Monday, November 11, 2024

-->

विपद्ले आपूर्ति प्रणाली बिथोलिँदा महँगिएको भान्सा

बाढीपहिरोको विपद्ले ढुवानी अवरुद्ध भई आपूर्ति प्रणाली बिग्रिँदा तीन दिन काठमाडौँ उपत्यकामा न्यून मात्रामा तरकारी भित्रियो जसका कारण मूल्य आकासिएको छ।

विपद्ले आपूर्ति प्रणाली बिथोलिँदा महँगिएको भान्सा
फाइल तस्वीर: उकालो

काठमाडौँ– काठमाडौँ उपत्यकाको करिब ७० प्रतिशत माग धान्ने कालिमाटी फलफूल तथा तरकारी बजारमा सामान्य अवस्थामा दैनिक औसत ७०० टन हाराहारीमा तरकारी भित्रिन्छ। यसमध्ये ताजा तरकारीसहित ७० प्रतिशत माग यहीँकै आन्तरिक उत्पादनले धान्छ भने आलुप्याज र फलफूलसहित बाँकी ३० प्रतिशत भारत लगायतका मुलुकबाट आयात हुन्छ।

तर अविरल वर्षापछि गत शनिबार आएको बाढीपहिरोले काठमाडौँ छिर्ने नाकाहरू अवरुद्ध हुँदा उपत्यकाको तरकारी आपूर्ति प्रणाली नै बिथोलियो। कालिमाटी बजारको दैनिक आगमन विवरणअनुसार बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सोमबार जम्मा तीन टन बोडी काठमाडौँ भित्रियो। त्यसअघि असोज ९ गते १४ टन हाराहारीमा आएको थियो। ताजा तरकारीमा हरियो फर्सी पनि साबिकमा भन्दा चार गुणा कम आएको तथ्यांकले देखाउँछ। 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार समग्रमा गत शनिबार १५२ टन र आइतबार पनि सोही परिमाणमा मात्र तरकारी भित्रियो। सोमबार अझै कम ८० टन मात्र तरकारी भित्रिएको समितिको तथ्यांक छ। जबकि असोज १० गते ८५८ टन तरकारी कालिमाटी बजारमा भित्रिएको थियो। 

बिहीबार रातिदेखि अविरल वर्षा भयो। त्यसले ल्याएको बाढीपहिरोका कारण उपत्यका भित्रिने सबै नाका बन्द भए। तरकारी बोकेका गाडी राजमार्गमा नै फसेपछि राजधानीमा तरकारीको अभाव हुनुका साथै मूल्य पनि आकासिँदै गयो। यसबीचमा तरकारीको थोक मूल्य नै दोब्बर बढीले वृद्धि भएको कालिमाटी तरकारी बजारको दैनिक मुल्यसूचीले देखाउँछ। खुद्रा पसलहरूमा पनि अरू बेलाको तुलनामा दोब्बरले मूल्य बढेको उपभोक्ताको गुनासो छ। 

ललितपुरको शंखमूल बस्दै आएका चिरञ्जीवी गौतमले मंगलबार लगानखेलमा एक किलो बन्दालाई १३० रुपैयाँ तिरे। जबकि बाढीपहिरो आउनुअघि उनले प्रतिकिलो ७० रुपैयाँमा खरिद गरिरहेका थिए। केही दिनकै अन्तरालमा मुलाको भाउ पनि दोब्बरले बढेको गौतमले सुनाए। ललितपुरको लगनखेलमा प्रायः काठमाडौँ उपत्यकाभित्रै उत्पादन हुने तरकारीहरू मात्र बेच्न राखिने त्यस क्षेत्रका तरकारी व्यवसायीहरू बताउँछन्। 

अन्य जिल्लाबाट आउने तरकारीको तुलनामा मूलपानी, लुभु लगायतका स्थानबाट आउने तरकारी महँगो हुने शंखमूलमा तरकारी व्यापार गर्दै आएकी निर्मला मल्ल बताउँछिन्। “तराईबाट आएको तरकारी सस्तोमा पाइन्छ, काठमाडौँकै उत्पादन झन् महँगो पर्छ। हिजोअस्ति काठमाडौँमा पाइएजति ल्याएर बेच्यौँ, त्यही भएर महँगो पर्‍यो। आज पनि महँगै छ। भोलिपर्सि अलि सहज हुन्छ होला,” उनले भनिन्।  

मल्लका अनुसार बाढीपहिरोको असरले शनिबारदेखि सोमबार बिहानसम्म थोक बजारमै तरकारी पाइएको थिएन। सोमबार दिउँसोदेखि पाइन थाले पनि थोरै मात्र आएका कारण अरू बेलाभन्दा झन्डै दोब्बर मूल्य तिरेर किन्नुपरेको उनले सुनाइन्। “बिहीबारसम्म घिरौँला प्रतिकेजी १०० रुपैयाँमा हामीले ल्याउँथ्यौ। अहिले हामलाई नै १६० परेको छ। त्यसमा ३० रुपैयाँसम्म बढाएर बेचेका छौँ,” उनी भन्छिन, “बोडी १७० रुपैयाँले बेचेका छौँ, बाढी आउनुअघि हामीले बेच्ने भाउ केजीको १०० थियो।”  

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ पनि बाढीपहिरोले दुई दिनको ढुवानी प्रभावित हुँदा मूल्य बढेको बताउँछन्। यद्यपि राजमार्गमा फसेका तरकारी ढुवानीका अधिकांश गाडीहरू आइसकेको हुँदा आपूर्तिमा सुधार आउनुका साथै मूल्य पनि घट्दै गएको उनको दाबी छ।

“सोमबारदेखि नै तरकारी आगमनमा सुधार आइसकेको छ। ठूलो परिमाणमा तरकारी बोकेर आएका गाडीहरू हिजोदेखि नै भित्रिएका छन्, कतिपय भित्रिने क्रममा छन्। आगमन बढेसँगै मंगलबारदेखि धेरैजसो तरकारीको मूल्य घटेको छ,” श्रेष्ठले भने। 

देशको सबैभन्दा ठूलो र पुरानो कालिमाटी बजारमा धादिङ, गोरखा, मकवानपुर, काभ्रे, चितवन, सर्लाही, सिन्धुपाल्चोक लगायतका जिल्लामा किसानले उत्पादन गरेको तरकारी आउँछ। गाउँगाउँ जोड्ने सडक सञ्जालहरूमा पनि क्षति पुगेकाले उत्पादित तरकारीसमेत बजार पठाउन नसकिएको गुनासो किसानहरूबाट आएको समितिका सूचना अधिकृत श्रेष्ठले बताए।


सम्बन्धित सामग्री