काठमाडौँ– बागबजार बस्ने दीपा शर्माले यसपालिको दशैँ ‘सपिङ’ अनलाइनबाटै गरिन्। दशैँमा लगाउने कुर्तासलवारदेखि जुत्तासम्म घरमै बसेर अनलाइन ‘अर्डर’ गरेको उनले सुनाइन्।
फूलपातीको दिन स्याङ्जास्थित घर जाने तयारी गरेकी उनले चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि धेरैजसो सामान अनलाइनमार्फत मगाउँछिन्। “इन्स्ट्राग्राम र टिकटकबाट अहिले प्रायः ट्रेन्डमा रहेका सामानहरू थाहा हुन्छ। पहिलेदेखि नै किनमेल गरिरहने स्टोरहरू छन्, त्यहीँबाट सामान मगाउँछु, क्वालिटीमा पनि कम्प्रमाइज हुँदैन,” उनी भन्छिन्।
पछिल्लो समय विशेषगरी टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा विज्ञापन देखेर अनलाइनबाटै सामान खरिद गर्नेको संख्या बढिरहेको छ। नयाँ बानेश्वर बस्ने सुभाष रिजाल दशैँको टीकाअघि नै अध्ययनका लागि जापान जाँदैछन्। चाडपर्वको बेला बजारमा भिडभाड बढी हुनेहुँदा कपडा, जुत्तालगायत धेरै सामान अनलाइनबाटै खरिद गरेको उनले सुनाए।
“विभिन्न ब्रान्डका जुत्ता, कपडा, घडी त अनलाइनबाटै मगाएको हो, यस्ता सामानमा क्वालिटीको पनि चिन्ता भएन। अर्कोतर्फ बजार जाने समयको पनि बचत हुन्छ,” उनी भन्छन्।
कोरोना महामारीपछि अनलाइन व्यापार बढ्दै गएको छ। पैसा बोकेर पसल चहार्दै हिँड्ने ठूलो जमात पछिल्लो समय अनलाइन सपिङमा रमाउन थालेको छ। यसले व्यापारको तौरतरिका नै परिवर्तन आएको छ। कतिपयले घरबाटै पनि व्यवसाय चलाइरहेका छन् भने अपायक र सस्तो भाडा हुने ठाउँमा पनि व्यापार गुल्जार छ।
शंखमूल बस्दै आएकी सीता भण्डारीको औपचारिक पसल छैन तर घरमै बसेर अनलाइनबाटै साडी, कुर्तासलवारको व्यापार गर्छिन्। फेसबुकको ‘मार्केटप्लेस’मार्फत ग्राहकलाई सामान बेच्दै आएको उनको भनाइ छ।
देशभित्र मात्रै होइन कुरियर सेवा प्रदायकबाट थोक बिक्रेतामार्फत ल्याइएको उनका सामान विदेशसम्म पनि पुग्छन्। “दुई वर्ष भयो व्यापार शुरू गरेको, पहिला फेसबुकमा सामानहरू राख्ने, अनि मागअनुसार होलसेलबाट ल्याएर रेडी गरेर पुर्याइदिन्छौँ,” उनी भन्छिन्।
लगनखेलस्थित ‘आश्विक किड्स वेयर’की सञ्चालक सुशीला श्रेष्ठलाई पनि यतिबेला अर्डर अनुसारको सामान पुर्याउन भ्याइनभ्याइ छ। कोरोना माहामारीपछि टिकटकबाट उदाएको उनको व्यापारको मुख्य आधार अहिले पनि सामाजिक सञ्जाल नै हो। “पछिल्लो समय धेरैले अनलाइन नै रोज्छन्। कहिलेकाहीँ पसलबाट मात्रै खासै चल्दैन, त्यस्तो बेला अनलाइनकै व्यापारले भाडा तिर्न पुग्छ,” उनी भन्छिन्।
विशेषगरी, टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालले नै अनलाइन व्यापारलाई प्रोत्साहन गरेको सुशीलाले सुनाइन्। “टिकटकले गर्दा नै अनलाइन चलेको हो, टिकटक ब्यान्ड हुँदा पनि इन्स्ट्राग्रामबाट भयो।।”
तर अनलाइनबाट खरिद गर्नका लागि धेरै एप र साइटको विकल्प उपभोक्तालाई हुँदा व्यवसाय बढी प्रतिस्पर्धात्मक भएको सशीलाको अनुभव छ। “अनलाइन पनि पहिलाजस्ता त छैनन्। दशैँ शुरू हुनेबित्तिकै व्यापार दिनमा १ लाख कट्थ्यो। अहिले शनिबार कि घटस्थापनामा मात्र त्यस्तो व्यापार भइरहेको छ। किनभने अनलाइनहरू पनि निकै बढेका छन्। जति धेरै भ्युज गयो, त्यति धेरै सामान जाने हो।”
अनलाइनमार्फत किनमेल गर्ने प्रवृत्ति बढेपछि पसलमा पुगेर लत्ताकपडा, भाडाकुडा आदि किन्नेको संख्या घटिरहेको न्युरोड, असन, मंगलबजारलगायत क्षेत्रमा व्यापार गर्दै आएका कतिपय व्यवसायीको अनुभव छ। न्युरोडमा दुई दशकयता कपडा पसल चलाउँदै आएका राजु मानन्धर कुर्ता, साडीलगायत लत्ताकपडाहरूको बिक्री घट्नुमा अनलाइन व्यापार नै प्रमुख कारण भएको बताउँछन्।
“दुई–तीन वर्षयता अनलाइनबाटै किन्ने बढे, यहाँ आउनेहरू पनि विभिन्न अनलाइनमा राखिएका कपडाहरू देखाउँदै त्यस्तै सस्तो भाउमा खोज्छन्। पहिला दशैँको बेला खुट्टा टेक्ने ठाउँ हुदैनथ्यो, अहिले त्यस्तो छैन,” उनी भन्छन्।
परम्परागत शैलीमै व्यापार गरेर पहिचान बनाएको हुँदा तत्काल अनलाइन व्यापार गर्ने सोच भने नभएको उनले सुनाए।