Saturday, November 02, 2024

-->

नेपालको पदयात्रा : विदेशीले शुरू गरेर संसारभर प्रचार गरे, अहिले जोगाउन चुनौती

करिब ७५ वर्षअघि नेपालमा पदयात्राको शुरूआत गरेर विदेशीले विकास र विस्तारमा समेत योगदान दिए। अब भने मोटरबाटो र सिमेन्टको प्रयोगले पदमार्गहरू मासिने अवस्थामा पुगेका छन्।

नेपालको पदयात्रा  विदेशीले शुरू गरेर संसारभर प्रचार गरे अहिले जोगाउन चुनौती

काठमाडौँ– भक्तपुर सिरुटारका सञ्जय बस्नेत गत वर्ष घटस्थापनाको दिन साथीहरूसँग लाङटाङ पदयात्रामा निस्किएका थिए। करिब एक हप्ताको पदयात्रापछि दशैँ मनाउन घरै आइपुगे।

यो वर्ष पनि गएको असोज १८ गतेदेखि साथीहरूसँग च्छोरोल्पा पदयात्रामा जाने योजना बनाएका थिए। तर त्यसअघि नै बाढीपहिरोले देशका धेरै राजमार्ग अवरुद्ध भएपछि पदयात्रामा जाने योजना रद्द गरे। “दशैँ वा तिहारको बिदामा पदयात्रा गर्न रमाइलो लाग्छ। अरू बेला काममै व्यस्त भइन्छ, बाहिर निस्किएर ठाउँ हेर्ने र आफूलाई रिफ्रेस गर्ने समय पनि हो यो,” उनी भन्छन्।

पछिल्लो दशक नेपालीहरू पदयात्रामा निस्कने क्रम निकै बढेको छ। दशैँ, तिहारजस्ता लामो बिदा हुने चाडमा पदयात्रामा निस्कने धेरै छन्। नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान)का पूर्वअध्यक्ष ज्योति अधिकारीका अनुसार असोज–कात्तिकको मौसम पदयात्राका लागि उपयुक्त हुन्छ। यो समय पहाडीदेखि उच्च हिमाली क्षेत्रसम्म पदयात्रामा निस्कने धेरै हुन्छन्।

नेपालमा पदयात्राको शुरूआत, विकास र विस्तार भने विदेशीले गरेका थिए। करिब ७५ वर्षअघि शुरू भएको पदयात्रा अहिले पर्यटन क्षेत्रको महत्त्वपूर्ण हिस्सा भएको छ।

पदयात्राको इतिहास
नेपालमा पदयात्राको इतिहास सन् १९५० देखि शुरू भएको मानिन्छ। सन् १९४९ मा बेलायतका साहसिक पदयात्री बिलटिलम्यानले कालीगण्डकी, सगरमाथा र हेलम्बु क्षेत्रमा पदयात्राका लागि अनुमति लिएका थिए। त्यो समयदेखि नै विदेशीलाई नेपालका पदयात्रा खुला भएको मानिन्छ। सन् १९४९ मै ८ हजार मिटर उचाइका १४ वटा हिमाल आरोहणका लागि खुला गरिएको थियो।

खुला गरेका १४ हिमालमध्ये आठ वर्षभित्र १० वटा हिमालको आरोहण भएको थियो। ८ हजार मिटर अग्ला हिमालमध्ये पहिलो पटक आरोहण भएको अन्नपूर्ण हो। ८ हजार ९१ मिटर अग्लो यो हिमाल सन् १९५० मा आरोहण भएको हो। 

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरे। उक्त समाचारसँगै नेपालको नाम र नेपालका हिमालको ख्याति संसारभर फैलिन थालेको पुराना पर्वतारोही एवम् पर्यटन व्यावसायी आङ्छिरिङ शेर्पा बताउँछन्। हिमालको चर्चा बढेसँगै विदेशी पर्यटक आउने क्रम बढेको हो।

