काठमाडौँ– भदौ १४ गते बिहान १० बजे। धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक्कासि आएको ‘झगडा भयो, कुटाकुट पर्यो’ भन्ने चिच्याहटले सबैभन्दा पहिला प्रशासन फाँटका कर्मचारीको ध्यान तान्यो। उनीहरू कुदेर आवाज आइरहेको कोठाबाहिर पुगे। त्यत्तिकैमा डिपोमा काम गर्ने प्रकाश यादव कोठाबाट निस्किए। उनको सर्ट च्यातिएको थियो। कर्मचारीहरूले ‘के भयो?’ भनेर प्रश्न गरे। तर, उनी चुपचाप डिपोको मूल ढोकातिर अगाडि बढे।
कर्मचारीहरूले भित्र पेसेर हेर्दा भुईंमा अर्का कर्मचारी राकेश बर्मा रक्ताम्मे अवस्थामा लडिरहेका थिए। उनको अनुहार चोटपटकका कारण क्षतविक्षत थियो। उनले हलचलसमेत गरिरहेका थिएनन्।
दुई जना कर्मचारीबीच विवाद र कुटपिट हुँदासम्म डिपोका कर्मचारीले चाल पाएनन्। बरु आयल ढुवानी गर्ने ट्यांकरचालकले हल्ला गरेपछि मात्रै आफूहरू हत्तपत्त कोठाअगाडि पुगेको प्रशासन फाँटका कर्मचारी सुरेश महतो बताउँछन्।
“एकछिन त अवाक् भयौँ। राकेशलाई ढलेको देख्नेबित्तिकै हाकिम साहेब (डिपोका प्रमुख) लाई बोलायौँ, उहाँ पनि हतारिँदै आउनुभयो। डाक्टर र एम्बुलेन्स पनि तुरुन्तै पुगे। तर डाक्टरले चेक गर्नेबित्तिकै मृत घोषित गरिदिए,” सुरेश भन्छन्, “राकेशको शरीर नजिकैबाट रक्ताम्य बेल्चा भेटिएको थियो। तर त्यति कम समयमा कसरी उसको मृत्यु भयो भन्ने कुरा अझै रहस्यमय छ।”
डिपोको हाजिरी रेकर्डमा त्यो दिन राकेश ७ बजेर ११ मिनेटमा कार्यालय आएको देखिन्छ। प्रकाश भने ९ बजेर ५० मिनेटमा हाजिरी भएको देखिन्छ। प्रकाश हाजिरी गरेर ‘चेन्जिङ रुम’ मा पुगेको १० मिनेटमै राकेशको मृत्यु भएको थियो।
राकेश चेन्जिङ रुममै रहेको बेला प्रकाशले बेल्चाले अन्धाधुन्ध टाउकोमा हानेर भाइ राकेशको हत्या गरेको राकेशका दाजु राजेश बर्माको आरोप छ। अनुहारमा लगातार हानेको हान्यै गर्दा थोरै समयमा राकेशको प्राण गएको हुनसक्ने उनको अनुमान छ।
“पहिला घाँटीमा हानेको हो कि टाउकोमा त्यो थाहा भएन। तर दाँत फुत्केको थियो। आँखा बाहिर निस्केको थियो। मुखमा विचित्र किसिमले हानेको रहेछ,” राजेश भन्छन्, “धन्न ट्यांकरचालकले प्रकाशलाई त्यो कोठाबाट निस्केको देखे, नभए हत्यारा पनि पत्ता लाग्दैनथ्यो।”
मृतक राकेश सिरहा नगरपालिका–३ निवासी हुन्। उनको डेढ वर्षको छोरा र पाँच वर्षकी छोरी छिन्।
को हुन् प्रकाश?
