धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा पुरिएका सवारी। तस्वीर : नेपाल फोटो लाइब्रेरी।
काठमाडौँ– गत बिहीबारदेखि परेको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण आइतबार दिउँसो साढे ३ बजेसम्म १४८ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। नेपाल प्रहरीका अनुसार विपद्का घटनामा ५५ जना बेपत्ता छन् भने १०१ जना घाइते। गृह मन्त्रालयले विपद्मा परेकाहरूको उद्धार र घाइतेहरू उपचार जारी रहेको जनाएको छ।
यस वर्षको मनसुन सकिने लाग्दा दुई दिनसम्म परेको वर्षाले काठमाडौँ उपत्यका र आसपासका जिल्ला बढी प्रभावित भएका छन्। बिहीबारदखि वर्षा शुरू हुने र शुक्रबार ठूलो वर्षा हुने पूर्वसूचना एक हप्ताअघि नै जारी थियो। सम्भावित वर्षाको आकलन हुँदाहुँदै यति ठूलो धनजनको क्षति कसरी हुन पुग्यो? विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका निर्देशक वसन्तराज अधिकारी सरकारले पूर्वसूचना नागरिकलाई प्रदान गरे पनि कति पानी पर्दा त्यसले कस्तो असर पार्न सक्छ र त्यसलाई कसरी न्यूनीकरण गर्ने भनेर पूर्वतयारी गर्न चुक्दा बढी जनधनको क्षति भएको बताउँछन्। “सूचना त जारी गरियो तर पानी परेपछि आउने बाढी र पहिरोमा कसरी उद्धार गर्ने भन्ने योजनामा सरकार चुकेको देखिन्छ,” उनी भन्छन्, “उपत्यकामा पनि सम्भावित जोखिमयुक्त ठाउँका मानिसलाई निकालेर कहाँ राख्ने त्यसको पूर्वतयारी अघिल्लो दिनमै हुनुपर्दथ्यो। त्योअनुसारको काम गर्ने समय पनि सरकारसँग थियो।”
त्यसो त विपद् तथा जोखिम न्यूनीकरणको क्षेत्र हेर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छ। जसको काम नै विपद्को जोखिम न्यूनीकरण तथा राहत र उद्धारमा केन्द्रित हुनु हो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ ले विपद् व्यवस्थापनका सम्बन्धमा संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहको संस्थागत क्षमता विकास गर्ने गराउने, प्राकृतिक विपद्को सम्भावित असरलाई न्यूनीकरण गर्न जोखिम स्थानको पहिचान गर्ने र त्यस्ता स्थलको जोखिम तथा संकटसम्बन्धी नक्सांकन गर्ने तथा गराउने प्राधिकरणको काम कर्तव्य र अधिकार क्षेत्रभित्र पर्दछन्।
तर काठमाडौँ उपत्यकामै सरकारी संयन्त्रको परिचालन भद्रगोल जस्तै थियो। अवस्था यस्तो थियो कि कतिपय ठाउँमा प्रहरी र सेनासँग आवश्यक सामग्री उपलब्ध नहुँदा बाढीमा फसेकाको उद्धारमै ढिलाइ भएको थियो। जलाधारविज्ञ मधुकर उपाध्या उद्धार तथा राहतमा सरकारी संयन्त्र ‘स्मार्ट’ बन्नुपर्ने बताउँछन्। “राहत तथा उद्धारमा पुनर्स्थापनामा स्थानीय सरकारको पहिलो जिम्मेवारी हुन्छ। विपद्मा उनीहरूलाई स्रोतसाधन सम्पन्न र प्रविधियुक्त बनाउनुपर्छ,” उनी भन्छन्, “हाम्रा संयन्त्रले काम नगरेको देखियो। निगरानी बढाउने र सम्भावित जोखिम पहिचान गरिएका ठाउँमा स्वयंसेवक र सुरक्षाकर्मीको परिचालन गर्ने गरी पूर्वयोजना बनेको देखिएन।”
