काठमाडौँ– माओवादी केन्द्रका सांसद अमनलाल मोदी भदौ १८ गतेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थिए। आफूलाई प्राप्त ७ मिनेटको समयावधि सकिँदा पनि उनी रोकिएनन्। विषयको गम्भीरतालाई ख्याल गरेर विशेष समयमा सभामुखले सामान्यतः थप १–२ मिनेट दिने प्रचलन पनि छ। तर मोदीले आफ्नो अतिरिक्त समयलाई गम्भीर विषयका लागि नभई असान्दर्भिक प्रस्तावका लागि उपयोग गरे।
मोदी आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तारिफमा मग्न थिए। विगतमा आन्दोलनको नेतृत्व गरेका कारण प्रचण्डलाई नेपालको ‘जनक’ मान्नुपर्ने र मुलुकमा शान्ति ल्याउन अथक प्रयास गरेका कारण नोबेल पुरस्कार दिइनुपर्ने उनले बताए।
प्रचण्डलाई नोबेल शान्ति पुरस्कारका निम्ति सिफारिस गर्न उनले सरकारसँग माग पनि गरे। उनको भनाइ थियो, “शान्तिको लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्छ र नोबेल पुरस्कार पनि दिनुपर्छ भन्ने माग राख्न चाहन्छु।”
त्यतिबेला प्रचण्ड सभाहलमा थिएनन्। उपस्थित माओवादी सांसदचाहिँ दत्तचित्त भएर मोदीलाई सुनिरहेका थिए।
मोदीले प्रचण्डको प्रशंसा गरेको यो पहिलो पटक होइन। सदनबाहिर पनि उनी यस्तो प्रशंसा गरेका छन्। २०७९ चैतमा काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्रचण्डलाई अफ्रिकी स्वतन्त्रता संग्रामका नेता तथा नोबेल शान्ति पुरस्कार विजेता नेल्सन मण्डेलासँग तुलना गरेका थिए। मण्डेलाले अफ्रिकामा जस्तै प्रचण्डले पनि नेपालमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको उनको भनाइ थियो।
दलको मूल नेतृत्वलाई अति प्रशंसा गर्ने यस्तो परिपाटी माओवादी केन्द्रमा मात्र होइन, अरू दलमा पनि छ। सार्वजनिक कार्यक्रमदेखि संसद् बैठकमा माओवादी केन्द्र, एमाले तथा रास्वपाका सांसदमा यस्तो प्रवृत्ति बढी छ। उनीहरूले संसद्का महत्त्वपूर्ण समयमा नियमितजसो पार्टी नेतृत्वको रक्षा मात्र गर्दैनन्, अस्वाभाविक प्रशंसा पनि गरिरहेका हुन्छन्।
केही दिनअघि सहकारी छानबिन समितिले रास्वपा सभापति रवि लामिछानेलाई कारबाही सिफारिस गर्यो। प्रतिवेदनमा लामिछाने ‘कम्पनीमा साझेदारको रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने’ लेखिएको छ।
तर सांसद स्वर्णिम वाग्लेले भदौ ३१ गते संसद् भवनबाहिर दिएको प्रतिक्रियामा लामिछानेले ‘क्लिन चिट’ पाएको दाबी गरे। वाग्ले यसअघि पनि लामिछानेको निरन्तर बचाउमा उत्रिएका थिए। एकपटक त उनले लामिछानेलाई बीपी कोइरालासँगै तुलना गरे।
चितवनमा निर्वाचन प्रचारका क्रममा २०७९ चैत २० गते वाग्लेले संचारकर्मीसँग २०१५ सालमा बीपी कोइरालामा जस्तै हुटहुटी अहिले लामिछानेसँग भएको बताएका थिए। बीपीजस्तै लामिछाने पनि ‘भिजन’ र ऊर्जा भएको, आदर्श बोकेको, देशलाई निश्चित समयसीमाभित्र ‘यहाँ पुर्याउँछु’ भन्ने हुटहुटीका साथ आएको उनको भनाइ थियो।
