त्रिवि शिक्षण अस्पतालको आकस्मिक फार्मेसीमा नगद लिएर औषधि किन्न लाम लागेका सेवाग्राही। तस्वीरहरू: मेनुका/उकालो
काठमाडौँ– बानेश्वरस्थित सिभिल अस्पतालमा भेटिएका दम्पती शीला र रोशन तामाङ हतारिँदै फार्मेसीतिर दौडिरहेका थिए। डाक्टरले तुरून्त चाहियो भनेका आकस्मिक औषधि लिन दौडेका उनीहरू अस्पतालको फार्मेसीमा नगदमा मात्र औषधि किन्न सकिने थाहा पाएपछि निराश भए।
शीलाका अनुसार साथमा ल्याएको पैसा सकिएको थियो। तर मोबाइल बैंकिङ र एटीएम कार्ड साथमा रहेकाले उनीहरू ढुक्क थिए। मोबाइलबाट सजिलै भुक्तानी गरेर औषधि किन्न पाइने सुविधा नहुँदा खिन्न लागेको उनले बताइन्। उनीहरू एटीएम खोज्न हतारिए।
अस्पताल परिसरभित्र कृषि विकास बैंक र हिमालयन बैंकको एटीएम थियो। तर उनीहरूको साथमा रहेको प्रभु बैंकको कार्ड कृषि विकास बैंकले लिएन, हिमालयन बैंकको एटीएम मेसिन बिग्रिएको थियो। अस्पतालबाहिर गएर पैसा निकाल्नुको विकल्प थिएन।
अस्पतालले अनलाइन भुक्तानीको व्यवस्था नगर्नु सेवाग्राहीप्रतिको बेवास्ता भएको शीलाको गुनासो छ। “अनलाइनबाट सजिलै हुने कामका लागि त्यत्रो महाभारत नै खेप्नुपर्यो। अस्पतालले यो समस्यालाई वास्ता नगर्दा हामीले दुःख पाइरहेका छौँ। अस्पतालले कहिले बुझ्ने?” उनले प्रश्न गरिन्।
सिभिल अस्पतालले अनलाइन भुक्तानी प्रणाली टिकट काउन्टरमा राखेको छ। तर त्यहाँबाट औषधिको पैसा तिर्न मिल्दैन। काउन्टरमा यो प्रणाली सफल भएमा मात्रै फार्मेसीमा पनि व्यवस्था गर्ने योजना रहेको फार्मेसी प्रमुख दीपा ढुंगानाले बताइन्। अहिले राखिएको क्युआर सिस्टममा आएको रकम नदेखिने, रसिद ननिस्किने र भुक्तानीको प्रक्रियामा समय लाग्ने समस्या झेलिरहेको उनी बताउँछिन्।
यद्यपि अस्पतालले क्युआर या अन्य प्रविधिमध्ये कस्तो व्यवस्था गर्ने भन्ने टुंगो लागिनसकेको उनले बताइन्। “अहिलेको समयमा सजिलो व्यवस्था हुनैपर्छ। तर अस्पतालमा क्युआर राख्ने कि अरू विकल्प दिने भन्नेमा छलफल भइरहेको छ। यसको निक्र्योल गरेर दुईदेखि तीन महिनाभित्रै उपयुक्त व्यवस्था गर्छाै,” ढुंगानाले भनिन् ।

मुलुककै जेठो अस्पताल वीरमा पनि अनलाइनमार्फत पैसा तिर्ने व्यवस्था छैन। सामान्य स्वास्थ्य समस्यादेखि जटिल रोगसम्मका बिरामीको रोजाइमा पर्छ यो सरकारी अस्पताल। दैनिक सयौँको संख्यामा बिरामी आउने यस अस्पतालमा औषधि लिनकै लागि बस्नुपर्ने लामो लाइनका कारण नागरिक हैरान छन्।
त्यसमाथि अस्पतालमा अनलाइन भुक्तानीको व्यवस्था नहुँदा अर्काे समस्या पनि थपिएको सेवाग्राहीले महसुस गरेका छन्। काठमाडौैँकै न्युरोड निवासी रोमन महर्जन अस्पतालहरूमा अनलाइन पेमेन्टको व्यवस्था भए सहज हुने बताउँछन्। नगद कारोबार आर्थिक पारदर्शीताका लागि पनि उपयुक्त नहुने भएकाले यसतर्फ अस्पताल प्रशासनको ध्यान जानुपर्ने उनले बताए।
“अहिलेको जमानामा पनि नगद नै चाहियो भनेर कहाँ हुन्छ? अनलाइन प्रयोगकर्ता धेरै नहोलान्, तर छँदै छैनन् भन्ने त होइन नि,” उनले थपे, “नगद कारोबार गर्दा कुन औषधि कतिमा बेचियो, फार्मेसीबाट कति आम्दानी भयो भन्ने विषयमा शंका गर्ने ठाउँ रहन्छ। अन्यथा एउटा क्युआर कोड राख्नु कुन ठूलो विषय हो र?”
