Saturday, October 05, 2024

-->

संयुक्त अभ्यास गर्न सेनाको टोली चीन प्रस्थान

चीनको जनमुक्ति सेनाका फौजसँग सञ्चालन हुने अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’मा सहभागी हुन नेपाली सेनाको टोली चीन प्रस्थान गरेको छ।

संयुक्त अभ्यास गर्न सेनाको टोली चीन प्रस्थान

काठमाडौँ– संयुक्त अभ्यासका लागि नेपाली सेनाको टोली चीन प्रस्थान गरेको छ। नेपाली सेनाको टोली विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र संघीय शान्ति मिसन लगायतका विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त अभ्यासका लागि चीन प्रस्थान गरेको हो।

नेपाली सेनाले विभिन्न देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं विभिन्न प्रकारका पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेको छ। सोही अनुरूप नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाका फौजबीच सञ्चालन हुँदै आइरहेको अभ्यास ‘सगरमाथा’ फ्रेन्डसिपमा सहभागी हुन टोली चीन गएको जनस्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अभ्यास असोज ५ गतेदेखि १५ गतेसम्म चीनको चोङकिङमा सञ्चालन हुने छ। अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, प्रतिआतंकवाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुने सेनाको जनस्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

२०७४ सालबाट शुरू भएको उक्त अभ्यासको यो चौथो संस्करण हो। अभ्यास नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको थियो। तर कोभिड–१९ को महामारीपश्चात् केही वर्ष स्थगित भई पुनः अभ्यास सञ्चालन हुन लागेको हो।


सम्बन्धित सामग्री