सुरक्षाकर्मी सीमित स्रोतसाधनका बाबजुद बाढीमा फसेकाको उद्धारमा शनिबार बिहानैदेखि जुटेका थिए। सुरक्षाकर्मी सरकारकै अंग भए पनि मनसुनी वर्षाले निम्ताउने विपद्बारे सरकारको नेतृत्वमा रहेकाहरू जिम्मेवार नदेखिएको केही घटनाक्रमले देखाउँछ। उदाहरणका लागि गृहमन्त्री रमेश लेखकले १० बजे मात्र सुरक्षा निकायको बैठक बोलाए, त्यति बेलासम्ममा काठमाडौँ उपत्यका नदी तटीय क्षेत्र बाढीले जलमग्न भइसकेका थिए। यस्तो बैठक अघिल्लो दिनमै बोलाएर प्रभावकारी योजना बनाउन सकिने भए पनि यसमा सरकार चुकेको देखिन्छ। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओली नागरिक बाढी, पहिरो तथा डुबानमा परेर ज्यान गुमाइरहेका बेला भ्रमण छोट्टाएर देश फर्किनुपर्नेमा अनौपचारिक कार्यक्रममा व्यस्त रहेको भन्दै आलोचना भइरहेको छ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह पनि विपद्का बेला लिनुपर्ने नेतृत्वदायी भूमिकामा कमजोर देखिए। आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा कांग्रेसकै नेताहरूले सरकारले प्रभावकारी नेतृत्व लिन नसकेको भन्दै आफ्नै मन्त्रीहरूको आलोचना गरेका थिए। त्यसैगरी, यहीबेला सरकारका मुख्यसचिव एकनारायण अर्याल पनि गृहजिल्लामा स्याङ्जामा थिए। जहाँ शनिबार मुख्यसचिव भएकोमा बधाई कार्यक्रम राखिएको थियो। उनी आइतबार मात्र स्याङ्जाबाट काठमाडौँ फर्केका छन्। त्यसैगरी नेपाल प्रहरीका प्रमुख, आईजीपी वसन्त कुँवर पनि विदेश भ्रमणमा छन्।
कति स्वाभाविक?
मनसुनमा वर्षा स्वाभाविक प्रक्रिया हो। जल तथा मौसम विज्ञान विभागसँग आधिकारिक विवरण नभए पनि झन्डै यही स्तरका वर्षा विगतमा पनि भएका थिए। जलाधारविज्ञ उपाध्या र विपद्विज्ञ अधिकारी पनि शुक्रबारको बाढी स्वाभाविक भएको बताउँछन्। स्वाभाविक खालको वर्षामा पनि काठमाडौँ उपत्यका जलमग्न हुनुमा मानवीय संरचना मुख्य कारण रहेको पाध्यायको ठम्याइ छ। “हामीले खोला तथा नालाहरूलाई साँघुरो बनायौँ। तर खोला र नालाले आफ्नो ठाउँ मात्र लिएको हो,” उनी भन्छन्।
विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका निर्देशकसमेत रहेका अधिकारी बागमती सभ्यता र नदी सुधारका नाममा नदीको बाटो थुनेर प्राकृतिक बहावलाई बिगार्दा क्षति बढेको औँल्याउँछन्। “हामीले नै निम्ताएको विपत्ति हो। कंक्रिट जंगलले गर्दा जमिनले पानी सोस्न पाएन। अनि यो अवस्था आयो,” उनी भन्छन्, “सम्पूर्ण रूपमा मान्छेका क्रियाकलाप दोषी हुन्। तर यति हुँदाहुँदै पनि कति पानी पर्दा क्षति हुन्छ भन्ने नक्सांकन नगरी नगरपालिकाले बस्ती विकास गर्न दिनु गलत हो।”
