काठमाडौँ– अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबारयता मृत्यु हुनेको संख्या २०० पुगेको छ।
नेपाल प्रहरीले जारी गरेको असोज ११ गतेदेखि १४ गते दिउँसो साढे तीन बजेसम्मको ‘अविरल वर्षाका कारण भएको मानवीय क्षति एवं उद्धार’सम्बन्धी विवरणअनुसार अझै २६ जना बेपत्ता रहेका छन्। बाढी, पहिरोका कारण १२७ जना घाइते भएका छन्। बाढी पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजारभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको प्रहरीले जनाएको छ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको जनाएको छ।
प्रहरीका अनुसार सोमबार दिउँसो दुई बजेसम्म पहिरोका कारण काठमाडौँ उपत्यका प्रवेश गर्ने सिस्नेरी सडकखण्ड, बल्खु फर्पिङ सडकखण्ड, पृथ्वी राजमार्ग तथा ललितपुरको लेले टीका भैरव जाने बाटो पूर्ण रूपमा अवरुद्ध छ।
प्रहरीको विवरणअनुसार पूर्वपश्चिम राजमार्गका विभिन्न खण्डसहित २५ सडक खण्डहरू वर्षा, बाढी पहिरो कारण अझै अवरुद्ध छन्। यातायात सञ्चालनका लागि अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताएका छन्।