जनकपुरधाम– सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा ‘मुसहर कम्युनिटी’ नामको ‘ह्यान्डल’बाट गएको बिहीबार शेयर गरिएको भिडियोमा ‘सिरहाको मुसहरी (मुसहर बस्ती) मा साहुकारले १० दिनदेखि नाकाबन्दी गरेको’ भनिएको थियो। ठाउँको नाम ठ्याक्कै नभनिएको भिडियोबाट मुसहरी नरहा गाउँपालिकामा पर्ने चाहिँ बुझिन्थ्यो।
त्यही आधा–अधुरो सूचना पछ्याउँदै जनकपुरधामबाट करिब ८५ किलोमिटरको दूरी तय गरेर पुग्यौँ सिरहाको नरहास्थित मुसहरी। पूर्वपश्चिम राजमार्गस्थित सिरहाको चोहर्वा चोकबाट करिब तीन किलोमिटर उत्तरमा पर्छ, पानबारी चोक। त्यहाँबाट करिब दुई किलोमिटर पूर्वमा एउटा बस्ती छ, गाउँको छेउकुनातिर। झन्डै ५० वटा घरहरू रहेको बस्ती मधेशी दलितको पनि पिँधमा पर्ने मुसहरहरूको हो।
हिलाम्य साँघुरा सडक र आकाशबाट दर्किरहेको भारी वर्षाबीच बस्तीमा मोटरसाइकल घ्याच्च रोकिएपछि घरघरबाट वेदना र उद्धारको अपेक्षाका स्वरहरू सुनाउन मुसहरहरू भेला भए। शुरूमा हरि सदाले आफूहरू साहु महेश यादवबाट प्रताडित भइरहेको पीडा पोखे।
मुसहरहरू अरू साहु–महाजनको पनि काम गर्न गइदिँदा महेश रिसले आगो बनेका रहेछन्। त्यही रिसमा उनले गाउँलाई नै नाकाबन्दमा राखेर स्थानीयलाई शारीरिक र मानसिक पीडा दिइरहेका छन्। “गरिब मान्छे एकैजना साहुको काम गरेर कसरी बाँच्ने!” हरिले सुनाए, “अरूकहाँ काम गर्न गएकोमा हाम्रो सबै बाटो बन्द गरिदिएर यहीँ थुनेर राखेका छन्।”
बार लगाएर बाटो थुनियो
मुसहर बस्ती जाने निश्चित बाटो छैन। कि त खेतको आली भएर कि महतो टोलको सडकबाट हिलाम्य बाटो भएर जानुपर्छ। बस्तीका मान्छेहरू आलीकै बाटो धेरै प्रयोग गर्छन् जहाँबाट अरू गाउँ र नजिकको चोकसम्म सजिलै पुगिन्छ।
त्यही आलीको बाटो दुई सातादेखि बन्द छ। त्यहाँ बार लगाएर तीनतिरबाट बाटो बन्द गरिएको छ। बस्तीको तीनैतिरै महेश यादव र उनका आफन्तको खेत पर्छ। अरूकहाँ नगई महेशकै खेतमा मात्रै काम गर्दा आली प्रयोग गर्न दिइएको थियो। अन्यत्र पनि मजदूरी गर्न जान थालेपछि बाटो छेकिएको हरि बताउँछन्। “धन्न एकतिर उनको खेत पर्दैन,” उनी भन्छन्, “नत्र चौतर्फी घेराबन्दीमा पर्थ्यौं।”
स्थानीय रामनाथ सदाका अनुसार महेशले यो पहिलोपटक मात्र बाटो थुनेका होइनन्, यसअघि तीनपटक बार लगाइसकेका छन्। उनलाई खुशी पारेर राख्नुको विकल्प नभएको रामनाथको गुनासो छ। स्थानीयका अनुसार उनले बस्तीको जमिन पनि आफ्नै भएको दाबी गर्छन्। “जग्गा उनकोचाहिँ होइन, तर गर्ने के? बोल्यो की खान्दानलाई झम्टिहाल्छन्, गन्धा–गन्धा गाली मुखमै झुण्डिएको हुन्छ,” उनी भन्छन्।
महेशले उनीहरूको बाटो मात्रै छेकेका छैनन्, बस्तीभित्र रहेका चापाकलको किल्लीहरू (ह्यान्डल र कलको मुख्यभागलाई जोड्ने फलामे रड) नै निकालेर लगेका छन्। उनले ती चापाकलहरू आफूले नै गाडिदिएको दाबी गरेका थिए।
