जनकपुरधाम– एकपछि अर्को मोटरसाइकल चोरी भइरहेको शहरमा चनाखो हुँदाहुँदै पनि नाशिर अहमद चोरको फन्दामा परे। भदौ २० गते उनको वाहन चोरी भयो। ‘चौरचन’को प्रसाद खान साथीको घर पुगेका उनी घरै अघिल्तिर मोटरसाइकल पार्क गरेर उक्लिए, आधा घण्टापछि ओर्लिँदा मोटरसाइकल थिएन।
अहमदले तत्कालै १०० नम्बरमा फोन गरेर प्रहरी बोलाए। चोरिएको मोटरसाइकलबारे सूचना दिए। मोटरसाइकल खोजतलास गरी चोरी गर्नेमाथि कारबाही चलाउन प्रहरीमा उजुरी पनि दर्ता गराए। तर तीन साता बितिसक्दा पनि मोटरसाइकलको अत्तोपत्तो छैन।
“साथीहरूकै मोटरसाइकल चोरी भएकाले सतर्क नै थिएँ,” उनी गुनासो पोख्छन्, “आफ्नै पो चोरी भयो।” मोटरसाइकल पत्ता लगाउन उनी आफै सीमापारिको भारतीय भूमिसम्म पटक–पटक चहारिसके। नाशिरको चोरी हुनुभन्दा चार दिनअघि (भदौ १६ गते) धनुषाधामका दुलारचन्दको मोटरसाइकल जनकपुरको ‘डाउनटाउन’बाटै चोरिएको थियो।
बिहान १० बजेतिर मालपोत अड्डा जाँदै गरेका उनी मोबाइलमा फोन आएपछि मोटरसाइकल छेउ लगाएर गफिन थाले। १५–२० मिनेट लामो कुराकानीका क्रममा हिँड्दै अलि पर पुगेका उनी फर्केर रोकेको ठाउँमा पुग्दा मोटरसाइकल गायब भइसकेको थियो।
“अचम्मै भयो, जादुगरले छुमन्तर गरेर मोटरसाइकल गायब पारेजस्तो पो भयो,” उनी भन्छन्, “हेलमेटदेखि कागजपत्र (ब्लुबुक) सबै त्यसमै थियो।” सधैँजसो जिल्ला प्रहरी कार्यालय धाइरहे पनि मोटरसाइकल त भेटिएको छैन नै, प्रहरीबाट राम्रोसँग ‘रेन्सपोन्स’ पनि नपाएको उनको गुनासो छ।
दुलारचन्दको मोटरसाइकल चोरी भएको दुई दिनअघि (भदौ १४ मा) शंकर साहको मोटरसाइकल हराएको थियो, शहर बीचको राजदेवी मन्दिर अगाडिबाट। जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी मनोनयनको दिन थियो। उम्मेदवारको र्याली त्यही मन्दिरबाट शुरू हुने भएकाले मन्दिर अघिल्तिर मोटरसाइकल राखेर उनी र्यालीमा हिँडेका थिए।
“आधा घण्टापछि फर्किँदा मोटरसाइकल हराइसकेको थियो,” साहले सुनाए। चोरी भएयता प्रहरी कार्यालयको चक्कर लगाइरहेका उनले बच्चालाई स्कुल छोड्न र लिन जानुपर्ने भएकाले नयाँ मोटरसाइकल किनिसकेका छन्। “भेटिन्छ कि भन्ने आशा पनि छ,” उनी भन्छन्, “तर जब पुलिसहरूको रवैया हेर्छु तब आशा जति निराशामा बदलिन्छ।”
दुई महिनामा ६७ घटना
जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले नै पछिल्लो समय जनकपुरमा मोटरसाइकल चोरी गर्नेहरूको सक्रियता कति तीव्र छ भन्ने देखाउँछ। यहाँ दुई महिनामै ६७ वटा मोटरसाइकल चोरीसँग सम्बन्धित जाहेरी दर्ता भएका छन्। यसबीचमा एकै दिन चार वटा मोटरसाइकल चोरिएको पनि रेकर्ड छ।
रोकेर राख्नासाथै मोटरसाइकल चोरिने घटना नियमितजस्तै बनिसकेको छ। चोरिएकामध्ये ११ वटा मोटरसाइकल भने प्रहरीले फेला पारेर फर्काएको छ। शहरको बीचमै भइरहेको चोरीले जनकपुरवासीलाई आतंकित बनाएको स्थानीय भुलन यादव बताउँछन्। मोटरसाइकल चोरीका सबै घटनाको उजुरी प्रहरी कार्यालयमा दर्ता नभएको उनको दाबी छ।
“मोटरसाइकल चोरिएकामध्ये कतिपयले कानूनी प्रक्रिया पुर्याउन मात्रै प्रहरीमा जाहेरी दिएका हुन्। त्यो पनि प्रहरीले खोजिदेला भनेर होइन,” भुलन भन्छन्, “जतिको चोरी भएको छ तिनीहरूलाई सोध्ने हो भने कतिलाई पुलिसले खोज्देलान् भन्ने विश्वासै छैन।”
