Saturday, December 14, 2024

-->

राष्ट्रपतीय प्रणाली खारेज गर्ने वाचा गर्दै श्रीलंकामा राष्ट्रपति निर्वाचित भएका कम्युनिस्ट नेता

धेरैलाई ‘सरप्राइज’ दिँदै श्रीलंकाले वामपन्थी नेता दिसानायकेलाई राष्ट्रपति किन रोज्यो? यसका पछाडि जोडिन्छ वर्षौंदेखिको कुशासनदेखि राष्ट्रपतीय प्रणाली खारेज गर्ने उनको आफ्नै घोषणा।

राष्ट्रपतीय प्रणाली खारेज गर्ने वाचा गर्दै श्रीलंकामा राष्ट्रपति निर्वाचित भएका कम्युनिस्ट नेता
अनुरा कुमारा दिसानायके/तस्वीर: एपी

काठमाडौँ– “पारिवारिक शक्तिबाट यो चुनाव जितिन्छ भनेर सोच्ने मानिसहरू छन्, तर सेप्टेम्बर २१ मा त्यो पारिवारिक शक्ति, वित्तीय शक्ति, मिडिया शक्ति र राज्य शक्तिलाई जनशक्तिले पराजित गर्नेछ।” आफ्नो चुनावी र्‍यालीको अन्तिम दिन, गत बुधबार अनुरा कुमारा दिसानायकेले समर्थकहरूलाई सम्बोधन गरिएको भाषणमा भनेका थिए।

तिनै ५५ वर्षीय मार्क्सवादी नेता दिसानायके श्रीलंकाको दशौँ राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन्। र यो मुकाम हासिल गर्दैगर्दा उनले धेरैलाई एकखालको ‘सरप्राइज’ दिएका छन्। श्रीलंकाले पहिलो पटक वामपन्थी नेतालाई राष्ट्रप्रमुखका रूपमा पाएको छ। पहिलो वामपन्थी राष्ट्रपति दिसानायकेले सोमबार बिहानै पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्। 

गत शनिबार (सेप्टेम्बर २१) सम्पन्न श्रीलंकाको राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरेका ३८ जना उम्मेदवारमध्ये बहालवाला राष्ट्रपति रनिल विक्रमासिंघे र विपक्षी दलका नेता तथा युनाइटेड पिपुल्स पावर (यूपीपी)का सजित प्रेमदासासँगै नेसनल पिपुल्स पावर (एनपीपी)का नेता दिसानायके मुख्य प्रतिस्पर्धामा थिए। उनीहरू सबैलाई उछिन्दै, उनकै शब्दमा श्रीलंकाली राजनीतिमा प्रभावी बन्दै आएको ‘सीमित पारिवारिक वर्चस्व’ अन्त्य गर्दै सामान्य श्रमिक परिवारमा जन्मिएका दिसानायके श्रीलंकाको नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। 

अघिल्लो राष्ट्रपतीय निर्वाचन (२०१९)मा दोस्रो स्थानमा रहेका प्रेमदासाले ४२ प्रतिशत मत पाउँदा जम्मा ३ प्रतिशत मत पाएका दिसानायके पाँच वर्षको अन्तरालमै आफ्नो पक्षमा बहुमत पारेर राष्ट्रपति बन्न सफल भए। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार श्रीलंकामा दुई वर्षअघि ‘विष्फोट’ भएको आर्थिक संकटको तस्वीर आम मानिसको मानसपटलमा अझै पनि ताजै छ। त्यही आर्थिक संकटकै कारण पनि विगत दुई दशकदेखि देशको सबभन्दा ठूलो राजनीतिक परिवार मानिने राजपाक्षे परिवारले यो चुनावमा नमिठो धक्का ब्यहोरेको छ। यो निर्वाचनलाई नजिकबाट नियालिरहेका कोलम्बो विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक प्रदीप पेरिसले दिसानायकेलाई श्रीलंकामा सन् २०२२ मा भएको विद्रोहले जन्माएका नेता भएको टिप्पणी गरे।

“चुनावको नतिजाले स्पष्ट रूपमा देखाउँछ कि हामीले २०२२ मा देखेको विद्रोह समाप्त भएको छैन,” पेरिसले भने, “मानिसहरूले विभिन्न राजनीतिक अभ्यास र राजनीतिक संस्थाहरूको आकांक्षाअनुसार मतदान गरेका छन्। दिसानायकेले यी आकांक्षाहरूलाई प्रतिबिम्बित गर्दछन्, त्यसैले मानिसहरूले उनलाई समर्थन गरेका छन्।”

