काठमाडौँ– नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ।
त्यस दिन बिहान ८ः३३ बजे देवी विसर्जनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए।
यस वर्षको नवरात्र अर्थात् दशैँ यही असोज १७ गते बिहीबारदेखि शुरू हुँदै छ। त्यस दिन बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ।
असोज १८ गते शुक्रबार झन्डा फेर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ।
त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्र विद् प्राडा देवमणि भट्टराईले बताउनुभयो । यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैँ समापन हुनेछ।