चोरिएका मोटरसाइकल सीमापारि सस्तोमा बिक्री भएर तस्करीमा प्रयोग भइरहेको अर्का स्थानीय विजय साह बताउँछन्। उनका अनुसार चोरी गर्नेहरूले मोटरसाइकल तुरुन्तै सीमाक्षेत्र कटाउँछन् र नक्कली नम्बर प्लेट हालेर थोरै पैसामा बेच्छन्। “चोरेको मोटरसाइकल ब्लेकिया (तस्कर) लाई सस्तैमा बेच्दिन्छन्,” विजय भन्छन्, “त्यही मोटरसाइकलमा राति तस्करीका मालसामान पास हुन्छ, कतै प्रहरीले घेरिहाले मोटरसाइकल छोडेर भाग्छन्।”
निकम्मा प्रहरी प्रशासन
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारी ‘जिल्लामा चोरीचकारी बन्द भइसकेको’ बताउँछन्। पृथक् शैलीमा सुरक्षा संयन्त्र परिचालन गरेर चोरीमा संलग्न सबैलाई नियन्त्रणमा लिइसकेको उनको दाबी छ।
“दुई–तीन महिना अघिसम्म चोरी हुन्थ्यो,” दुई महिनामै ६७ मोटरसाइकल चोरीको तथ्यांक लिएर बसेको कार्यालयका प्रमुख तिवारीले उकालोसँग भने, “चोरी गर्ने गिरोहका मूल नाइके नै समाइसकेपछि सबै बन्द भइसक्यो नि।”
चोरी जति सबै तस्करीसँग जोडिने धनुषामा तस्करी नै ठप्प बनाइसकेको दाबी पनि उनले गरे। एसपी तिवारीले नेतृत्व गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाकै तथ्यांकले उनको दाबीलाई असत्य साबित गर्छ। असोज १० गतेसम्म जिल्लाभित्र चार वटा मोटरसाइकल चोरिएका थिए। त्यसमध्येको एउटा घटनामा संयोग यस्तो थियो कि उकालोले एसपी तिवारीसँग कुरा गरिरहेकै समयमा महेन्द्रनगरमा एउटा मोटरसाइकल चोरी हुँदै गरेको जानकारी त्यसको आधा घण्टापछि प्रहरी कार्यालयले पायो।
जिल्लाभित्र चोरी, लुटपाट र हत्याजस्तो संवेदनशील घटनाहरू भए पनि एसपी तिवारीको दिनचर्या गफमा बितिरहेको आरोप पीडित शंकरले लगाए। “गफ गर्नेबाहेक उहाँको कुनै उपलब्धि देखिँदैन,” उनले थपे, “होलीमा महामूर्खको पदवी दिने जनकपुरले उहाँलाई महागफाडीको उपाधि दिए हुन्छ।”
प्रहरी निरीक्षक (इन्स्पेक्टर) कै दर्जाबाट धनुषा प्रहरी कार्यालयको मुद्दा फाँट सम्हालेका तिवारीलाई जिल्लामा हुने अपराध र सुरक्षाका चुनौती एवं उपलब्ध स्रोतसाधनबारे पहिल्यैदेखि जानकारी रहेकाले अहिले त्यसको फाइदा उठाइरहेको स्थानीयको आरोप छ। “अपराधका सबै लुपहोल (छिद्र) हरू उहाँलाई थाहा छ, तर नियन्त्रण गर्ने मनसाय नै छैन,” शंकर भन्छन्, “पाँच/छ वर्षयता यस्तो एसपी त देखिएको थिएन।”
स्थानीय प्रवीण पाण्डे त चोरीमा प्रहरीकै मिलीभगत रहेको आरोप लगाउँछन्। प्रहरीको मिलेमतोबेगर चोरीको यस्तो बिगबिगी हुनै नसक्ने उनको दाबी छ। “उहाँ आएदेखि जनकपुरमा हरेक दिनजसो केही न केही अपराध भइरहेको छ,” उनी भन्छन्। असोज ६ गते राति जिल्ला प्रहरीको हिरासतबाट नौ जना थुनुवा भागेकोमा प्रहरीले तीन दिन लगाएर उनीहरू सबैलाई पक्रेको थियो।
जनकपुरमै मुख्यालय रहेको मधेश प्रदेश प्रहरी कार्यालयको भूमिकामाथि पनि प्रश्न उठिरहेको छ। कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलले असुलीधन्दा चलाएको गुनासो आएपछि केही समयअघि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन गरेको थियो। त्यसक्रममा उनको बैंक खातामा अस्वाभाविक रकम (९० लाख) फेला पर्यो। त्यसपछि उनलाई प्रधान कार्यालयमै हाजिर गराई उनको ठाउँमा लालमणि आचार्यलाई पठाइएको छ। पोखरेलविरुद्धको छानबिन जारी छ।