प्रकाश यादव धनुषाको धनुषाधाम नगरपालिका-४ का वासिन्दा हुन्। उनी नेपाल आयल निगमको डिपोमा चार वर्षदेखि ट्यांकरमा आउने आयलमा पानी छ/छैन भनेर जाँच्ने काम गर्थे। राकेश पनि विगत चार वर्षदेखि ट्यांकरको सिल जाँच्ने काम गर्दै आएका थिए। उनीहरू दुवै करारमा खटिएका थिए।
निगमका कर्मचारी मुकेश यादवका अनुसार राकेश र प्रकाश मिल्ने साथी थिए। तर अचानक के भएर यस्तो घटना भयो भन्नेबारे आफूहरूलाई थाहा नभएको उनी बताउँछन्। राकेश, प्रकाश र मुकेश कार्यालयमा एउटै कोठामा बस्दै आएका थिए। तर पनि के कारणले प्रकाशले राकेशलाई आक्रमण गरे भन्ने जानकारी आफूलाई नभएको मुकेशको भनाइ छ।
“यो घटना हुँदा म कार्यालय आइपुगेको थिइनँ। आएपछि मात्रै यस्तो भएको रहेछ भन्ने थाहा भयो,” मुकेश भन्छन्, “उनीहरू त मिल्ने नै थिए, तर के कुरामा विवाद भयो त्यो थाहा भएन।”
डिपोका प्रमुख मनोज साह आफूलाई घटनाबारे जानकारी भए पनि विवादको कारण थाहा नभएको बताउँछन्। प्रकाशको बानीबेहोरा ठिकै भएकाले घटना देखेर आफूलाई अनौठो लागिरहेको उनी बताउँछन्।
“प्रकाशसँग मेरो त्यस्तो खासै काम नभएकाले ऊसँग मेरो धेरै कुरा हुँदैनथ्यो। कहिलेकाहीँ जम्काभेट हुँदा नमस्ते गर्थ्यो। तर अस्तिको हत्या उसले के कारणले गर्यो भन्ने ठ्याक्कै थाहा भएन,” साह भन्छन्, “मलाई घटना भइसकेपछि खबर आयो।”
उनले आफू आउनेबित्तिकै सबैले प्रकाशको नाम लिएपछि गार्डलाई भनेर समात्न लगाई एउटा कोठामा थुनेर राखेको र पछि प्रहरीलाई जिम्मा लगाइएको बताए।
प्रमुख साहका अनुसार प्रकाशसँग किन आक्रमण गरेको भनेर सोध्दा ‘आमा गाली’ दिएकाले हानेको बताएका थिए। बाँकी कारण भने प्रकाशले खुलाएनन्। “खासमा मान्छे मारेपछि वा धोखामै मरेपछि पनि अनुहारमा एउटा घबराहट हुन्छ नि, तर उसमा थिएन,” साह भन्छन्, “उसले सिधै ‘आमाको गाली दियो त्यही भएर मारेँ’ मात्रै भनिरह्यो।”
प्रशासन फाँटका सुरेश महतो प्रकाशको स्वभाव अलिक सन्की भएको बताउँछन्। उनका अनुसार सानै कुरामा पनि प्रकाशको झोक्किने बानी थियो। “सामान्य कुरामा पनि रिसाइहाल्थ्यो। झोकाहा टाइपको थियो,” सुरेश भन्छन्, “तर हत्यासम्मै गर्छ जस्तो कसैको अनुमान थिएन।”
डिपोका अर्का कर्मचारी हरि यादवका अनुसार प्रकाश पहिला सुधारगृह बसेर आएका हुन्। सुधारगृहबाट आएको केही समयपछि नै उनी आयल निगमको महेन्द्रनगर डिपोमा करार कर्मचारीको रूपमा भर्ना भएका थिए।
चलिरहेको अनुसन्धान
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साह अहिलेसम्म हत्याको कारण खुलिनसकेको बताउँछन्। उनका अनुसार प्रहरीले निष्पक्ष रूपमा गहन अनुसन्धान गरिरहेको छ।
“शुरूमा गालीगलौज भएको थियो। त्यसपछि झगडा भयो र अन्त्यमा हत्या भयो। अहिले इन्भेस्टिगेसन चलिरहेको छ। प्रोसेसमै छ,” साह भन्छन्, “अहिलेसम्म त्यसबाहेक नयाँ कुरा बाहिर आएको छैन।”
राकेशको पोस्टमार्टम रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छैन। उनका परिवारले रिपोर्ट माग्दा पनि प्रहरी र अस्पताल प्रशासनले परिवारलाई रिपोर्ट नदिई राकेशको शव मात्रै जिम्मा लगाएका थिए।
“हामीले पोस्टमार्टम रिपोर्ट माग्दा त प्रहरीले दिएनन् नै बरु के छ भनेर सोध्दा पनि केही स्पष्ट रूपमा भनेनन्,” राकेशका दाजु राजेश भन्छन्, “रिपोर्ट माग्दा प्रहरीले यो रिपोर्ट त कहाँ तपाईंहरूलाई दिन हुन्छ, यो त अनुसन्धान गर्ने निकायमा जान्छ। यो तपाईंहरूलाई आवश्यक छैन भनेर भने।”