Saturday, October 05, 2024

-->

काठमाडौँमा घटस्थापनाअघि मेलम्चीको पानी वितरण गर्ने तयारी

बर्खा याम शुरू भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण असार १० गतेदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द गरिएको थियो।

काठमाडौँमा घटस्थापनाअघि मेलम्चीको पानी वितरण गर्ने तयारी

काठमाडौँ– काठमाडौँवासीलाई दशैँको घटस्थापनाअघि मेलम्चीको पानी वितरण गरिने भएको छ। काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

दशैँअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका हुन्। सोहीअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ।

मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। 

“मेलम्चीको पानी असोज दोस्रो साता भित्रै काठमाडौँमा ल्याउने तयारीमा छौँ,” उनले भने। सोही योजनाअनुसार अहिले काठमाडौँमा बिग्रिएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्भार गर्ने काम भइरहेको छ।

बर्खा याम शुरू भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो। बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी वितरण गर्ने योजनाअनुसार तयारी भइरहेको छ। 

काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ।

काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ। मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा एक हजार ७०० किमी नयाँ पाइपलाइन विस्तार गरिएको छ।


सम्बन्धित सामग्री