श्रीलंका मुस्लिम कंग्रेस पार्टीका सांसद रउफ हकीमले दिसानायकेलाई उनको स्पष्ट चुनावी जितको लागि बधाई दिँदै यसलाई महत्त्वपूर्ण उपलब्धि भनेका छन्। “श्रीलंकाका जनताले देशको ९औँ राष्ट्रपति चुनावमा आफ्नो इमानदार संकल्प व्यक्त गरेका छन्,” उनी एक्समा लेख्छन्, “हामी लोकतन्त्रको साँचो भावनामा यो विजयलाई समर्थन गर्दछौँ।”

ऐतिहासिक बनेको राष्ट्रपति निर्वाचन
यस पटक श्रीलंकाको राष्ट्रपतीय निर्वाचन धेरै हिसाबले रोचक मात्र भएन, ऐतिहासिक पनि बन्न पुग्यो। विश्लेषकहरूका अनुसार यो निर्वाचन सन् १९८२ पछिको सबभन्दा रोचक राष्ट्रपतीय निर्वाचन हो। अहिलेसम्मका निर्वाचनमा पहिलो चरणको मतगणनाबाटै राष्ट्रपति निर्वाचित हुने गरेकोमा यसपटक त्यसो भएन। पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत (५० प्रतिशत माथि) ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना गर्नुपर्‍यो।

श्रीलंकाली निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतगणनामा दिसानायकेले ४२.३१ प्रतिशत मत (५६ लाख ३४ हजार) ल्याएकोमा उनका निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत (४३ लाख ६३ हजार) ल्याएका थिए। रनिल विक्रमासिंघे १७.२७ मतसहित तेस्रो स्थानमा थिए। पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमल राजापाक्षे पनि यो दौडमा थिए। उनी प्रतिस्पर्धामा निकै पछाडि परे।

श्रीलंकाको चरणबद्ध छनोट निर्वाचन प्रणालीअनुसार मतदाताहरूले आफ्नो मतपत्रमा एक उम्मेदवारलाई चिन्ह लगाउन सक्छन् वा प्राथमिकताक्रममा तीनजना उम्मेद्वारहरू सूचीबद्ध गर्न पनि सक्छन्। यदि कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न सकेन भने राष्ट्रपति पदका लागि मतदाताको दोस्रो र तेस्रो छनोटको आधारमा दोस्रो चरणको मतगणना गरिने व्यवस्था छ।

मतदान गर्दै दिसानायके

विक्रमासिंघे शीर्ष दुईमा पर्न नसकेपछि पहिलो चरणबाटै बाहिरिएका थिए। त्यसपछि दोस्रो चरणमा भएको मतगणनापछि दिसानायकेलाई बहुमत प्राप्त भएको हो। पहिलो र दोस्रो चरण गरेर उनले जम्मा ५७ लाख ४० हजार १७९ मत ल्याउँदा प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत प्राप्त गरे।

श्रीलंकाका २२ वटा निर्वाचन जिल्लामा १३ लाख ४० हजारभन्दा बढी मतदान केन्द्र तोकिएका थिए। निर्वाचन आयोगका अनुसार १ करोड ७० लाख योग्य मतदाताहरूमध्ये ७५ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरे जुन २०१९ को राष्ट्रपतिको निर्वाचन (८३ प्रतिशत) भन्दा ८ प्रतिशत कम हो।

यो निर्वाचन शान्ति सुरक्षाका हिसाबले पनि ऐतिहासिक बनेको छ। यसअघिका निर्वाचनको तुलनामा यसपटक झडप, तोडफोड जस्ता कार्य निकै कम भएको र समग्रमा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। सुरक्षा व्यवस्था कडा गर्न शनिबार सम्पन्न निर्वाचनपछि लगाइएको कफ्र्यु आइतबार दिउँसोसम्म नै कायम थियो। निर्वाचनका लागि दुई लाखभन्दा बढी कर्मचारी, करिब ८ हजार स्थानीय तथा विदेशी निर्वाचन पर्यवेक्षक खटाइएको थियो जसमा युरोपियन युनियन, कमनवेल्थ देशहरू र ‘एसियन नेटवर्क फर फ्री इलेक्सन’का ११६ अन्तर्राष्ट्रिय पर्यवेक्षक र सात दक्षिण एशियाली देशका पर्यवेक्षकहरू थिए।