नेपालमा व्यवसायिक पदयात्राको शुरूआतको श्रेयचाहिँ बेलायती नागरिक कर्णेल जिमी रोबर्टसलाई जान्छ। काठमाडौँस्थित बेलायती दूतावासका सैनिक सहचारी रहेका उनी नेपालका पहाडी क्षेत्र घुम्न जान्थे। सन् १९४९ मा बिलटिलम्यानले गरेको पदयात्रामा उनले पनि साथ दिएका थिए। अन्ततः सन् १९६५ मा उनले काठमाडौँमा ‘माउन्टेन ट्राभल’ स्थापना गरे। 

जिमी रोबर्टससँग माइकल चेनी पनि जोडिएका थिए। बेलायती सेनाको गोर्खा राइफल्स्मा जोडिएका माइकल चेनी अवकाशपछि नेपाल आएका थिए। नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष सन्तवीर लामाका अनुसार जिमी रोबर्टस र माइकल चेनीले नेपालको पदयात्राको प्रचार–प्रसार विश्वभर गरेर नेपालमा विदेशी भित्र्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

जिमी रोबर्टससँगै काम गरेका दिनेश गुरुङका अनुसार जिमी र माइकल चेनीले नै नेपालका धेरै पदमार्ग पत्ता लगाएर संसारलाई चिनाएका थिए। “पूर्वी र मध्यनेपालका धेरैजसो पदमार्ग पत्ता लगाएर तिनलाई चिनाउने जस माइकल चेनीलाई जान्छ भने पश्चिम नेपालको पदमार्ग तय गर्ने श्रेय रोबर्टसलाई जान्छ,” उनी भन्छन्, “त्यसैले पनि उनीहरूलाई पदयात्राका पिता भनिन्छ।”

अर्का पर्यटन व्यवसायी कर्मा शेर्पाका अनुसार चेनीले त्यति बेला नेपालको पर्वतारोहणलाई विश्वसँग जोड्ने काम गरे। उनले विश्वका कुनाकुनामा पर्वतारोहण र पदयात्राको प्रचारप्रसार गरेर विदेशीलाई नेपाल भित्र्याएका थिए। शेर्पा भन्छन्, “त्यो समय अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गरेर पर्यटन भित्र्याउनु सजिलो थिएन।”

चेनीले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचारप्रसार मात्र होइन, नेपालका शेर्पा भरियाको जीवनस्तर सुधार तथा नयाँ पदमार्गको पहिचानमा पनि योगदान दिएका थिए। उनी शेर्पा सहकारीमार्फत हिमालमा भरियाको काम गरिरहेका शेर्पाहरूको जीवनस्तर सुधार्न खटिएका थिए।

कहाँ जाने पदयात्रामा?
नेपालको कूल भूभागको करिब ८५ प्रतिशत पहाड र हिमालले ओगटेको छ। एक दिनको पैदलयात्रामै फरक किसिमको हावापानी, जैविक विविधताको अनुभूति गर्न पाइने भएकाले पनि नेपालको पदयात्रालाई संसारकै ‘युनिक’ मानिन्छ। 

“नेपालमा जस्तो विविधता संसारका कुनै पनि मुलुकमा अनुभूत गर्न पाइदैन,” ट्रेकिङ व्यवसायी एवम् इनकाउन्टर्स नेपालका सञ्चालक ऋषि नेपाल भन्छन्, “त्यसबाहेक मानिसको विविधता र संस्कृति पनि तराई, पहाड र हिमालमा फरक छ। १५ दिनको पदयात्रा गर्दा फरक–फरक संस्कृति, भूगोल र हावापानीको आनन्द लिन सकिन्छ।”

कञ्चनजंघा, खुम्बु, अन्नपूर्ण तथा लाङटाङ क्षेत्र नेपालका प्रमुख र विश्वमै कहलिएका पदमार्गमा पर्छन्। ती क्षेत्रमा पदयात्राका लागि बर्सेनि हजारौँ पर्यटक पदयात्राका लागि आउँछन्।

