Monday, November 11, 2024

-->

जनकपुरको साढे ७ दशक पुरानो विद्यालय: पूर्वविद्यार्थीको पहलमा साख फर्काउने प्रयास

पूर्वराष्ट्रपति डा.रामवरण यादव, पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलगायतले पढेको सरस्वती माविमा अहिले पूर्वाधार बनेका छन् तर व्यवस्थापन भद्रगोल नै छ। ७ वर्षपछि बल्ल व्यवस्थापन समिति गठन हुने तयारी छ।

जनकपुरको साढे ७ दशक पुरानो विद्यालय पूर्वविद्यार्थीको पहलमा साख फर्काउने प्रयास

जनकपुरधाम– सुर्कीचुनाले बनेका सरस्वती माविका दुई ठूला भवन। कंक्रिटको जमानामा यी भवन विद्यालयको पहिचान थिए। तर २०७२ सालको भूकम्पले दुवै भवन चिराचिरा भए। पुराना भवन धराप बन्दा विद्यार्थी त्रासदीपूर्ण माहोलमा पढ्न बाध्य थिए।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले समेत कुनै समय यही विद्यालयमा पढेका थिए। इतिहास बोकेको विद्यालयको दूरवस्था पार लगाउन पूर्वविद्यार्थीसमेत रहेका तत्कालीन सचिव तथा हालका राष्ट्रिय योजना आयोग सदस्य रमेशप्रसाद सिंह कस्सिए। उनी २०७८ सालमा शहरी विकास सचिव थिए। उनैले नयाँ भवन निर्माणका लागि पहल थालेपछि सरकारले बजेट विनियोजन गर्‍यो।

अहिले विद्यालयको भवन पहिलाकै शैलीमा तयार भइसकेको छ। विद्यालयका पूर्वविद्यार्थी नै पहुँचवाला ठाउँमा हुँदा बजेट विनियोजन भएको अर्का पूर्वविद्यार्थी तथा विद्यालयको प्रशासन शाखामा २० वर्षदेखि कार्यरत पवन श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “नयाँ भवनले मृत्युशैय्यामा पुग्न थालेको सरस्वती माविलाई प्राण मात्रै दिएन पुनर्ताजगी नै प्रदान गर्‍यो।”

गत वर्षसम्म निजी विद्यालय ‘किड्डी कन्भेन्ट’मा पढिरहेका सुमन यादव सरस्वती माविमा कक्षा ५ मा भर्ना भए। घर नजिकै भएकाले मात्र होइन, निःशुल्क पढ्न पाइएकाले मात्रै पनि होइन, पढाइ पनि अहिले राम्रो भएको उनी बताउँछन्। 

अर्का विद्यार्थी अजित दास कक्षा ७ मा पढ्छन्। उनले यहाँ पढ्न थालेको सातै वर्ष भयो। “पहिलाका भवनहरू पुराना थिए, अब त १२ कक्षासम्म यहीँ पढ्ने हो,” उनी भन्छन्।

कक्षा ९ मा अध्ययनरत पूजा यादव निजी विद्यालयभन्दा कम स्तरको स्कुलमा पढिरहेको छु भन्ने नपरेको सुनाउँछिन्। “खाली भवन पुरानो भयो भन्ने लाग्थ्यो,” उनी भन्छिन्, “अब त भवनमा पूरै जनकपुरमै नम्बर वान भयो।” 

शहरको मध्यभागमा रहेको विद्यालयमा अहिले करिब ७५० विद्यार्थी पढिरहेका छन्। बिहानी र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालन हुन्छ।

पूर्वविद्यार्थीहरूको अग्रसरता
२०७३ सालताका विद्यालयको शौचालयसमेत प्रयोगलायक थिएन, आकस्मिक अवस्थाका लागि कामचलाउ बन्दोबस्त मात्र थियो। कतिपयले छेउकुनालाई नै शौचालय सम्झिन्थे। विद्यालयमा रहेका प्रयोगशाला, पुस्तकालय, छात्रावास, भान्छा र खेलमैदान सबै जर्जर थिए। शिक्षकहरू हाजिर गरी टाप कस्थे। त्यही बेला पूर्वविद्यार्थी (अलुम्नाई)को समूह विद्यालयलाई नयाँ स्वरूप दिन अग्रसर भयो। 

