काठमाडौँ– बिहीबारदेखिको अविरल वर्षा कारण देशभर ठूलो जनधनको क्षति भएको छ। मनसुन बाहिरिने समयमा देशव्यापी रूपमा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुबानले जनजीवन अस्तव्यस्त बनाएको छ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार शनिबार रातिसम्म वर्षाजन्य विपद्मा परी ८६ जनाको मृत्यु भएको छ, ७२ जना बेपत्ता छन् भने ३६ जना घाइते भएका छन्। यो विवरण शनिबार बेलुका साढे ८ बजेसम्मको हो।
बाढीपहिरोका कारण काठमाडौँ उपत्यकामै पनि ठूलो धनजनको क्षति भएको छ। काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते, बल्खु, नख्खु, मनोहरालगायतका खोलामा आएको बाढीले तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन्।
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।
यस्तै, कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो। उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ। त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर देशभर ८७ जनाको मृत्यु भएको हो।
त्यस्तै, वर्षाका कारण कैयन् सडक अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यकामा प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड निरन्तरको वर्षापछि खसेको पहिरो र लेदोसहितको माटोका कारण अहिले क्षतविक्षत भएको छ भने सवारी आवागमन ठप्प छ।
जसका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रु मर्कामा परेका छन्। यो सडक खण्डअन्तर्गत धादिङ र काठमाडौँको सीमा क्षेत्रमा धुनिवेँशी नगरपालिका–९ झ्याप्ले खेलामा पहिरोले तीन वटा सवारीसाधन पुरेको छ।
स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा सवारीसाधन चलाउन आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्वारा जारी सूचनामा भनिएको छ, “सवारीधनी एवं यात्रु मानुभावहरूलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ।”
त्यस्तै, नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा र प्रसारण लाइनमा पनि क्षति पुगे छ। वर्षाले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२.१ मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावरहाउसमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
नेपालमा उत्पादित विद्युत्गृहमा बाढी पहिरोले क्षति पुर्याएपछि प्राधिकरणले भारतबाट थप ३०० मेगावाट विद्युत् आयात गरिरहेको छ।
घाइतेको निःशुल्क उपचार गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारीमा सबै स्वास्थ्य संस्थाहरूले विपद्बाट उद्धार गरिएका घाइते र बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको जनाइको छ। प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ।
प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको छ। हब तथा स्याटेलाइट अस्पताल सञ्जालले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रतिकार्य गर्नसमेत अनुरोध गरिएको छ।
स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई चौबिसै घण्टा उपलब्ध हुने गरी व्यवस्था मिलाउन आग्रह गरिएको छ। प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्तिन सक्ने पानीजन्य रोगहरू पखाला, हैजा तथा कीटजन्य रोगहरू डेंगी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान अनुरोध गरिएको छ।
शनिबार बसेको आपत्कालीन समन्वयात्मक बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो। अवरुद्ध सडक खुलाउन, बिजुली, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
त्रिविको परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण विभिन्न संकायका परीक्षा स्थगित गरेको छ। त्रिविले सूचना जारी गरी यही असोज १० गतेदेखि सञ्चालनमा रहेका मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन संकाय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बीए, बीएड, बीबीएस र बीएस्सीको आइतबार हुने परीक्षा स्थगित गरेको छ।
“उक्त परीक्षाहरू यही असोज २१ गते सोही समयमा, सोही परीक्षा केन्द्रहरूमा सञ्चालन हुने गरी तोकिएको व्यहोरा निर्देशानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, त्रिविले भनेको छ। साथै, त्रिविले सम्पूर्ण केन्द्राध्यक्षलाई यही सूचनालाई आधिकारिक मानेर आइतबार हुने गरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्र प्याकेट नखोली सुरक्षित साथ यही असोज २१ गते प्रयोग गरिदिन हुन अनुरोध गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारणले विद्यालय सञ्चालन गर्न कठिनाइ हुने भएकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको जनाइएको छ।
देशभर अविरल वर्षाका कारणले विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भएकाले विद्यालय बन्द गर्नुपरेको प्रवक्ता भट्टराईले बताए। मन्त्रालयले भौतिक क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा पठाउनसमेत अनुरोध गरेको छ।
कोशी ब्यारेजमा पानीको बहाव झन्डै ६ लाख क्युसेक
कोशी ब्यारेज भएर बग्ने पानीको बहाव झन्डै ६ लाख क्युसेक पुगेको छ। पछिल्लो समय कोशी ब्यारेज कन्ट्रोल रुमले गरेको मापनअनुसार पाँच लाख ९० हजार ३८५ क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। कोशी ब्यारेज भएर पानीको बहाव अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ।
बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। कोशी ब्यारेजमा पानीको बहाव बढेपछि ब्यारेजको ५२, सुनसरी नहरको दुई र सप्तरीतर्फ नहरको दुई गरेर ५६ वटै ढोका खोलिएको छ। राससको सहयोगमा