आम आदमी पार्टी (आप)की आतिशी मर्लेना दिल्लीको मुख्यमन्त्री बन्ने भएकी छन्। शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी आतिशी मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि नयाँ मुख्यमन्त्री चुनिएकी हुन्।
दिल्ली सरकारका मन्त्री गोपाल रायले भारतीय सञ्चारमाध्यमलाई सो जानकारी दिएका छन्। रायले आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेकी बताए।
मंगलबार बिहान करिब ११ बजे बसेको व्यवस्थापिका–संसदको बैठकले आतिशीको नाम अनुमोदन गरेको हो। आपका राष्ट्रिय संयोजक पनि रहेका केजरीवालले पार्टी संसदीय दलको बैठकमा आफ्नो उत्तराधिकारीका लागि आतिशीको नाम प्रस्ताव गरेका थिए।
गोपाल रायले आतिशीलाई सर्वसम्मतिले मुख्यमन्त्रीमा निर्वाचित गरेको बताए। केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
मदिरा काण्डको आरोपमा गत मार्चमा जेल परेका केजरीवाल सेप्टेम्बर १३ मा जमानतमा रिहा भएका थिए। उनले शनिबार आम आदमी पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेदेखि नै यो पद कसले लिने भन्ने चर्चा चलेको थियो।
उनले दिल्लीका जनताले आफूलाई ‘इमान्दार’ घोषणा नगरेसम्म मुख्यमन्त्री नबन्ने भन्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए। साथै जनताले पुनः निर्वाचित गरेको अवस्थामा त्यो आफ्नो इमान्दारीको ‘प्रमाणपत्र’ हुने बताएका थिए।
आतिशीलाई आफ्नो उत्तराधिकारी तोकेर आजै केजरीवालले दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनासमक्ष राजीनामा बुझाइसकेका छन्।
को हुन् आतिशी?
दिल्लीका सरकारी विद्यालयमा भएको सुधारको सबैभन्दा ठूलो श्रेय जाने आतिशीले आम आदमी पार्टीमा छोटो समयमै आफ्नो छाप छोडेको मानिन्छ।
आपले आफ्नो आठ वर्षको अवधिमा सबैभन्दा बढी गणना गरेको उपलब्धिहरूमध्ये शिक्षाको क्षेत्र शीर्षमा छ र यसको धेरै श्रेय आतिशीलाई नै जान्छ। उनले २०१३ को विधानसभा चुनावका लागि पार्टीको घोषणापत्र तयार गर्न महत्त्वपूर्ण भूमिकासमेत खेलेकी थिइन्। सन् २०१४ को लोकसभा चुनावअघि उनलाई प्रवक्ता बनाइएको थियो।
त्यसपछि सन् २०१९ मा उनले पूर्वी दिल्ली लोकसभा सीटबाट चुनाव लडिन् तर भाजपाका गौतम गम्भीरसँग ४.७७ लाख मतले हारेर तेस्रो भइन्। त्यसपछि २०२० मा कालकाजी विधानसभाबाट चुनाव जितिन्। सन् २०२३ मा पहिलो पटक उनले दिल्लीको केजरीवाल सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिन्।
आतिशी शुरूदेखि नै दिल्लीको शिक्षा क्रान्तिको एक महत्त्वपूर्ण अनुहार रहेको बताइन्छ। मनिष सिसोदिया शिक्षा मन्त्री हुँदा आतिशी उनको सल्लाहकार थिइन् र हरेक रणनीतिमा उनको धेरै नै भूमिका हुन्थ्यो। तर अप्रिल २०१८ मा उनलाई उक्त पदबाट हटाइयो।
आतिशीको जन्म सन् १९८१ जुन ८ मा दिल्ली विश्वविद्यालयका प्रोफेसर विजय कुमार सिंह र तृप्ता वाहीको घरमा भएको थियो। स्प्रिङडेल स्कुल, नयाँ दिल्लीबाट आफ्नो विद्यालय शिक्षा पूरा गरेकी उनले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन्। उनी आम आदमी पार्टीको राजनीतिक मामिला समितिकी सदस्य पनि हुन्।
-एजेन्सीहरूको सहयोगमा