शिक्षण अस्पतालको ओपीडी भवनमा रहेको औषधि पसलमा औषधिको लामो सूची बोकेर आफ्नो पालो कुर्दै थिए महाराजगञ्जकै सृजन दुलाल। बुबाको उपचारका लागि अस्पताल आएका उनले पनि अनलाइन भुक्तानीको व्यवस्था नहँुदा समस्या परेको बताए। अनलाइन मार्फत सजिलै भुक्तानी गर्न सकिने भए पनि पैसा लिएर हिड्नुपर्दा समस्या हुने गरेको उनको भनाइ छ।
नगद कारोबारका कारण औषधिको बिल बनाउने र औषधि लिने दुवै ठाउँमा लामो लाइन बस्नुपरेको अनुभव उनले सुनाए। “अनलाइन अनिवार्य नगरे पनि यो विकल्प चाहिँ हुनुपर्छ। यति गर्न अस्पताललाई के समस्या छ, हामी बुझ्दैनौँ। तर नगद नबोक्ने सेवाग्राहीलाई चाहिँ झन्झट नै थपिने हो,” दुलालले भने।
धेरै जनाले पैसा निकाल्ने कारण अस्पतालमा रहेको एटीएम मेसिनमा बारम्बार समस्या आउने, छोटो समयमै पैसा सकिने, लाइन लाग्नुपर्ने जस्ता समस्या भोगिरहनुपरेको सुनाउँदै उनले थपे, “जतिबेला पनि हातमा पैसा हुँदैन, डाक्टरले भनेको बेला औषधि ल्याउनुपर्छ। त्यस्तोमा अनलाइनबाट पेमेन्ट गर्न सके भीड पनि व्यवस्थापन हुन्छ।”
शिक्षण अस्पताल परिसरमा विभिन्न पाँच बैंकका एटीएम मेसिन छन्। अस्पतालमा आउने अधिकांशले नगद लिएर आउने गरेकाले गुनासो नआएको अस्पताल प्रशासनको भनाइ छ। अनलाइन भुक्तानीको व्यवस्था गर्ने तयारी भइरहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले बताए। प्राविधिक अध्ययन गरेर अबको चार महिनाभित्रै उचित व्यवस्थापन गरिसक्ने उनको दाबी छ।
वीर अस्पतालको फार्मेसीमा औषधि किन्न बिल बनाउने सेवाग्राहीको भीड।
“नगद कारोबारबारे हालसम्म कसैको गुनासो टिपोट भएको छैन। तथापि हामीले नै आवश्यकता महसुस गरेर के कस्तो पेमेन्ट सिस्टम राख्दा सहज हुन्छ भन्नेबारे अध्ययन गरिरहेका छौँ। अबको ३४ महिनामै अस्पतालमा अनलाइन भुक्तानीको सुविधा लागू हुन्छ,” निरौलाले भने।
उनका अनुसार यसबारे थप अध्ययन गर्न परामर्शदाता समेत छनोट गरिँदैछ। त्यसका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको उनले बताए। बैंकिङ क्युआर राख्ने वा अन्य कार्डको व्यवस्था गर्ने भन्नेबारे अन्योल रहेकाले थप अध्ययन गरिने उनको भनाइ छ। प्रशासन प्रमुख निरौलाका अनुसार अस्पतालले आफ्नै स्मार्ट हेल्थ कार्ड बनाएर भनेकै समयमा सजिलै भुक्तानी गर्न सकिने सुविधा दिनेबारे छलफल भइरहेको छ।
यता, वीर अस्पतालले पनि छिट्टै अनलाइन भुक्तानीको व्यवस्था गर्ने अस्पतालका प्रवक्ता मोहन कोइरालाले बताए। अस्पताल परिसरमा सञ्चालित प्रभु बैंकसँग भएको सम्झौतामा अनलाइन भुक्तानी गर्ने कुरा सम्झौतामा छैन। त्यसैले सञ्चालन हुन नसकेको उनले बताए। अस्पतालले बैंकिङ सेवाका लागि नयाँ टेन्डर आह्वान गरेको छ। नयाँ सम्झौतामा यसलाई समावेश गर्ने योजना रहेको उनले बताए।
थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालको औषधि पसलमा अनलाइन भुक्तानीको व्यवस्था छैन। यसअघि भुक्तानीको सुविधा रहेको भए पनि सेवा प्रभावित हुँदा हटाइएको अस्पतालका फार्मेसी इन्चार्ज कृष्ण यादवले बताए। भुक्तानी प्रक्रियामा धेरै समय लाग्ने, सिस्टममा नदेखिने, दोहोरिएर भुक्तानी हुने जस्ता समस्या हुँदा अहिले बन्द गरिएको उनले बताए। “हामीले टिकट काउन्टरमा क्युआर राखेका छौँ। अनलाइन भुक्तानी गर्न चाहनेहरूका लागि काउन्टरबाटै गर्न मिल्छ,” उनले भने।
पाटन अस्पतालमा भने अनलाइन भुक्तानीको व्यवस्था गरिएको छ। अस्पतालका निर्देशक रवि शाक्यका अनुसार अस्पतालमा रहेको बैंक काउन्टरमै अनलाइन भुक्तानी गरी औषधि लिन सकिने व्यवस्था रहेको छ। अस्पतालले दुई वर्षदेखि यस्तो व्यवस्था गरेको उनले बताए।
यद्यपि इन्टरनेट नचल्ने, समयमा काम पूरा नहुने, सिस्टममा बिल नदेखिने जस्ता समस्या भने आइरहेको उनले बताए। अनलाइन भुक्तानीको सेवालाई थप व्यवस्थित गर्न अरू माध्यमको अध्ययन भइरहेको जानकारी उनले दिए। “समयसँगै सेवालाई अपडेट गर्नुपर्छ भनेर थप के हुन सक्छ भन्नेबारे अध्ययन भइरहेको छ,” अस्पतालका निर्देशक शाक्यले भने।