Saturday, October 05, 2024

-->

राष्ट्रिय सुरक्षामा ‘खतरा’ रहेको भन्दै युक्रेनी अधिकारीलाई टेलिग्राम चलाउन रोक

युक्रेनले राष्ट्रिय सुरक्षाका लागि ‘खतरा’ रहेको भन्दै सरकारी, सेना र सुरक्षा अधिकारीका लागि ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ।

राष्ट्रिय सुरक्षामा ‘खतरा’ रहेको भन्दै युक्रेनी अधिकारीलाई टेलिग्राम चलाउन रोक

युक्रेनले शुक्रबार राष्ट्रिय सुरक्षाका लागि ‘खतरा’ रहेको भन्दै आफ्नो सरकार, सेना र सुरक्षा अधिकारीका लागि रुसी मूलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ। 

युक्रेन र रुस दुवैमा सञ्चारको मुख्य स्रोतका रूपमा प्रयोग हुने सामाजिक सञ्जाल टेलिग्राममा व्यक्तिगत डाटा र सन्देशहरूमा रुसको पहुँच हुन सक्ने चेतावनी किभले दिएको छ। 

“राष्ट्रिय सुरक्षा र रक्षा परिषद्ले सरकारी विभाग, सैन्य संरचना र महत्त्वपूर्ण पूर्वाधार सुविधामा टेलिग्रामको प्रयोगमाथि प्रतिबन्धित गर्ने निर्णय गर्‍यो,” सुरक्षा परिषद्ले फेसबुकमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, “यो राष्ट्रिय सुरक्षाको मामिला हो।” 

युक्रेनका अनुसन्धान प्रमुख किरिलो बुदानोभले टेलिग्राममार्फत मस्कोले प्रयोगकर्ताका व्यक्तिगत तथ्यांकसहित अन्य सूचना प्राप्त गर्न सक्ने आशंका व्यक्त गरे। “यो अभिव्यक्ति स्वतन्त्रताको कुरा होइन, यो राष्ट्रिय सुरक्षाको कुरा हो,” उनले भने। 

एक जना उच्च पदस्थ सुरक्षा अधिकारीले यो प्रतिबन्ध आधिकारिक सञ्चारमा मात्र लागू हुने बताएका छन्। टेलिग्राम सजिलै ह्याक हुनसक्ने भएकाले रुसले सजिलै सूचना लिक गर्न सक्ने स्रोतले जनाएको छ। “नागरिकहरूले भने यसको प्रयोग गर्न सक्ने छन्, कुनै प्रतिबन्ध छैन”, स्रोतले बताएको छ।

टेलिग्रामका संस्थापक दुरोभलाई अवैध सामग्री प्रकाशित गरेको अभियोगमा गत महिना फ्रान्समा पक्राउ गरिएको थियो।


सम्बन्धित सामग्री