Monday, November 11, 2024

-->

कहाँ पुग्यो धनराज गुरुङ मुछिएको सहकारीको छानबिन?

बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयबाट आएको किटानी जाहेरीमा धनराजको नाम उल्लेख नभएको हुँदा उनीविरुद्ध अहिले अनुसन्धान अघि नबढेको जवाफ प्रहरीले दिएको छ।

कहाँ पुग्यो धनराज गुरुङ मुछिएको सहकारीको छानबिन

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ मितेरी बचत तथा ऋण सहकारी अनियमितता प्रकरणमा मुछिएको चर्चाले केही दिनअघि संसद् नै ततायो। सहकारीको रकम हिनामिनामा मुख्य आरोपित ज्योति गुरुङ थिइन्। उनका पूर्वश्रीमान् धनराज पनि त्यसमा मुछिएको भनी चलेको चर्चा अहिले भने मत्थर छ। 

यद्यपि सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी अनियमितताको बारेमा छानबिन अघि बढाउन सरकारलाई निर्देशन दिइसकेको छ। छानबिनको दायरामा कांग्रेस उपसभापति गुरुङ पर्छन् कि पर्दैनन् भन्ने चासो भने अझै सेलाएको छैन। 

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारी ठगी प्रकरणबारे बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा परेको उजुरीमा धनराजको नामसमेत थियो। सहकारीको १४ करोड ८१ लाख हिनामिनामा संलग्न रहेको भन्दै ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापासँगै धनराजको नाममा पनि संस्थाले उजुरी दिएको थियो।  

बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले भने धनराजको नाम हटाएर अन्य पाँच जनामाथि अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र पठायो। धनराजकी पूर्वश्रीमती ज्योति संस्थाको महाप्रबन्धक छँदा साढे १२ करोड (हालसम्मको ब्याजसहित झन्डै १५ करोड) रुपैयाँ हिनामिना गरेर फरार रहेको संस्थाको दाबी छ।  

यो पनि– मितेरी सहकारी ठगी प्रकरणः डेढ वर्षअघि नै भएको थियो साढे १२ करोड अनियमितताको ठहर

संसदीय छानबिन विशेष समितिमा उजुरी परेपछि मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई समितिले भदौ ६ गते बोलाएर सोधपुछ गर्‍यो। त्यसपछि त्यस प्रकरणमा धनराज पनि मुछिएको जानकारी बाहिरिएको थियो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त सहकारीबारे अनुसन्धान गरिरहेको छ। तथापि जाहेरीमा धनराजको नाम समावेश नभएको हुँदा उनीमाथि हाल अनुसन्धान नभएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटी बताउँछन्। प्रमाण पुगेको खण्डमा भने सम्बन्धित जोकोही भए पनि कारबाहीको दायरामा ल्याउने उनको दाबी छ। 

“मितेरी सहकारीको सम्बन्धमा अनुसन्धान भइरहेको छ। जाहेरीमा नाम नै नभएको व्यक्तिको विषयमा अनुसन्धान गर्ने कुरा भएन। अनुसन्धान गर्दै जाँदा प्रमाण भेटिएको खण्डमा जोकोहीसम्म पनि हामी पुग्छौँ र कानूनी कारबाहीको दायरामा ल्याउँछौँ,” सीआईबीका प्रवक्ता बोगटीले भने। 

सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले पनि मितेरीमा भएको रकम हिनामिनाबारे अनुसन्धान गर्न सरकारलाई निर्देशन दिइसकेको छ। “सहकारी संस्थाका तर्फबाट ज्योति गुरुङ र धनराज गुरुङ समेतको नाममा प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौँडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानूनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ,” समितिको प्रतिवेदनमा भनिएको छ।

बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरूले खोलेको उक्त सहकारीमा स्थापनाकालदेखि नै लेखापाल भएर काम शुरू गरेकी ज्योति गुरुङले २०७५ सालदेखि रकम अपचलन गर्न थालेको संस्थाका अध्यक्ष कुम्भराज गुरुङले उकालोसँग बताएका थिए।  २०७० सालमा सहकारीको कोषाध्यक्ष बनेकी उनी २०७५ सालमा महाप्रबन्धक थिइन्। सोही पदमा रहँदा नै उनले रकम हिनामिना गरेको अध्यक्ष गुरुङको आरोप छ। 

रकम हिनामिना भएपछि संस्थाले सञ्चालक समितिका सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर डेढ वर्षअघि नै आन्तरिक छानबिन गरेको थियो। समितिले २०७९ फागुनमा सञ्चालक समितिलाई बुझाएको प्रतिवेदनमा १३८ बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ हिनामिना भएको उल्लेख छ।