विक्रमासिंघे र प्रेमदासाले गुमाएको विश्वास
श्रीलंकाली राजनीतिमा रनिल विक्रमासिंघेलाई राजापाक्षे परिवारका निकट भनेर चिनिन्छ। सन् २०२२ को चरम आर्थिक संकटपछि देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको दाबी गर्ने निवर्तमान राष्ट्रपति विक्रमासिंघे जनविश्वासको अग्नि परीक्षामा थिए। पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष अपदस्थ भएपछि उनले विक्रमासिंघेलाई आफ्ना उत्तराधिकारी घोषित गरेका थिए।

यसअघिको राष्ट्रपतीय निर्वाचनमा पनि पराजय भोगेका विक्रमासिंघे दक्षिणपन्थी धारको युनाइटेड नेसनल पार्टी (यूएनपी)बाट निर्वाचित एक मात्र सदस्यका रूपमा संसद्‍मा थिए। तर २०२२ मा गोटाबाया राजापाक्षे अपदस्थ भएपछि उनकै पार्टीले समर्थन गरेर विक्रमासिंघे राष्ट्रपति बन्न पुगे। त्यसपछि आफ्नो पार्टी त्यागेर बसेका उनी अहिले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडे पनि जनताले पत्याएनन्। 

बायाँबाट प्रेमदाशा र विक्रमासिंघे

यस्तै, एनपीपी (एसजेबी पनि भनिने) का नेता प्रेमदासा सन् २०२० मा विक्रमासिंघेको दल यूएनपीबाट अलग भएका थिए। सन् १९८९ मा राष्ट्रपति निर्वाचित बुबा रणसिंघे प्रेमदासाको सन् १९९३ मा आत्मघाती बम विष्फोटमा मृत्यु भएपछि उनी राजनीतिमा प्रवेश गरेका थिए। उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को बेलआउट कार्यक्रममार्फत् अर्थतन्त्र सुधार गर्ने विषयमा गरेको चुनावी प्रतिबद्धतामा मतदाता भने आकर्षित भएनन्। अघिल्लो चुनावमा दोस्रो भएका उनी यस पटक पनि त्यही अवस्थामा रहे।

आर्थिक–राजनीतिक पुनर्संरचनाको मुद्दा
दुई वर्षअघि आर्थिक रूपमा टाट पल्टेको भन्दै औपचारिक घोषणा नै गरेको श्रीलंकाले त्यसबाट आफूलाई उकास्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट अर्बौं डलरको ऋण लिएको थियो।

विक्रमासिंघेले आईएमएफको २.९ अर्ब अमेरिकी डलर ऋणलाई निरन्तरता दिने बताइरहेका बेला दिसानायके र प्रेमदासा दुवैले आफ्नो चुनावी घोषणामा आईएमएफसँगको सम्झौतामाथि पुनः वार्ता गर्ने वाचा गरेका थिए। यसविपरीत विक्रमासिंघेले अहिले सम्झौताका आधारभूत तत्वहरूमा कुनै परिवर्तन भएमा आइएमएफ प्याकेजको चौथो किस्ता प्राप्त गर्न ढिलाइ हुन सक्ने चेतावनी दिएका छन्। उनले देशमा स्थायित्व कायम गर्न यो ऋण रकम आवश्यक रहेको बताउँदै आएका छन्।

यद्यपि यी दुई वर्षमा आर्थिक स्थितिमा केही सुधार भए पनि करको उच्च दर र मुद्रास्फीतिका कारण सर्वसाधारण आर्थिक संकटसँग नराम्ररी जुधिरहेका छन्। त्यसकारण पनि श्रीलंकाको अर्थव्यवस्था ऋण तिर्न नसक्ने अवस्थामा पुगेमा नवनिर्वाचित राष्ट्रपतिसामु सम्पूर्ण रकम गुम्नबाट जोगाउनुपर्ने चुनौती हुनेछ। आईएमएफको बाँकी मूल रकममा ब्याजदर घटाउने र भुक्तानी अवधि बढाउने गरी वार्तामार्फत ऋणको पुनर्संरचना गर्नुपर्ने जिम्मेवारी निर्वाचित राष्ट्रपतिसामु छ।

