Saturday, October 05, 2024

-->

चाडपर्वलक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको भिड (तस्वीरहरू)

‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा चामल, दाल, नुन, तेल, चिनी, जिरा, चिउरा, पिठो लगायतका खाद्य वस्तु राखिएको छ। खाद्य व्यापार कम्पनीले यी सामग्रीमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म छुट दिइरहेको छ।

चाडपर्वलक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको भिड तस्वीरहरू
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा शुरू भएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा खाद्य सामग्री किन्ने उपभोक्ताको भिड बढेको छ। खाद्यले चार वटा बिक्री कक्षमार्फत सहुलियत पसलमा २८ प्रकारका विभिन्न खाद्यवस्तु बिक्रीमा राखिएको छ। यसमा दैनिक भान्छामा प्रयोग हुने चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, घ्यू, जिरा, चिउरा, पिठो लगायतका खाद्य वस्तु पर्छन्। खाद्य व्यापार कम्पनीले अहिले यी सामग्रीमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म छुट दिइरहेको छ। यसका अलावा सहुलियत पसलमा ग्राहकले ग्यास सिलिन्डर पनि किन्न पाउँछन्। खाद्य व्यापार कम्पनीले डिस्प्लेमा राखेको बोर्डअनुसार अहिले चामलमा प्रतिकिलो पाँच रुपैयाँदेखि सात रुपैयाँसम्म छुट दिइएको छ। कर्णालीको सिमीमा प्रतिकिलो सात रुपैयाँ छुट दिइएको छ। चिनीमा पाँच रुपैयाँ, खाने तेलमा सात रुपैयाँ र सबैभन्दा धेरै घ्यूमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ। तर, चियापत्ती, नुन र ग्यासमा भने छुट छैन।कम्पनीका अनुसार पाँच हजार मूल्यभन्दा माथिका सामान खरिद गर्ने ग्राहकलाई काठमाडौँको चक्रपथभित्र ‘फ्री होम डेलिभरी’को व्यवस्था गरेको छ। हेर्नुहोस् तस्वीरहरू :

 


सम्बन्धित सामग्री