खासगरी सेप्टेम्बरदेखि नोभेम्बरसम्म (असोज, कात्तिक र मंसिर) तथा अप्रिल र मेमा (चैत मध्यदेखि जेठ मध्यसम्म) विदेशी पर्यटक आउँछन्। नेपालका उच्च हिमाली क्षेत्रमा पर्ने खासगरी अन्नपूर्ण पदमार्ग, लाङटाङ तथा खुम्बु क्षेत्र घुम्नेको भिडभाडले त्यहाँको चहलपहल बढ्छ। ती क्षेत्रका होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई भ्याइनभ्याइ हुन्छ।

त्यसबाहेक, काठमाडौँ बस्नेहरू उपत्यका वरिपरिका डाँडामा एकदिने पदयात्रा जाने चलन बढ्दै गएको छ।  खासगरी, कीर्तिपुरबाट चम्पादेवी, मातातीर्थदेखि चन्द्रागिरि वा अझै पर चित्लाङसम्म, फर्पिङदेखि चम्पादेवीसम्म, ललितपुरको फूल्चोकी र भट्टेडाँडा, काठमाडौँका शिवपुरी, सुन्दरीजलबाट बागमती ड्याम्प हुँदै चिसापानीलगायत ठाउँमा ‘हाइकिङ’ जाने चलन छ। तर अहिले यी ठाउँमा सडक खन्न थालेपछि पदमार्गहरू जोखिममा परिरहेका छन्।

पदमार्ग जोगाउने चुनौती
पदयात्रा मासेर मोटरबाटो बनाउने प्रवृत्ति बढ्दै गएको छ। यसले पदयात्राको भविष्य नै संकटमा परेको टानका पूर्वअध्यक्ष ज्योति अधिकारी बताउँछन्। “पछिल्लो दुई दशकमा ट्रेकिङ रुटहरू मासिए। सुन र हिराका रूपमा रहेका मूल्यवान अधिकांश रुटहरूलाई हामीले ध्वस्त गर्न थाल्याैँ,” अधिकारी भन्छन्।

स्थानीयहरूलाई मुनाफा दिन नसक्नु कमजोरी रहेको अधिकारी बताउँछन्। “ट्रेकिङबाट पैसा हुने वर्ग एउटा भयो जो काठमाडौँमा बसेर साहु बन्यो।  हामीले गल्ती गर्‍यौँ। यहाँ धेरै पैसा लियौँ, त्यहाँ थोरै पैसा दियौँ। उनीहरू बाँच्नसक्ने अवस्था भएन र पेसामा आकर्षण भएन,” अधिकारी भन्छन्, “यसमा राज्यले प्लान र सिस्टम बसाल्नुपर्थ्यो। अर्कोचाहिँ गाडी र डोजर चलाउने वर्ग जन्म्यो। त्यो वर्गले पदयात्राको महत्त्व बुझेन ध्वस्त बनायो।”

सडक विस्तारले सबैभन्दा प्रभाव भएको अन्नपूर्ण पदमार्ग हो। त्यहाँ पाँच दिनसम्म पैदलयात्रामा पुगिने ठाउँमा अहिले मानिसहरू एक दिनमै गाडीमा पुग्छन्। पदयात्रामा जानेहरूलाई गाडीको धुवाँ र धुलोको असरले हिँड्न गाह्रो हुने अवस्था छ।

विदेशबाट आउने पदयात्री ५०-६० वर्ष उमेर समूहका मात्रै भएको र यो चिन्ताको विषय भएको अधिकारी बताउँछन्। २०–३० वर्ष उमेर हुँदा नेपालमा पदयात्रामा आएकाहरू अहिले पनि आउँछन्। “जो २०–३० वर्षको उमेरमा आएका थिए उनीहरूले विगतलाई सम्झन्छन्। उनीहरूको सम्बन्ध नेपालसँग टुटेको छैन। उनीहरू नेपाललाई माया गर्छन्,” उनी भन्छन् “युवा पिँढीलाई ल्याउन सकेनौँ।”


सम्बन्धित सामग्री