थिए। तर पाकेटमारले सामान चोरेर हैरान बनाएपछि यसपटक त्यहाँ नबस्ने सोच बनाएका थिए। उनले भने, “पाकेटमारको बिगबिगी त छँदैछ, महिला, पुरुष र बालबच्चा सबै एकैठाउँ हुन्छन्। त्यस्तोमा हामी छोरा मान्छेहरूलाई अप्ठ्यारो हुन्छ। छुट्टै भए त सावधान भएर बस्न सकिन्छ नि। बरु यहाँ भुईंमै ठीक छ।”
कुरुवाघर सञ्चालनको तीन वर्षसम्म पहिलो र दोस्रो तलामा महिला र पुरुषका लागि फरक–फरक ठाउँ थियो। तर कुरुवा नबस्दा सधैँजसो खाली भएपछि अस्पतालले क्यान्टिन चलाउन थालेको अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारी बताउँछन्। बिरामीबारे सहजरूपमा खबर लिनका लागि पनि कुरुवाहरू बाहिर बस्ने गरेको उनको भनाइ छ।
क्यान्टिन बनाएपछि पनि महिला र पुरुषका लागि छुट्टाछुट्टै कक्ष भएको निर्देशक अधिकारी दाबी गर्छन्। बरु बजेटको कमीले कुरुवाघरमा आवश्यक सामग्री व्यवस्था गर्न नसकिएको उनी बताउँछन्। “महिला र पुरुषका लागि छुट्टै कुरुवाघरको व्यवस्था छ,” उनी भन्छन्, “कुरुवाघरमा कोठा निर्माण गर्ने, सुत्ने खाटसहित सामान सुरक्षित राख्ने लकरको व्यवस्थालगायत कामका लागि बजेटको कमी छ। अन्यथा सुरक्षा गार्ड, माइकिङ गरेर बोलाउने, सरसफाइ गर्नेलगायत काम गरिरहेका छौँ।”
यहाँका एक कर्मचारी भने अस्पतालका निर्देशक नै कुरुवाघरबारे जानकार नभएको बताउँछन्। नाम बताउन नचाहने ती कर्मचारीका अनुसार बिरामीको साथमा एक जना महिला कुरुवा बस्ने हुनाले पुरुष कुरुवालाई मात्र बस्ने ठाउँको व्यवस्था गरिएको हो। उक्त हलमा करिब ६० जना बस्न सक्छन्।
“एक जना महिला बिरामीसँगै बस्न पाइन्छ, त्यसैले पुरुषलाई माथि कुरुवाघर बनाइएको हो। थप महिला आए त्यहीँ बस्नुहुन्छ,” उनी भन्छन्, “पहिलाको महिला कुरुवाघरलाई क्यान्टिन बनाइएको छ। तर यस विषयमा अस्पतालले सोच्नुपर्छ।”