बस्तीका ५० घरमध्ये एउटैमा शौचालय छैन। दुईतीन घरका लागि एउटा खाल्डो खनिएको श्यामसुन्दर सदा बताउँछन्। “तीनतिरै उनीहरूकै खेत छ, अर्कोतिर महतो टोलको बाटो छ। हामी कहाँ जाने शौच गर्न?” उनी भन्छन्। यसअघि उनका लागि मात्रै मजदूरी गर्दा शौच गर्न दिने गरेको श्यामसुन्दर बताउँछन्।
दिनरात साहु महेशकै लागि खटिए पनि उनी आफूहरूलाई बिहान–बेलुकै गाली बेइज्जती गर्नेगरेको उनकै खेतमा धान रोप्ने चौरासीदेवी सदा बताउँछिन्। आफू तल्लो जातको भएर र आफूसँग पैसा नहुँदा विभेद खेप्नुपरिरहेको उनको भनाइ छ। “अरू साहूले ५०० ज्याला दिँदा महेश यादवले ४०० रुपैयाँ मात्रै दिए पनि सबैजना उनकैमा खट्ने हुन,” चौरासीदेवी सुनाउँछिन्, “तैपनि अरूकहाँ किन मजदुरी गरिस् भनेर यस्तो गर्छन्, उनकोमा कामै नगरे के गर्दा होलान्?”
हुकुमी शैलीले परेशान बस्ती
साहु महेश यादवले महिला, बच्चा र वृद्धाको पनि ख्याल नराखी अत्याचार गरिरहेको रानीकला सदा बताउँछिन्। उनका अनुसार अहिले बस्तीलाई घेरेर राख्दा पनि कोही बस्तीबाट निस्किहाले गाली खानुपर्छ। “अस्ति पानी परिरहँदा मुसहरहरू जाल बोकेर माछा मार्न निस्केका थिए। “बाटोमा भेटिएका उनले मुख छाड्दै मेरो खेतको आलीबाट त आएका हैनौ नि भन्दै थर्काउन थाले,” रानीकला सुनाउँछिन्।
महेशले आफ्नो खेतमा जोडिएको आलीमा बार त लगाएकै छन्, पोखरी, नहरहरूमा काँडेतार र सिसाका बोतलहरूसमेत फालिदिएर सताइरहेको स्थानीय बताउँछन्। दुई सातादेखि यहाँका मुसहरहरू दैनिक ज्याला मजदुरी गर्नसमेत जान पाएका छैनन्।
महेशले कहिलेकाहीँ बस्तीमा पसेर आफूहरूलाई पिट्ने पनि गरेको रामदयाल सदाको आरोप छ। “श्रीमतीसँग झगडा परेको रिस पनि यहाँ आएर आफूहरूमाथि पोख्ने गरेको छ। हामीमाथिको अत्याचार भनीसाध्ये छैन,” उनी भन्छन्, “प्रतिकार गर्ने कुरा मनमा आउँछ, के गर्नु पुलिस–प्रशासन, नेताले साथ दिने उसैलाई हो।”
दुई महिनाअघि महेशले बस्तीमा पसेर ससुराली गएको आफूलाई घाँटीमा समातेर पछार्दा ढाडका चोट लागेको बेचु सदा बताउँछन्। “घरमा पसेर तेरो ससुराले लिएको ऋण तिरेको छैनस्, खेतमा काम गर्न हिँड भने,” बेचु भन्छन्, “ससुराको ऋण मैले काम गरेरै तिरिदिएको होइन? भनेपछि महेश र उसको बुबाले लखेटी लखेटी पिटे।”
यस विषयमा कुराकानी गर्न खोज्दा महेश यादव सम्पर्कमा आउन चाहेनन्।
नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवले भने आफूलाई यो विषय जानकारी नभएको बताए। “मलाई त राम्री थाहा पनि छैन। मिडियाहरूमा अलिअलि हेरेँ। उनीहरू पनि मकहाँ नआउँदा मलाई जानकारी नभएको हो। म अहिले गाउँ बाहिरै छु। के कुरा रहेछ त्यो गाउँ पुगेर बुझ्छु,” उनले भने।
बस्तीबाट फर्किने बेला ७२ वर्षीया चित्रकला सदाले भनिन्, “पूरा बस्तीमें कर्फ्यू लागल है। की जाने गेलियै कहिया स हट्तै।”