ऐतिहासिक विद्यालयको दुर्गतिले केही गरिछाड्ने हुटहुटी पैदा गरेको सरस्वती माविका संस्थापक कोषाध्यक्ष रामस्वरूप साहका नाति डा. कृष्णचन्द्र साह बताउँछन्।

नेदरल्यान्डबाट फर्किएका डा. साहका अनुसार २०६९ तिर विद्यालय हेर्न जाँदा आँखा रसाएका थिए। विद्यालय स्थापना गर्न उनकै हजुरबुवाले जग्गा दान गरेका थिए। २०७२ सालको भूकम्पले त विद्यालय दूरवस्थामै पुग्यो। २०७३ सालमा अलुम्नाईहरू विद्यालय सुधार्न सक्रिय भए। विदेशमा रहेका अलुम्नाईहरू पनि सम्पर्कमा आउन थाले। ‘सरस्वती उच्च माध्यमिक विद्यालय अलुम्नाई एसोसिएसन’ नै गठन गरियो।

एसोसियनस अध्यक्ष नवलकिशोर यादव नेपालमै रहँदा सन् २००२ सम्म विद्यालय ठिकठाकै थियो। सन् २०१७ मा न्यूयोर्कबाट फर्किंदा विद्यालयको अवस्था देखेर उनलाई पनि केही गर्नैपर्छ भन्ने लाग्यो। उनी पहिला त शौचालय निर्माणमै अघि सरे। निर्माणकै क्रममा १०० जनाभन्दा बढी अलुम्नाईहरू सम्पर्कमा आइसकेका थिए। “अहिले थुप्रै साथीहरू सम्पर्कमा छन्,” नवलकिशोर भन्छन्, “सबैजना आ–आफ्नै ठाउँबाट जुम मिटिङमा उपस्थित हुन्छन्, सकेको सहयोग गर्न सबै तत्पर छन्।”

सरकारी लगानीमा भवन तयार भइसकेको अवस्थामा अलुम्नाईचाहिँ गुरुयोजनामार्फत शिक्षाको गुणस्तर सुधार्ने योजनामा छ। प्रयोगशाला, पुस्तकालय, पार्क, खेलमैदान, छात्रावास र मन्दिरको पुनर्निर्माण पहिलो प्राथमिकतामा छ। पढाइ कलेजस्तरसम्मै पुर्‍याउने एसोसिएसनको गुरुयोजना छ।

विद्यालयको उतार–चढाव
२००४ साउन २८ गते स्थापित यो विद्यालयको नाम जनकपुर हाई स्कुल थियो। समयक्रममा सरस्वती हाई स्कुल, सरस्वती बहुद्देश्यीय माध्यमिक विद्यालय, सरस्वती व्यावसायिक माध्यमिक विद्यालय नाम रहे। अहिले सरस्वती नमूना उच्च माध्यमिक विद्यालय नाम राखिएको छ। 

भवन निर्माण नहुँदै त्यति बेला मौनी बाबाको धर्मशालामा कक्षा सञ्चालन गरी विद्यालय स्थापना भएको ‘श्री सरस्वती माध्यमिक विद्यालयको संक्षिप्त इतिहास’ (रामचन्द्र उपाध्याय, २०५४) मा उल्लेख छ। “जेठ ७ गतेकै सभामा घर भाडामा लिई विद्यालय सञ्चालन गर्ने निर्णय भएको थियो। तर उपयुक्त भवन र अर्थको कमी भएको बेलामा श्री मौनी बाबाको कृपाले उहाँबाट निर्माण भएको धर्मशाला सित्तैमा उपलब्ध भयो,” उपाध्यायले लेखेका छन्, “धर्मशालामै २००५ साल माघ ९ गतेसम्म विद्यालयको पढाइ भइरह्यो।”