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव (इन्जिनियर) केशवकुमार शर्मा अव्यवस्थित बस्तीका कारण प्राकृतिक रूपमा बहने पानीको प्रणाली बिग्रिँदा समस्या निम्ताएको तर्क गर्छन्। “पानी बहने प्रणाली थियो, थोरैथोरै पानी एक ठाउँबाट बगेर जान्थ्यो, त्यो भएन। पानीले बाटो बिराएर बाटोबाट पानी बग्न थाल्यो। पानी एक ठाउँमा थुप्रियो र त्यसको तीव्रता बढ्यो,” उनी भन्छन्, “त्यसले माटोको लोड बढी बोक्छ। पानी उत्ति नै भए पनि खोला अग्लो हुन्छ र डुबान पर्छ।” देशका धेरै ठाउँमा पुललगायतका भौतिक संरचनाको क्षति हुनुमा यो एउटा कारण रहेको उनी बताउँछन्।
उनका अनुसार पहाडतिर बनेका अव्यवस्थित बाटोले पानीको बाटोलाई बिगारेर प्राकृतिक खोल्सामा अवरोध भयो। बाटोबाट पानी बग्दा झन् माटो बगेर क्षति बढेको उनको भनाइ छ। “पानी मात्रै बगेको भए पूर्वाधारमा यति क्षति हुन सक्दैनथ्यो। त्यहाँ माटो पनि बग्यो,” शर्मा भन्छन् “पानीमा माटो र लेदो मिसियो भने त्यसको तीव्रता धेरै गुणा बढी हुन्छ। त्यसले भौतिक संरचनामा ठूलो असर पुराउँछ।”
त्यसबाहेक नदीमा बनेका जलविद्युत् आयोजना पनि अर्को कारण हुन्। निश्चित समयपछि जलविद्युत् संरचनाका ढोका खोल्दा त्यहाँबाट पानीको बहाव बढेर पनि कटान र भौतिक संरचनामा क्षति पुगेको छ। मकवानपुरमा पहिरोले पुरिएर ६ जना बालकको मृत्यु हुनुमा खुलेखानी ड्यामका ढोका खोल्दा त्यहाँबाट बगेको पानी र त्यसले निम्ताएको पहिरो कारक रहेको मकवानपुरका संविधानसभा सदस्य सुभाष ठकुरी बताउँछन्।
नागरिकको पनि लापरबाही
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि वर्षा हुन्छ भनेर एक हप्ताअघि नै पूर्वानुमान सार्वजनिक गरेको थियो। त्यसलाई आधार मान्दै सरकारी संयन्त्रले पूर्वसूचना जारी गरेका थिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना नै जारी गरेर बाढी पहिरोको जोखिम रहेका सडकमा रात्रिकालीन बस नचलाउन भनेको थियो।
प्रहरीले सवारीसाधनलाई रोकेर जोखिम रहेका राजमार्गमा अगाडि नबढ्न सुझाव दिएको थियो। तर त्यति हुँदाहुँदै पनि कतिपय ठाउँमा नागरिकको अटेरीपनले भौतिक सँगै मानवीय क्षति हुन पुग्यो। जस्तो कि शनिबार बेलुका काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको कार र मोटरसाइकललाई प्रहरीले मलेखुबाट अघि बढ्न दिएन। प्रहरीले रोक्दारोक्दै अघि बढेका उनीहरू केही छिनमै पहिरोमा परे। कतिपय स्थानमा बाढी हेर्न गएका मानिसहरू पनि बगेर बेपत्ता भएका छन्।
“नागरिकमा पनि अटेरीपन देखियो। अझै पनि सार्वजनिक सूचनालाई विश्वास नगर्ने परिपाटी देखिन्छ,” विपद्विज्ञ अधिकारी भन्छन्, “सबै कुरामा सरकारलाई मात्र दोष दिएर हुँदैन। नागरिक पनि जिम्मेवार बन्नुपर्छ।”