अर्को मुद्दा राजनीतिक प्रणालीको हो। विगत तीन दशकमा श्रीलंकाका प्रायः सबै नेताहरूले शक्तिशाली राष्ट्रपति पद खारेज गर्ने वाचा गरे पनि यसलाई पूरा गर्न असफल भएका छन्। दिसानायकेले पनि राष्ट्रपतीय प्रणाली खारेज गरी सन् १९७८ सम्म कायम रहेको बेलायती शैलीको संसदीय लोकतन्त्रमा फर्काउने प्रतिबद्धता जनाएका थिए। भलै उनको पार्टी जेभीपीसँग संसदमा जम्मा तीन सिट मात्र छ। तर पनि उनले आफू निर्वाचित भए ४५ दिनभित्र संसद विघटन गर्ने वाचा गरेका थिए। यही वाचाअनुसार राष्ट्रपति निर्वाचित भएका दिसानायकेले वाचाअनुसार नै संसद् विघटन गर्न र देशलाई राष्ट्रपतीयबाट संसदीय प्रणालीमा लैजान सक्छन् कि सक्दैनन्, उनका अगाडिका दिन यसले पनि निर्धारण गर्ने छ। 

यी दिसानायके
विभिन्न २७ समूह मिलेर सन् २०१९ मा गठन भएको नेसनल पिपुल्स पावर (एनपीपी) का अध्यक्ष दिसानायके यसको मुख्य घटक दल पिपुल्स लिबरेसन फ्रन्ट अर्थात् जनता विमुक्ति पेरामुना (पीएलएफ/जेभीपी)का प्रमुख नेता हुन्। श्रीलंकाली राजनीतिमा उनी आक्रमक भाषणका लागि चिनिन्छन्। 

श्रीलंकाको उत्तर–मध्य प्रान्तको ग्रामीण थम्बुटेगाको सामान्य मजदुर परिवारमा जन्मेका उनले कोलम्बो सबर्बन केलानिया विश्वविद्यालयबाट विज्ञानमा स्नातक गरेका छन्। उनी सन् १९८७ मा जेभीपीमा सामेल भएका थिए।

कुनै समय जेभीपीलाई श्रीलंकाको सशस्त्र विद्रोही संगठन ‘लिबरेसन टाइगर्स अफ तमिल इलम’ (एलटीटीई)सँग तुलना गरिन्थ्यो। जेभीपीले सन् १९७१ र १९८७ मा दुई पटक असफल सशस्त्र विद्रोह पनि गरेको थियो। उनीहरू युद्धबाट सत्ता कब्जामा विश्वास गर्थे। दुवै विद्रोहमा लगभग ८० हजार नागरिकको ज्यान गुमेपछि पार्टीले हिंसात्मक बाटो त्याग्यो र समाजवादी शक्तिमा परिणत भयो। यही पार्टीको अगुवाइमा सन् २०१९ मा भएको गठबन्धन (एनपीपी) ले यसलाई थप शक्तिशाली बनायो।

कोलम्बोस्थित दिसानायकेको कार्यालयमा कार्ल मार्क्स, भ्लादिमिर लेनिन र फिडेल क्यास्ट्रोको तस्वीर झुन्ड्याइएको छ। 

भ्रष्टाचार विरुद्ध बयान दिएर युवामाझ लोकप्रिय बनेका दिसानायकेको लोकप्रियता पछिल्ला चार वर्षमा निकै बढेको छ। पहिले कहिल्यै सत्तामा नआएकाले पनि श्रीलंकाका जनताले आर्थिक सुधार र सामाजिक समानताका लागि उनी र उनको एनपीपीबाट धेरै आशा राखेका छन्। 

श्रीलंकाको आर्थिक संकट दिसानायकेको उदयका लागि अवसर साबित भयो। उनले श्रमिकको पक्षमा आवाज उठाए र देशको ‘भ्रष्ट राजनीतिक संस्कृति’ परिवर्तनका लागि जनताको पूर्ण समर्थन पाए। निर्वाचित भएलगत्तै श्रीलंकाको राजनीतिक संस्कृति परिवर्तन गर्ने साथै भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने वाचा गरेका दिसानायकेले श्रीलंकामा पुनर्जागरण ल्याउने बताएका छन्। 

“तपाईंको प्रतिबद्धताले हामीलाई यहाँसम्म पुर्‍याएको छ र यसका लागि म हार्दिक आभारी छु। यो जित हामी सबैको हो,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यो सपना नयाँ शुरूआतबाट मात्र साकार हुन सक्छ। सिंहाली, तमिल, मुस्लिम र सबै श्रीलंकालीको यो एकता नयाँ शुरूआतको आधार हो। हामीले खोजेको नयाँ पुनर्जागरण यही साझा शक्ति र दर्शनबाट उत्पन्न हुनेछ।”

-एजेन्सीहरूको सहयोगमा
 


सम्बन्धित सामग्री