वाग्लेले भनेका थिए, “हुटहुटी, एम्बिसनको हिसाबले देश बनाउने भिजन, ऊर्जा, महत्त्वाकांक्षा र देशलाई यहाँ पुर्याउँछु भन्ने मिसनमा केही तुलना गर्न मिल्छ।” उनले त्यसरी प्रशंसा गरिरहँदा स्वयं लामिछाने भने असहज मानिरहेका थिए। केही बेरपछि नै उनले वाग्लेको प्रशंसालाई ‘सुधार’ गदै भनेका थिए, “हुटहुटी र केही गरौँ भन्ने भावनाको कुरा हो। ...उहाँसँग तुलना गर्ने कुरा भएन।”
अस्वाभाविक तथा अतिशय प्रशंसाले कतिपय अवस्थामा प्रशंसक र प्रशंसा पाइरहेका दुवै व्यक्तिलाई फाइदा पुग्दैन। वाग्लेको हकमा पनि त्यस्तै भयो। रविलाई बीपीसँग तुलना गरेपछि सामाजिक सञ्जालमा वाग्लेको आलोचना भयो, कतिपयले उनलाई रविको ‘हनुमान’ भएको आरोप लगाए। सामाजिक सञ्जालमा बीपीको नाम लिँदै लामिछानेलाई खिसिट्युरी गरियो। तर वाग्ले नियमितजसो लामिछानेको प्रशंसा गरिरहेका छन्।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने प्रशंसाले नेतृत्वलाई स्थापित गर्छ कि गर्दैन भनेर हरेक सांसदले ख्याल गर्नुपर्ने बताउँछन्। सबै दलमा नेतृत्वको देवत्करण भइरहेको उनको भनाइ छ। नेतृत्वको विचार, कार्यक्षमता र निर्णय कुशलताको प्रशंसा गर्नु सामान्य भए पनि सांसदहरू व्यक्ति–पूजातिर लागेको उनको भनाइ छ। “नेतृत्वको अति प्रशंसाले कसैलाई पनि फाइदा पुर्याउँदैन,” उनले उकालोसँग भने।
नेतृत्वलाई स्थापित गर्न चर्चापरिचर्चा आवश्यक पर्नेमा भने परियार सहमत छन्। लोकतन्त्रलाई बलियो बनाउन आलोचनात्मक चेत जरूरी पर्ने र राजनीतिमा यसको महत्त्व झन् बढी हुने उनको भनाइ छ। “आलोचनात्मक चेत भयो भने हामीले परिस्कृत र बलियो लोकतान्त्रिक व्यवस्था स्थापित गर्न सकौँला, होइन भने सामन्ती व्यवस्थामा जस्तो एकदुई जनाको भक्तिगान गायो, आफ्नो पोल्टा भर्यो र मख्ख परेर बस्यो। यसले समाजलाई परिवर्तन गर्दैन,” उनी भन्छन्, “प्रशंसाले क्षणिक आनन्द मिल्छ तर कालान्तरमा हानिकारक हुन्छ।”
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे आफ्ना दलका सांसदले नेतृत्वकेन्द्रित प्रशंसा गरेको स्वीकार गर्दैनन्। आफूहरूले नेतृत्व, विचार र पार्टीको लाइनलाई स्थापित गर्नेगरी बोलेको उनको दाबी छ। “पार्टीको नेतृत्वले समाज र देशलाई गरेको त्याग र समर्पणबारे बोल्छौँ। हामीले कहिले पनि व्यक्तिकेन्द्रित गरेर बोलेका छैनौँ,” उनी भन्छन्।
मोदीले पनि व्यक्तिकेन्द्रित प्रशंसा गरेजस्तो नलागेको पाण्डे बताउँछन्। बरु, एमाले सांसद योगेश भट्टराईले माओवादी युद्धलाई ‘हिंसा’ भनेपछि आफूहरूले प्रतिवाद गर्नु स्वाभाविक भएको उनको तर्क छ। उनी भन्छन्, “हामीले त जनताका मुद्दा उठाएका छौँ।”
तर संसद्मा जनताका मुद्दा मात्र उठेको भए सभामुख देवराज घिमिरेलाई त्यहाँ हुने छलफल खस्किएको बताउँदैन थिए। घिमिरेले केही दिनअगाडि न्युज एजेन्सी नेपाल (नान)सँगको अन्तर्वार्तामा प्रतिनिधिसभाको छलफलप्रति असन्तुष्टि जनाएका थिए। उनले त्यहाँको छलफल विषयस्तरीय, अझ व्यवस्थित र विषयकेन्द्रित भइदिए हुने आफ्नो अपेक्षा सुनाए।