२००५ माघ १० गतेदेखि विद्यालय आफ्नै भवनमा सर्‍यो। कक्षा सञ्चालन गर्न खरले छाएका थप घर बनाइए। मुजेलिया निवासी रामस्वरूप साहुले जग्गा खरिद गरी विद्यालयका लागि भवन निर्माण शुरू गरिसकेका थिए। विद्यालय बनाउन आवश्यक लकडी जंगलबाट ल्याउने अनुमति सरकारले दियो। २००८ माघ १० बाट नवनिर्मित भवनमा पढाइ थालियो। “त्यतिबेला साहुजीले डेढ लाखभन्दा बढी रूपैयाँ खर्च गरी कक्षा सञ्चालनका लागि दुई भव्य भवन, प्रधानाध्यपक र शिक्षकहरू बस्ने आवास, भोजनालय र सरस्वतीको मन्दिर बनाउनु भयो,” उपाध्यायले लेखेका छन्, “पछि दुई वटा छात्रावास पनि थप्नुभयो।”

पण्डित ठाकुरप्रसाद रेग्मीलाई विद्यालयको हेडपण्डित भनी नेपाली र संस्कृत पढाउन नियुक्त गरिएको थियो। क्रमशः अन्य शिक्षक पनि थपिँदै गए।
२००४ असोज ६ गते विद्यालयको पहिलो प्रधानाध्यापकको रूपमा अमरेशचन्द्र भट्टाचार्य आए। दुई महिनापछि आएका गंगाधर दत्त सहायक प्रधानाध्यापक भए। अन्य नौ जनालाई संस्थापक शिक्षक भनिएको थियो।

अमरेशचन्द्र लामो समयसम्म प्रधानाध्यापक हुन पाएनन्, आर्थिक गड्बडी र अक्षमताको आरोप लाग्यो। २००४ चैत ७ गते बडाहाकिम तिलकशमशेरको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले उनलाई अक्षम घोषित गरी सहायक प्रधानाध्यापक गंगाधर दत्त वा अन्य सुयोग्यलाई हेडमास्टर नियुक्त गर्ने निर्णय गर्‍यो। अमरेशचन्द्रले २००५ भदौ १७ मा विद्यालय छाडेपछि गंगाधर दत्त प्रधानाध्यापक भए। उनी २०३० सालसम्म निरन्तर प्रधानाध्यापक भए।

एक वर्षपछि नै विद्यालय आर्थिक संकटमा परेपछि बडाहाकिम तिलकशमशेरले ४ हजार ३०० रुपैयाँ दान दिए। रामस्वरूप साहुले पनि विद्यालयलाई ५० बिघा जग्गा दान दिने वचन दिए। बिस्तारै विद्यालयमा विद्यार्थी बढ्नथाले। विद्यार्थीलाई आवास र भोजनालयको सुविधा दिइयो। 

जनकपुर हाई स्कुलका विद्यार्थी २००६ सालमा पहिलोपटक एसएलसी परीक्षामा सहभागी हुन परीक्षा केन्द्र वीरगन्ज गए। तर कोही उत्तीर्ण भएनन्। २००७ सालमा भने एसएलसीमा सहभागी सबै ६ जना उत्तीर्ण भए। यसरी उत्तीर्ण हुनेमा भरतलाल कर्माचार्य प्रथम श्रेणीमा र अन्य सबै द्वितीय श्रेणीमा थिए। २०११ सालमा नयाँ सञ्चालक समिति गठन हुँदा सर्वसाधारणले अध्यक्षता गर्ने अवसर पाए, त्यसअघि बडाहाकिम अध्यक्ष हुन्थे।

