काठमाडौँ– विगत दुई दिनदेखिको वर्षाका कारण भएका विपद्का घटनामा देशको राजधानीसँगै मुलुकभर ठूलो मानवीय क्षति भएको छ। अविरल वर्षापछि आएको बाढीपहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालयका अनुसार काठमाडौँमा ११, ललितपुरमा १६ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ। योसहित देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका छन्। त्यस्तै, ४० जना सम्पर्कविहीन भएका छन्। काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन्। काठमाडौँमा ५८९ जनाको उद्धार गरिएको छ। ललितपुरमा ४१६ जना र भक्तपुरमा ४८ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
उद्धारमा २० हजार सुरक्षाकर्मी परिचालित
प्राकृतिक विपद्का कारण जोखिममा परेका नागरिकको उद्धार तथा बेपत्ता भएकाको खोजीका लागि देशभर २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ। विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन भएको हो।
गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका हुन्। जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार ७६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५०० सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।
त्यसैगरी नेपाली सेनाको टोलीले बाढीमा फसेकाहरूको हेलिकप्टरमार्फत उद्धार जारी राखेको छ। सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ भने राष्ट्रिय अनुसन्धान विभाग सूचना संकलनमा सक्रिय छ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्धार गरिएको बताए। गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि परेको बताएका छन्। उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक विभागले शनिबार दिउँसो १२ बजेसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन्।
प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन् भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले राससलाई जानकारी दिए।
“ठाउँ–ठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् । विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण संकलन गर्न पनि सकिएको छैन। यो प्रारम्भिक विवरण मात्रै हो”, अर्यालले भने, “पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगाएको छ। अरनिको राजमार्गको लार्चा भन्ने स्थानको बेलिब्रिज र बिपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगाएको छ।”
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले बताए। बीपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले १०० मिटर जति बाटो बगाएको छ।
अहिले काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिए। धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उनले बताए।
सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ। सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो। त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ। धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो।
अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ। उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए।
त्यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। उक्त सडकखण्डअन्तर्गत गुल्मीको राक्स्या र बरल्ला क्षेत्रमा पनि पहिरो खसेको छ।
राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध छ।
पुष्पलाल (मध्यपहाडि राजमार्ग) अन्तर्गत ओखलढुंगाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छभने भेडेटार–रवि–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध छ।
सडक डिभिजन नुवाकोटअन्तर्गत ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत धादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी खण्डअन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ।
भेरी करिडोरअन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–तिन्जे–मरिम सडकखण्डमा पश्चिम रुकुमको त्रिवेणी भन्ने स्थानमा सडकमा पहिरो खसेको छ। यो सडकखण्डअन्तर्गत जाजरकोट जिल्लाको नमूना बस्ती क्षेत्रमा पनि बाढी र पहिरोका कारण समस्या देखिएको विभागले जनाएको छ।
मेची राजमार्गअन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम–गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला खण्डमा पाँचथरको फिदिम नजिकै पहिरोका कारण सडक अवरुद्ध भएको छ। त्यस्तै माडर–चौराहवा–गोलबजार–सिरहा–साँघुरे–उदयपुर–मिचैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा सल्लेरी सडकखण्ड प्रभावित बनेको छ। मिर्चैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा–सल्लेरी सडकमा पनि सवारीसाधन सञ्चालन हुने सकेका छैनन्।
शहीद मार्गअन्तर्गत कोइलाबास–लमही–अर्जुनखोला–घोराही–घर्तिगाउँ–थवाङ–लुकुम खण्ड, रोल्पाको घर्तीगाउँ र दुई खोली खण्डको गरगरे भन्ने ठाउँमा पहिरो गएको छ। यो राजमार्गमा रोल्पाको होलेरी र दारबोट खण्डमा पनि अवरोध सिर्जना भएको छ। अर्घाखाँचीको लौलिहवा–गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत नरपानी–खुम्ती–सन्धिखर्कमा पहिरो गएको सडक विभागले जनाएको छ।
त्यसैगरी, पुष्पलाल राजमार्गअन्तर्गत खोटाङको खोक्सेली तथा चिसापानी, सिन्धुलीको रिठ्ठाबोट, फिक्कल, ट्याँउ खोला र कुखुरेटार, हर्जेनी, बलेनी, सालघारीलगायत क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ।
तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटोमा तथा रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्टानमा सडक पूर्ण रूपमा अवरुद्ध छ। डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको ताल डाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा समस्या भएको छ।
कान्ति राजपथअन्तर्गत हेटौँडा–बागमती–टीकाभैरव–भैँसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध छ। यो राजमार्गको आँपचौर भन्ने स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो।
ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार खण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा बाढी र पहिरोका कारण समस्या सिर्जना भएको छ। दक्षिणकाली नगरपालिका–८ को सिस्नेरी सडकखण्ड, कीर्तिपुर नगरपालिका–६ को बल्खु फर्पिङ र वडा नं १० को त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडि पहिरो खसेका छ। गोदावरी नगरपालिका–६ को लेले टिकाभैरव जाने बाटोमा पहिरो खसेको छ।
नदीमा पुल बगाएको र ठूलो पहिरो खसेको स्थानमा बाहेक अन्य स्थानमा कम्तीमा दुई घण्टाभित्र अवरोध हटाउने गरी विभागको टोली परिचालन गरिएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए। सडक सञ्चालन गर्न सडक डिभिजन तथा मातहतका कार्यालयका टोली तयारी अवस्थामा रहेका उनले बताए।
“बाटो र पुल बगाएको स्थानमा बाहेक ठूलो पहिरो नभएका ठाउँमा बढीमा दुई घण्टाभित्रमा सडक खुलाउन सक्नेगरी तयारी अवस्थामा बसेका छौँ। निरन्तर पानी परिरहेको छ। अधिकांश स्थानमा लेदोसहितको बाढीपहिरो आउने जोखिम रहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा केही समस्या भएको छ”, अर्यालले भने।
वर्षा बेलुकाबाट कम हुँदै जाने
बाढी पूर्वानुमान शाखा वर्षा शनिबार बेलुकादेखि कम हुँदै जाने अनुमान गरेको छ। शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने बताएका छन्।
“आज बेलुकादेखि नै वर्षा केही कम हुन शुरू हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ,” उनले भने। आइतबार देखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ।
“बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ”, पराजुलीले भने, “पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो।” राससको सहयोगमा