समसामयिक विषयमा केन्द्रित हुनुपर्ने शून्य र विशेष समयमा सत्तापक्ष र विपक्षी दलका सांसद अर्काे दलका नेतालाई कटाक्ष गरेको र आफ्ना नेताको सह्रनी गाएको सुनिन्छ। अघिल्लो संसद्मा तत्कालीन नेकपामा विभाजन आउँदा केपी शर्मा ओलीको चर्को आलोचक योगेश भट्टराई हिजोआज ओलीको निरन्तर प्रसंशा गरिरहेका छन्। गत जेठ २२ गते एमाले सांसद भट्टराईले प्रतिनिधिसभाको विशेष समयमा आफ्ना अध्यक्षलाई महाभारतको पात्र ‘अभिमन्यु’सँग तुलना गरे।
“एमालेमाथि कसी लगाउनुपर्दैन। प्रश्न उठाउनुपर्दैन। तमाम लोकतान्त्रिक आन्दोलनमा एमाले अग्रगामी भूमिकामा छ। हामीलाई थाहा छ, महाभारतको युद्धमा अभिमन्युलाई घेराभित्र राखेर मार्न खोजियो। गएका तीन वर्ष एमालेलाई घेराबन्दी गर्न खोजियो,” भट्टराईले भनेका थिए, “तर एमाले र अध्यक्ष केपी ओली आजको आधुनिक अभिमन्यु हो, हिजोको होइन। घेरा तोड्न पनि आउँछ, घेराभित्र पस्न पनि आउँछ।”
नेताको प्रशंसा गर्ने प्रवृत्ति अघिल्लो संसद्मा पनि देखिन्थ्यो। २०७४ सालको निर्वाचनमा एमालेबाट राष्ट्रियसभा सदस्य बनेका खिमलाल भट्टराई अहिले सांसद छैनन् तर उनले एकपटक राष्ट्रियसभामा आफ्नो पार्टी अध्यक्ष ओलीलाई ‘राजनेता’ भनिदिए। २०७८ साउन २६ गतेको बैठकमा उनले भनेका थिए, “देशले एउटा राजनेता जन्माएको छ र त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन। राजनेता फेरि फर्केर आउँछ।”
ओलीले अघिल्लो महिना मात्र प्रधानमन्त्री पद गुमाएको सन्दर्भमा खिमलालले यस्तो बोलेका थिए। ओलीको वरिपरी राजनीति घुमेका कारण पनि राजनेता भएको उनको तर्क थियो। सडक, सदन र सरकार सबै ओलीको ‘गाइडेन्स’मा हिँडेको बताउँदै उनले ओलीको जेल जीवनदेखि हालको राजनीतिसम्मको बयान गरेका थिए।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल कम्युनिस्टहरूमा नेतृत्वको देवत्करण गर्ने अभ्यास ‘जिन’मै रहेको बताउँछन्। रास्वपाको हकमा भने रवि लामिछाने पार्टीभित्र सर्वेसर्वा भएको र यो व्यक्तित्व केन्द्रित पार्टी भएकाले नेतृत्वको असाध्यै प्रशंसा सुनिएको उनको भनाइ छ। नेतृत्वप्रति यति धेरै प्रशंसा हुनुको पछाडि सांसदको स्वार्थ जोडिएको उनी बताउँछन्। “नेतालाई प्रसंशा गरेन वा नेताबाट टाढा बस्यो भने अवसरहरूबाट बञ्चित हुने सम्भावना छ,” उनी भन्छन्।
तर संसदीय अभ्यासमा व्यक्ति केन्द्रित प्रशंसा सही नभएको पोखरेलको भनाइ छ। “यसले संसदीय बहसलाई कमजोर बनाउँछ। त्यहाँ त अजेन्डामाथि छलफल हुनुपर्ने हो। संसद्मा नेतृत्वलाई प्रशंसा गरेर कसैलाई पनि फाइदा हुँदैन। कहिलेकाहीँ प्रशंसा पनि गर्नुपर्ला तर हरदम गर्नुपर्दैन नि! संसदीय अभ्यासमा यस्ता कुरा पाच्य हुँदैनन्,” उनी भन्छन्।