संसदीय छानबिन समितिको गत शुक्रबार सार्वजनिक प्रतिवेदनअनुसार संस्थाको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा १२ करोड ४४ लाख रुपैयाँ बचत संकलन भएको देखिएको छ। यो रकमको ब्याजसमेत जोड्दा हुन आउने १४ करोड ८१ लाख बराबरको रकम सम्बन्धमा आवश्यक छानबिन गरी प्रचलित कानूनबमोजिम कारबाही अगाडि बढाउन समितिले निर्देशन दिएको प्रतिवेदनमा उल्लेख छ। 

उक्त सहकारीको रकम हिनामिनाका मुख्य आरोपित दम्पती ज्योति गुरुङ र धनराज गुरुङबीच २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद भएको कागजले देखाउँछ। तर त्यो मितिपछि पनि धनराजले सहकारीबाट दुवै जनाको नामबाट लिएको संयुक्त ऋण तिरेको पाइएको थियो। मितेरी सहकारीबाट प्राप्त विवरणअनुसार धनराजले २०८१ जेठ ६ सम्म सात पटकमा गरी ९१ लाख २५ हजार रुपैयाँ तिरेका थिए। 

धनराजले २०७६ फागुन २९ मै ज्योतिसँग आफ्नो सम्बन्ध विच्छेद भएको संसद्‌मा बताएका थिए। तर मितेरी सहकारीको अभिलेखबाट प्राप्त विवरण उनको दाबीसँग बाझिएको छ। संस्थाबाट २०७७ माघ २० गते धनराजले १८ लाख रुपैयाँ कर्जा लिने बेला तमसुक लेखाउँदा हकवालामा ज्योति गुरुङ र नाता श्रीमती उल्लेख गरेको भेटिएको छ। २०७७ फागुन ३ गते १२ लाख रुपैयाँ ऋण लिँदा पनि उनले त्यसरी नै तमसुक गरेका छन्। 

संसदीय छानबिन विशेष समितिले उनीहरूबीचको सम्बन्ध विच्छेदको वास्तविकतामाथि पनि आशंका गरेको छ। “सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा छन्। मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध विच्छेद गरेर पनि एकसाथै बस्ने गरेको चर्चा छ,” प्रतिवेदनमा भनिएको छ। 

त्यसअघि नै हाल फरार भनिएकी ज्योति गुरुङको खोजी गरिदिन गृह मन्त्रालयमा पत्राचार गरिसकेको जानकारी समितिले प्रतिवेदनमा समेटेको छ। ‘झुट र नक्कली कारोबारको शृंखलाकै कारण सहकारी संस्थामा आबद्ध नरहेको कुरा अभिलेख गराइपाऊँ भन्ने व्यहोराको निवेदन सहकारी निकायहरूको कार्यालयमा चाङ लाग्न थालेको’ प्रतिवेदनमा उल्लेख छ।  

संसदीय समितिले मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई समितिमै बोलाएर बयान लिएको थियो। ज्योति गुरुङले संस्थाको नाममा लिएको १२ करोड ५० लाख रकम थाइल्यान्डको राजधानी बैंककमा बस्ने कास्कीका ज्योतिबहादुर भण्डारीमार्फत ‘बिटक्वाइन’ मा लगानीका लागि हङकङ पठाएको भन्ने सुनेको बयान कुम्भराजले समितिसमक्ष दिएका थिए। 

“ज्योतिबहादुर भण्डारीले मलाई टेलिफोन गरी ज्योति गुरुङको पैसा म तिर्छु उहाँलाई केही नभन्नुस् समेत भनेका छन्,” संसदीय समितिको प्रतिवेदनमा रहेको कुम्भराजको बयानमा भनिएको छ।

अध्यक्ष कुम्भराजले सहकारीको ठूलो रकम दुरूपयोग भएको र कर्जा असुली नभएको हुँदा संस्था समस्यामा परेको भन्दै दुई वर्षको अवधि दिइएमा बचतकर्ताहरूको रकम फिर्ता गरेर संस्थालाई पूर्ववत् रूपमा सञ्चालन गर्न सकिने बताएको बयानमा उल्लेख छ। 

उनीसँगको बयानपछि संसदीय समितिले मितेरी सहकारीको स्थलगत अनुगमन पनि गरेको थियो। सहकारीको १४ करोड १६ लाख कर्जाको ऋण नोक्सानी व्यवस्था नगरिएको, संस्थाले कुल निक्षेप रकमको कम्तीमा १० प्रतिशत तरलता राख्नुपर्नेमा १.७० प्रतिशत मात्र तरलता कायम गरेको पाइएको थियो। यस्तै, बचतकर्ताहरूबाट जम्मा गरिएको १२ करोड ९४ लाख रुपैयाँको लेखांकन नै नगरेको पनि संसदीय समितिले औँल्याएको छ।

यो पनि : स्वघोषित सच्चरित्रवान धनराज


सम्बन्धित सामग्री