पूर्वराष्ट्रपति डा. यादव मात्र नभई पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति डा. सुरेशराज शर्मा, कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि यहाँका पूर्वविद्यार्थी हुन्। २०३२ सालको एसएलसीमा यो विद्यालयका किरणराज शर्मा बोर्ड फस्र्ट भएका थिए। २०१७ सालमा माधवप्रसाद उपाध्याय र २०२७ मा रमेशचन्द्र आचार्य बोर्ड थर्ड भएका थिए।  

२०४६ सालको परिवर्तनपछि निजी विद्यालयहरू खुल्न थाले र सरस्वती माविको साख क्रमशः घट्दै गयो। पूर्वाधार पुराना हुँदै थिए। नयाँ निजी विद्यालयहरू खुलिरहेका थिए। “नयाँ विद्यार्र्थीको आकर्षण कम भइरहेका बेला होस्टल पनि बन्द भयो,” प्रशासन प्रमुख पवन श्रेष्ठ सुनाउँछन्, “दलीय आधारमा व्यवस्थापन समिति गठन हुन थालेपछि अस्तव्यस्त हुनपुग्यो।”

अलुम्नाईका अध्यक्ष नवल किशोरका अनुसार त्यति बेला सिन्धुली, रामेछाप र ओखलढुंगासम्मका विद्यार्थीहरू पढ्न आउने गरेका थिए। तर छात्रावास बन्द भएपछि टाढाका विद्यार्थी आउन बन्द भयो। 

२०६३ सालतिर विद्यालयमा कक्षा ११ र १२ को पढाइ शुरू भयो। तर २०७३ सालमा बन्द भयो। पुनः यो वर्षदेखि कक्षा ११ र १२ पढाउन थालिएको छ। छात्रावासका निम्ति बनाइएका पूर्वाधार केयर मेडिकल नामको संस्थाले कलेज सञ्चालनका लागि भाडामा लिएको छ।

व्यवस्थापन समिति र शिक्षकहरूको लापरबाहीका कारण नै इतिहास बोकेको विद्यालयको अवस्था बिग्रेको अलुम्नाईका अध्यक्ष नवलकिशोर बताउँछन्। “धेरै राजनीति भएरै दुर्दशा भएको हो,” उनी भन्छन्, “खैर केही छैन! जे भयो, भयो। अब हुनुभएन।”

प्रधानाध्यापक नागेश्वर साह भने शिक्षकहरूको काबुबाहिरको परिस्थितिका कारण विद्यालय जर्जर भएको बताउँछन्। आम्दानीभन्दा खर्च धेरै हुँदा पनि सुधार गर्न नसकिएको उनको भनाइ छ। “अहिले सबै विद्यालयलाई स्थानीय सरकारअन्तर्गत राखिएको छ तर स्थानीय सरकारले एक सुको दिएको छैन,” प्रधानाध्यपक साह भन्छन्, “बजेट त विद्यालय व्यवस्थापन समितिमार्फत नै आउने हो, विद्यालयमा आठ वर्षदेखि व्यवस्थापन समिति नै छैन।”

२०७३ सालपछि अहिले विद्यालय व्यवस्थापन समिति बनाउने तयारी छ। तर पुनः विद्यालय भ्रष्टाचारको दलदलमा फस्ने हो की भन्ने कुराले अलुम्नाईद्वय नवल किशोर र डा. कृष्णचन्द्र साह चिन्तित छन्। सकेसम्म समितिमा ‘क्लिन’ मान्छेहरू मात्रै आइदिए विद्यालयको कल्याण हुन्थ्यो भन्ने उनीहरूको कामना छ।

“विद्यालयको शाख फर्काउन हामी लागिरहेका छौँ। यदि ठिक मान्छे आइदिएन भने सबै बर्बाद हुन्छ,” कृष्णचन्द्र भन्छन्, “सकेसम्म राम्रो मान्छे आओस्, संस्थापक र अलुम्नाईको नाताले हामीलाई पनि राखियोस्, जसले विद्यालयलाई नयाँ उचाई दिन्छ।”


सम्बन्धित सामग्री